स्मृति भित्रको व्यक्तित्व र इतिहासको मूल्याङ्कन : शक्ति लम्सालको जीवन, विचार र योगदान
शक्ति लम्साललाई सम्झनुको अर्थ उनको तस्वीरमा माला चढाउनु मात्र होइन उनले उठाएका प्रश्न, पक्षधरता, विचार र संघर्षको ऐतिहासिक परीक्षण गर्नु पनि हो। उनले विश्वास गरेको सामाजिक रूपान्तरणको लक्ष्य, जनताको पक्षमा उभिने प्रतिबद्धता र विचार तथा व्यवहारबीच एकरूपता कायम गर्ने प्रयत्नलाई नयाँ पुस्ताले कसरी ग्रहण गर्छ भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ।
कुनै व्यक्तिको मृत्युपछि उसको सम्झनामा स्मृतिग्रन्थ प्रकाशित गर्नु भनेको संम्वन्धित ब्यक्तिप्रती श्रद्धा गर्नु र उसले बाँचेको समय, गरेको संघर्ष, निर्माण गरेको विचार, समाजमा पुर्याएको योगदान र छोडेर गएको ऐतिहासिक विरासतको अभिलेखीकरण पनि हो। अझ राजनीतिक आन्दोलन, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारितामा आफ्नो विशिष्ट पहिचान बनाएको व्यक्तित्वका विषयमा प्रकाशित स्मृतिग्रन्थको महत्त्व व्यक्तिगत स्मरणभन्दा धेरै व्यापक हुन्छ। यस अर्थमा शक्ति लम्साल स्मृतिग्रन्थ नेपाली कम्युनिष्ट आन्दोलन, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिताको एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा आएको छ।
६५८ पृष्ठमा विस्तारित यस ग्रन्थको संरक्षण कृष्णा लम्सालले गर्नुभएको छ भने प्रधान सम्पादक नारायण शर्माको नेतृत्वमा सम्पादन तथा प्रकाशन समिति गठन गरी ग्रन्थ तयार पारिएको छ। २०८३ साल कात्तिक २५ गते स्मृतिदिवसको अवसरमा विमोचन गर्ने उद्देश्यसहित प्रकाशित तर विविध कारणले २०८३ मंसिर ६ गते,काठमाडौक हार्दिक होटेलमा विमोचन गरिएको यस कृतिमा १०७ वटा लेख तथा रचनालाई चार खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा जीवनी र व्यक्तित्व, दोस्रोमा कृतित्व तथा साहित्यिक योगदान, तेस्रोमा समकालीन तथा सहयात्रीहरूका संस्मरण र चौथोमा सम्मानपत्र तथा पत्रपत्रिकामा प्रकाशित सामग्री समावेश गरिएका छन्। यसले ग्रन्थलाई शक्ति लम्सालको जीवनकथा मात्र नभई विभिन्न कालखण्डका राजनीतिक, साहित्यिक र सांस्कृतिक अनुभवहरूको सङ्ग्रह बनाएको छ।
शक्ति लम्साल : वर्गीय चेतना र वैचारिक विद्रोहको जीवन
शक्ति लम्सालको व्यक्तित्वलाई बुझ्न उनको जन्म, पारिवारिक पृष्ठभूमि र वैचारिक यात्राको प्रारम्भिक आधारलाई बुझ्न आवश्यक छ। उनी १९९३ चैतमा काठमाडौंको एउटा खानदानी परिवारमा जन्मिएका थिए। उनको पारिवारिक सम्बन्ध तत्कालीन राणा शासक वर्गसँग निकट थियो। तर उनको जीवनको विशेषता के रह्यो भने उनी जन्मिएको सामाजिक परिवेश र आफूले रोजेको वैचारिक बाटोबीच ठूलो अन्तर थियो। पारिवारिक वर्गीय संस्कार र सामन्ती सोचभन्दा विपरीत उनले किशोरावस्थादेखि नै शोषण, अन्याय र असमानताविरुद्ध विद्रोहको बाटो रोजे।