नेपालको कम्युनिस्ट आन्दोलन किन कमजोर हुदै छ

जब पार्टीभित्र वैचारिक बहस भन्दा व्यक्तिको प्रभाव ठूलो हुन्छ, सामूहिक निर्णय भन्दा व्यक्तिगत निर्णय प्रभावशाली हुन्छ र राजनीतिक कार्यक्रमभन्दा नेतृत्वको पद प्रमुख बन्न पुग्छ, तब सङ्गठन विभाजन तर्फ जान्छ।

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १६ १२:५४ बजे
कृसन वहादुर वि.क.

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास सङ्घर्ष, त्याग, बलिदान र राजनीतिक उपलब्धिहरूले भरिएको छ। नेपाली समाजमा सामन्तवाद, निरङ्कुशता, शोषण, उत्पीडन र सामाजिक असमानता विरुद्ध जनतालाई सङ्गठित गर्ने काममा कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको छ।तर आज एउटा गम्भीर प्रश्न उठेको छ—इतिहासमा जनताको ठूलो विश्वास र समर्थन प्राप्त गरेको कम्युनिस्ट आन्दोलन किन कमजोर हुँदै गइरहेको छ?कुनै समय गाउँदेखि सहरसम्म, मजदुर देखि किसानसम्म, विद्यार्थीदेखि बुद्धिजीवी सम्म कम्युनिस्ट विचारले व्यापक प्रभाव पारेको थियो। तर आज कम्युनिस्ट नाममा अनेकौँ पार्टी, समूह र गुटहरू देखिन्छन्। सिद्धान्तमा समाजवादको कुरा गरिन्छ, भाषणमा वर्ग सङ्घर्षको चर्चा हुन्छ, घोषणापत्रमा श्रमिक मुक्तिको प्रतिबद्धता व्यक्त गरिन्छ तर व्यवहारमा जनताले अपेक्षा गरेको परिवर्तन देख्न नसकेको गुनासो बढिरहेको छ।

यस अवस्थालाई केवल निर्वाचनमा प्राप्त मतको उतारचढावका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसको पछाडि वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक, राजनीतिक र नैतिकसङ्कट हरू जोडिएका छन्।मेरो विचारमा नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुका प्रमुख  आधारभूत कारणहरू छन्। ती हुन्—पार्टी विभाजन, मार्क्सवादको फरक–फरक र अस्पष्ट व्याख्या, मार्क्सवाद–लेनिनवाद–माओवाद\माओविचारधारा लाई नारामा सीमित गर्नु र सत्तामा पुगेपछि कम्युनिस्ट नेतृत्वको व्यवहारमा देखिएको पुरानै उदारवादी तथा पुँजीवादी राजनीतिक संस्कृतिको निरन्तरता दिने काम गर्नु हो।

पार्टी विभाजन र सङ्गठनात्मक विखण्डन-नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुको एउटा प्रमुख कारण निरन्तर हुँदै आएको पार्टी विभाजन हो।सङ्गठन कुनै पनि राजनीतिक आन्दोलनको सामूहिक शक्ति हो। विचार, उद्देश्य, कार्यक्रम र कार्यदिशामा आधारित सङ्गठनले मात्र जनताको शक्तिलाई व्यवस्थित राजनीतिक शक्तिमा रूपान्तरण गर्न सक्छ।तर नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक भएका विभाजनले त्यसको सामूहिक शक्ति कमजोर बनाएको छ।विभाजन हुनु आफैँमा सधैँ गलत हुँदैन। यदि कुनै पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन उत्पन्न हुन्छ, वर्गीय कार्यदिशामा आधारभूत मतभेद देखिन्छ वा नेतृत्वले सङ्गठनलाई गलत दिशामा लैजान्छ भने वैचारिक सङ्घर्ष र आवश्यक परे सङ्गठनात्मक पुनर्गठन पनि हुन सक्छ।तर प्रश्न उठ्छ—नेपालमा भएका सबै विभाजन के वास्तविक सैद्धान्तिक मतभेदका कारण भएका हुन्र?धेरै विभाजनमा नेतृत्वबीचको व्यक्तित्वको टकराव, पद र जिम्मेवारीको विवाद, गुटगत स्वार्थ, नेतृत्व हस्तान्तरणको समस्या र राजनीतिक शक्तिको बाँडफाँटले पनि भूमिका खेलेको देखिन्छ।जब पार्टीभित्र वैचारिक बहस भन्दा व्यक्तिको प्रभाव ठूलो हुन्छ, सामूहिक निर्णय भन्दा व्यक्तिगत निर्णय प्रभावशाली हुन्छ र राजनीतिक कार्यक्रमभन्दा नेतृत्वको पद प्रमुख बन्न पुग्छ, तब सङ्गठन विभाजन तर्फ जान्छ।

यसको परिणाम के हुन्छ?एउटै वर्गका मजदुर, किसान र श्रमिकहरू विभिन्न पार्टी र गुटमा विभाजित हुन्छन्।एउटै उद्देश्य बोकेका कार्यकर्ताहरू एकअर्काका राजनीतिक