यही विद्रोही चेतनाले उनलाई मार्क्सवादतर्फ आकर्षित गर्यो। २००९ सालमा साहित्यकार रमेश विकलको प्रेरणाबाट कम्युनिष्ट पार्टीको सदस्यताका लागि आवेदन दिनु र २०१० सालमा पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गर्नु उनको राजनीतिक जीवनको महत्त्वपूर्ण मोड थियो। त्यसपछि उनले जीवनको अन्तिम समयसम्म कम्युनिष्ट आन्दोलन र प्रगतिशील विचारप्रति आफ्नो प्रतिबद्धता कायम राखे।उनको राजनीतिक जीवनको महत्त्व कम्युनिष्ट पार्टीको सदस्यतामा मात्र सीमित थिएन। उनले आफ्नो वैचारिक निष्ठालाई व्यवहारमा उतार्ने प्रयास गरे। राजनीतिक उतारचढाव, पार्टी विभाजन, संगठनात्मक मतभेद, जेल र हिरासतका कठिनाइ तथा व्यक्तिगत अभावका बीच पनि उनि आफ्नो विचार र प्रतिबद्धताबाट विचलित भएनन्।त्यसैले इतिहासले उनलाई समकालीन राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरूबीच फरक पहिचान दिएको देखिन्छ।तर उनको जीवनलाई त्याग र निष्ठाको आदर्श कथामा मात्र सीमित गर्नु पनि उचित हुँदैन। उनीसँग जोडिएका राजनीतिक निर्णय, संगठनात्मक सम्बन्ध, नेतृत्वसँगका असन्तुष्टि र वैचारिक मतभेदलाई पनि ऐतिहासिक सन्दर्भमा बुझ्नुपर्छ। कुनै व्यक्तिको योगदानको सही मूल्याङ्कन उसको प्रशंसा गरेर मात्र होइन, उसले भोगेका अन्तर्विरोध र तिनप्रति देखाएको प्रतिक्रियाको विश्लेषण पनि गर्नुपर्छ।
पत्रकारिता : विचार, प्रतिरोध र जनताको पक्षधरता
शक्ति लम्सालको अर्को महत्त्वपूर्ण पहिचान जनपक्षीय पत्रकारिता हो। पञ्चायती शासनको नियन्त्रण, राजनीतिक दमन र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धका बीच उनले पत्रकारितालाई सूचना प्रवाहको साधन मात्र बनाएनन्, बरु राजनीतिक चेतना निर्माण र जनताको आवाज अभिव्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गरे।योजना साप्ताहिक, नवयुग, मशाल, डेली डायरी, जनादेशलगायत विभिन्न पत्रपत्रिकासँगको उनको सम्बन्धले उनको पत्रकारिताको लामो यात्रा देखाउँछ। उनले सम्पादन, प्रकाशन, लेखन र संगठन निर्माणका क्षेत्रमा काम गरे। जनपक्षीय पत्रकार संघको संस्थापक संयोजकका रूपमा उनको भूमिका पनि यसै सन्दर्भमा महत्त्वपूर्ण छ।पुस्तकमा समेटिएका लेख तथा संस्मरणहरूबाट तत्कालीन राजनीतिक परिस्थितिमा पत्रकारिता गर्नु कति जोखिमपूर्ण थियो भन्ने कुरा स्पष्ट हुन्छ। समाचार लेखेकै कारण कार्यालयमा प्रहरी हस्तक्षेप हुनु, पत्रकार तथा प्रकाशनकर्मी पक्राउ पर्नु र हिरासतमा राखिनु तत्कालीन प्रेस स्वतन्त्रताको अवस्थाका जीवन्त प्रमाण हुन्।यसले शक्ति लम्सालको पत्रकारिता पेशागत परिचयभन्दा माथि उठेर राजनीतिक तथा सामाजिक उत्तरदायित्वसँग जोडिएको थियो भन्ने देखाउँछ। उनले पत्रकारितालाई प्रचार गर्ने माध्यम मात्र होइन, सत्ताको चरित्रमाथि प्रश्न उठाउने र शोषित जनताको पक्षमा आवाज उठाउने साधनका रूपमा ग्रहण गरेका थिए।यद्यपि जनपक्षीय पत्रकारिताको मूल्याङ्कन गर्दा विचारप्रतिको प्रतिबद्धतासँगै तथ्यको निष्पक्षता, समाचारको विश्वसनीयता, स्रोतको परीक्षण र सम्पादकीय स्वतन्त्रताको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पुस्तकमा उनको राजनीतिक प्रतिबद्धताको चर्चा प्रशस्त छ, तर उनको पत्रकारिताको प्रभाव, समाचार सम्पादनको पद्धति, व्यावसायिक मान्यता र समकालीन पत्रकारितामा परेको दीर्घकालीन प्रभावबारे अझ व्यवस्थित अध्ययन आवश्यक देखिन्छ।
साहित्यिक व्यक्तित्व र मार्क्सवादी सौन्दर्यचिन्तन
शक्ति लम्साललाई राजनीतिक कार्यकर्ता र पत्रकारका रूपमा मात्र बुझ्नु उनको व्यक्तित्वको अपूर्ण मूल्याङ्कन हुनेछ। उनी प्रगतिशील साहित्यका गम्भीर अध्येता, समीक्षक र वैचारिक चिन्तक पनि थिए। विशेषतः मार्क्सवाद, समाज र साहित्य नामक उनको कृति उनको साहित्यिक तथा वैचारिक चिन्तन बुझ्ने महत्त्वपूर्ण आधार हो।उनको साहित्यिक दृष्टिकोणको मूल आधार साहित्यलाई समाजबाट अलग राखेर बुझ्न सकिँदैन भन्ने मान्यता हो। साहित्य जीवनको अङ्ग हो, समाजको विकासक्रम र वर्गीय सम्बन्धबाट प्रभावित हुन्छ र त्यसले समाजको रूपान्तरणमा पनि भूमिका खेल्न सक्छ भन्ने उनको विचार पाइन्छ। उनी साहित्यकारको सामाजिक उत्तरदायित्व, वर्गीय पक्षधरता, यथार्थको कलात्मक प्रस्तुति र जनताको जीवनसँग साहित्यको सम्बन्धलाई विशेष महत्त्व दिन्थे।उनको दृष्टिमा जनवादी साहित्य भनेको सर्वहारा तथा श्रमजीवी वर्गको साहित्य हो। साहित्यकारले जनताको जीवन, दुःख, श्रम, संघर्ष र परिवर्तनको आकाङ्क्षालाई आफ्नो सिर्जनाको विषय बनाउनुपर्छ। तर साहित्यमा विचारको उपस्थिति मात्र पर्याप्त हुँदैनस त्यसलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने क्षमता पनि आवश्यक हुन्छ भन्ने प्रश्न उनको आलोचनात्मक लेखनमा देखिन्छ।लु सुन, म्याक्सिम गोर्की, प्रेमचन्द, पारिजात, युद्धप्रसाद मिश्र, कृष्ण सेन इच्छुक, गोकुल जोशीलगायतका साहित्यिक व्यक्तित्व र उनीहरूका कृतिमाथि उनले गरेको अध्ययनले उनको पठनको दायरा र वैचारिक रुचि स्पष्ट पार्छ।विशेषतः प्रगतिशील साहित्यमा यथार्थवाद, वर्गीय दृष्टिकोण, साहित्यको सामाजिक प्रयोजन र सिर्जनाकारको जिम्मेवारीसम्बन्धी उनको चिन्तन उल्लेखनीय छ। साहित्यलाई मनोरञ्जन वा व्यक्तिगत भावनाको अभिव्यक्तिमा मात्र सीमित नगरी सामाजिक यथार्थ र ऐतिहासिक परिवर्तनसँग जोड्ने उनको आग्रह नेपाली प्रगतिशील साहित्यिक आन्दोलनका लागि महत्त्वपूर्ण छ।तर उनको साहित्यिक चिन्तनको आलोचनात्मक परीक्षण गर्दा एउटा प्रश्न भने उठ्छ,साहित्यको वर्गीय पक्षधरता र वैचारिक प्रतिबद्धतामा जोड दिँदा कतै सिर्जनाको स्वतन्त्रता, बहुआयामिक मानवीय अनुभूति र कलात्मक स्वायत्तताको पक्ष ओझेलमा त पर्दैनरु साहित्यलाई विचारको अभिव्यक्ति मात्र ठान्नु र विचार तथा कलाको द्वन्द्वात्मक सम्बन्ध बुझ्नु फरक कुरा हुन्। यस प्रश्नमा लम्सालका मान्यताहरूलाई अझ गहिरो अध्ययन र बहसको विषय बनाउन सकिन्छ।
स्मृतिग्रन्थको सबैभन्दा जीवन्त पक्ष : संस्मरण र अनुभवको विविधता
यस ग्रन्थको तेस्रो खण्डमा समेटिएका संस्मरणहरू यसको विशेष महत्त्वका सामग्री हुन्। शक्ति लम्सालसँग निकट सम्बन्धमा रहेका परिवारजन, राजनीतिक सहयात्री, पत्रकार, साहित्यकार, लेखक र विभिन्न क्षेत्रका व्यक्तिहरूले आ–आफ्ना अनुभव प्रस्तुत गरेका छन्।यी संस्मरणहरूले शक्ति लम्सालको एउटा मात्र परिचय प्रस्तुत गर्दैनन्। कतै उनी कठोर वैचारिक अडान भएका कम्युनिष्टका रूपमा देखिन्छन्, कतै सरल र सहयोगी पारिवारिक व्यक्तिका रूपमा, कतै निडर पत्रकारका रूपमा, कतै साहित्यिक बहसमा गहिरो रुचि राख्ने अध्येताका रूपमा र कतै सहयात्रीहरूको दुःखसुखमा साथ दिने आत्मीय व्यक्तिका रूपमा प्रस्तुत भएका छन्।विशेषतः जेल र हिरासतका अनुभव, प्रहरी दमन, राजनीतिक आन्दोलनमा सहभागिता, सहकर्मीहरूसँगको सम्बन्ध र संगठनात्मक जीवनका प्रसङ्गहरूले पुस्तकलाई जीवन्त बनाएका छन्। कतिपय संस्मरणमा शक्ति लम्सालको हास्यचेत, सरलता, स्पष्ट वक्तृत्व र कठिन परिस्थितिमा पनि नआत्तिने स्वभावका प्रसङ्ग पाइन्छन्।पुस्तकको अर्को उल्लेखनीय पक्ष उनको पारिवारिक जीवन हो। राजनीतिक प्रतिबद्धता र सार्वजनिक जीवनको व्यस्तताबीच परिवारले भोगेका कठिनाइ, पत्नी कृष्णा लम्सालको संघर्ष, पारिवारिक जिम्मेवारी र व्यक्तिगत जीवनका पीडालाई पनि कतिपय लेखकहरूले उठाएका छन्। यसले राजनीतिक व्यक्तित्वलाई सार्वजनिक जीवनबाट होइन, निजी जीवनका जिम्मेवारी र सम्बन्धबाट समेत बुझ्न मद्दत गर्छ।
पुस्तकका सबल पक्ष
यस ग्रन्थको पहिलो सबल पक्ष यसको सामग्रीको व्यापकता हो। एउटा व्यक्तिको जीवनलाई राजनीति, साहित्य, पत्रकारिता, संस्कृति, संगठन, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारका विभिन्न आयामबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ।
दोस्रो, यसमा विभिन्न पुस्ता र क्षेत्रका लेखकहरूको सहभागिता छ। यसले शक्ति लम्सालको व्यक्तित्वलाई एउटै विचार वा समूहको सीमाभित्र नराखी व्यापक सामाजिक तथा बौद्धिक सम्बन्धको परिधिमा बुझ्ने अवसर दिएको छ।तेस्रो, पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनका केही महत्त्वपूर्ण कालखण्ड, पार्टीभित्रका वैचारिक मतभेद, विभाजन, राजनीतिक दमन, पत्रकारिताको संघर्ष र प्रगतिशील साहित्यिक आन्दोलनका अनुभवलाई पनि अभिलेखका रूपमा सुरक्षित गरेको छ।चौथो, पुस्तकमा रहेका लेखहरू भविष्यका अनुसन्धानकर्ताका लागि उपयोगी सन्दर्भ सामग्री बन्न सक्छन्। विशेषतः नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, प्रगतिशील साहित्यको विकासक्रम र पञ्चायतकालीन जनपक्षीय पत्रकारिताको अध्ययनमा यसका सामग्रीको महत्त्व रहनेछ।
आलोचनात्मक दृष्टिले हेर्दा : पुस्तकका सीमा र सुधार गर्नुपर्ने पक्ष
कुनै पनि कृतिको वास्तविक मूल्याङ्कन त्यसका उपलब्धि मात्र गनेर पूरा हुँदैन। त्यसका सीमा, कमजोरी र अपूर्णतालाई पनि इमानदारीपूर्वक औँल्याउनुपर्छ। यस दृष्टिले शक्ति लम्साल स्मृतिग्रन्थमा केही महत्त्वपूर्ण सुधार गर्न सकिने पक्ष देखिन्छन्।पहिलो, पुस्तकमा श्रद्धा र सम्मानको भाव अत्यन्त प्रबल छ। स्मृतिग्रन्थको प्रकृतिअनुसार यो स्वाभाविक पनि हो। तर कतिपय लेखहरूमा व्यक्तित्वको प्रशंसा र गुणगान बढी देखिन्छ। उनका राजनीतिक निर्णय, वैचारिक मतभेद, संगठनात्मक असन्तुष्टि र कमजोरीहरूलाई तुलनात्मक रूपमा गहिरो विश्लेषण गरिएको छैन। कुनै पनि ऐतिहासिक व्यक्तित्वलाई बुझ्न उसका सबल पक्षसँगै सीमाहरूको पनि वस्तुनिष्ठ परीक्षण आवश्यक हुन्छ।दोस्रो, पुस्तकमा संस्मरणात्मक सामग्रीको बाहुल्य छ। संस्मरणहरू मूल्यवान् भए पनि ती लेखकका व्यक्तिगत अनुभव र दृष्टिकोणमा आधारित हुन्छन्। कतिपय घटनाका मिति, स्थान, राजनीतिक पृष्ठभूमि र पात्रहरूको भूमिकालाई अन्य ऐतिहासिक अभिलेखसँग तुलना गरेर पुष्टि गर्नुपर्ने आवश्यकता छ। विशेषतः पार्टीको इतिहास र राजनीतिक घटनाक्रमसम्बन्धी विषयमा स्रोतसहितको व्यवस्थित प्रस्तुति भएको भए पुस्तक अझ प्रामाणिक बन्न सक्थ्यो।तेस्रो, शक्ति लम्सालको साहित्यिक कृतित्वको चर्चा भए पनि उनका प्रकाशित तथा अप्रकाशित लेख, रचना, अन्तर्वार्ता, सम्पादकीय र अन्य साहित्यिक सामग्रीको पूर्ण सूची, रचनाकाल, प्रकाशन स्रोत र विषयगत वर्गीकरण पर्याप्त रूपमा प्रस्तुत हुन सकेको छैन। उनको साहित्यिक योगदानको व्यवस्थित मूल्याङ्कनका लागि यो महत्त्वपूर्ण पक्ष हो।चौथो, पुस्तकको दोस्रो खण्डमा साहित्यिक आलोचना र वैचारिक लेखहरू समावेश भए पनि ती लेखहरूको स्तर र गहिराइ समान छैन। कतिपय लेखमा गम्भीर सैद्धान्तिक विश्लेषण पाइन्छ भने कतिपयमा संस्मरणात्मक वा सामान्य प्रशंसात्मक चर्चा बढी छ। त्यसैले सबै लेखलाई समान प्राज्ञिक स्तरका सामग्रीका रूपमा लिन मिल्दैन।पाँचौँ, पुस्तकमा कतिपय प्रसङ्ग दोहोरिएका छन्। एउटै घटना, राजनीतिक अनुभव वा व्यक्तिगत विशेषता विभिन्न संस्मरणमा पुनः प्रस्तुत हुँदा केही सामग्री दोहोरिएको अनुभूति हुन्छ। विषयगत सम्पादन, तथ्य परीक्षण र पुनरावृत्ति घटाउने काम अझ व्यवस्थित हुन सकेको भए ग्रन्थको प्रभावकारिता बढ्ने थियो।छैटौँ, महिला दृष्टिकोण, पारिवारिक श्रम र राजनीतिक जीवनका लैङ्गिक आयामलाई अझ गहिराइमा समेट्न सकिन्थ्यो। कृष्णा लम्सालको जीवनसङ्घर्षको चर्चा भए पनि शक्ति लम्सालको सार्वजनिक राजनीतिक जीवन सम्भव बनाउन परिवारले बेहोरेको अदृश्य श्रम र त्यसको सामाजिक अर्थमाथि छुट्टै विश्लेषण आवश्यक देखिन्छ।
यी कमजोरीले ग्रन्थको महत्त्वलाई समाप्त गर्दैनन्। बरु यसलाई अझ समृद्ध बनाउन सकिने सम्भावना देखाउँछन्। स्मृतिग्रन्थको पहिलो संस्करणलाई आधार बनाएर भविष्यमा शक्ति लम्सालका समग्र रचनाहरूको सङ्कलन, सम्पादन र आलोचनात्मक अध्ययन प्रकाशित गर्नुपर्ने आवश्यकता छ।
एउटा महत्त्वपूर्ण राजनीतिक अन्तर्विरोध : योगदानको मूल्याङ्कन र संस्थागत उपेक्षा
शक्ति लम्सालको जीवनमा देखिएको एउटा गम्भीर पक्ष उनको दीर्घकालीन राजनीतिक योगदान र पार्टीभित्र प्राप्त संस्थागत हैसियतबीचको अन्तर हो। पुस्तकका केही संस्मरण तथा विश्लेषणात्मक लेखहरूले यस विषयलाई स्पष्ट रूपमा उठाएका छन्।लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका, पत्रकारिता र साहित्यमा विशिष्ट योगदान दिएका तथा राजनीतिक दमन र जेलजीवन भोगेका व्यक्तित्वले पार्टीभित्र अपेक्षित भूमिका र जिम्मेवारी नपाएको अनुभूति गरेका प्रसङ्ग पुस्तकमा आएका छन्। विशेषतः उनको राजनीतिक हैसियत र बाहिरी समाजले दिएको सम्मानबीच देखिएको अन्तरलाई केही लेखकहरूले गम्भीर प्रश्नका रूपमा प्रस्तुत गरेका छन्।यसलाई एउटा व्यक्तिको व्यक्तिगत असन्तुष्टिका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसले कम्युनिष्ट पार्टीभित्र योगदानको मूल्याङ्कन कसरी हुन्छ, नेतृत्व र जिम्मेवारीको वितरण कुन आधारमा गरिन्छ, लामो समय आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको अनुभव र क्षमताको उपयोग कसरी गरिन्छ भन्ने संस्थागत प्रश्न उठाउँछ।पुस्तकको अन्तिमतिरको विश्लेषणात्मक लेखले यही प्रश्नलाई अझ गहिरो रूपमा उठाएको छ। राजनीतिक आन्दोलनमा व्यक्तिको योगदानलाई तत्कालीन शक्ति सन्तुलन, गुटगत समीकरण वा पदको आधारमा होइन, दीर्घकालीन निष्ठा, क्षमता, अनुभव र योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्छ भन्ने निष्कर्ष त्यहाँ प्रस्तुत गरिएको छ।यो पुस्तकको महत्त्वपूर्ण आलोचनात्मक उपलब्धि हो। यसले शक्ति लम्सालको जीवनलाई सम्झनासँगै कम्युनिष्ट आन्दोलनभित्र आत्मसमीक्षाको आवश्यकता पनि औँल्याएको छ।
निष्कर्ष : एउटा व्यक्तिको स्मृति मात्र होइन, आन्दोलनको इतिहास
समग्रमा हेर्दा शक्ति लम्साल स्मृतिग्रन्थ नेपाली कम्युनिष्ट आन्दोलन, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिताको इतिहासमा योगदान दिएका एक व्यक्तित्वको जीवन र कर्मलाई अभिलेखीकरण गर्ने महत्त्वपूर्ण प्रयास हो।शक्ति लम्सालको जीवनले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ,त्यो हो व्यक्तिको वास्तविक पहिचान उसको जन्म, पारिवारिक हैसियत वा सामाजिक प्रतिष्ठाले मात्र निर्धारण गर्दैनस उसले रोजेको विचार, वर्गीय पक्षधरता, जीवनभर गरेको संघर्ष र व्यवहारले निर्धारण गर्छ। सामन्ती परिवेशबाट आएका व्यक्तिले सामन्तवादविरुद्धको वैचारिक बाटो रोज्नु, व्यक्तिगत सुविधा र स्वार्थभन्दा राजनीतिक प्रतिबद्धतालाई महत्त्व दिनु र कठिन परिस्थितिमा पनि आफ्नो विचारप्रति निष्ठावान् रहनु उनको जीवनका उल्लेखनीय पक्ष हुन्।तर उनको योगदानलाई त्याग र निष्ठाको आदर्शमा सीमित गर्नु हुँदैन। उनको राजनीतिक जीवनका अन्तर्विरोध, संगठनात्मक अनुभव, साहित्यिक मान्यता, पत्रकारिताको अभ्यास र समकालीन आन्दोलनसँगको सम्बन्धलाई आलोचनात्मक तथा ऐतिहासिक दृष्टिले अध्ययन गर्न आवश्यक छ। उनका विचारसँग सहमत हुने वा असहमत हुने दुवै पक्षले उनका योगदान र सीमाको वस्तुनिष्ठ मूल्याङ्कन गर्न सक्नुपर्छ।
यस ग्रन्थको सबैभन्दा ठूलो उपलब्धि शक्ति लम्सालको सम्झनालाई व्यक्तिगत घेराबाट बाहिर निकालेर नेपाली समाजको वैचारिक, राजनीतिक र सांस्कृतिक इतिहाससँग जोड्ने प्रयास हो। यसको सबैभन्दा ठूलो सीमा भनेको स्मृतिको सम्मानजन्य भावले कतिपय ठाउँमा आलोचनात्मक वस्तुनिष्ठतालाई पर्याप्त स्थान दिन नसक्नु हो। यही सीमालाई स्वीकार गर्दै भविष्यमा उनका समग्र कृतिहरूको व्यवस्थित प्रकाशन र जीवनको स्वतन्त्र अनुसन्धान हुन सकेमा यो पहिलो स्मृतिग्रन्थ अझ व्यापक ऐतिहासिक अध्ययनको आधार बन्न सक्छ।शक्ति लम्साललाई सम्झनुको अर्थ उनको तस्वीरमा माला चढाउनु मात्र होइन उनले उठाएका प्रश्न, पक्षधरता, विचार र संघर्षको ऐतिहासिक परीक्षण गर्नु पनि हो। उनले विश्वास गरेको सामाजिक रूपान्तरणको लक्ष्य, जनताको पक्षमा उभिने प्रतिबद्धता र विचार तथा व्यवहारबीच एकरूपता कायम गर्ने प्रयत्नलाई नयाँ पुस्ताले कसरी ग्रहण गर्छ भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ।
अन्ततः, शक्ति लम्सालको जीवन नेपाली कम्युनिष्ट आन्दोलनका लागि एउटा ऐतिहासिक अनुभव हो। उनको स्मृति तब मात्र सार्थक हुनेछ, जब आन्दोलनले आफ्ना इमानदार, अनुभवी र प्रतिबद्ध व्यक्तित्वहरूको समयमै उचित मूल्याङ्कन गर्ने संस्कार विकास गर्नेछ। इतिहासले व्यक्तिलाई उसको पदबाट होइन, विचार, कर्म र योगदानबाट सम्झन्छ।
प्रतिक्रिया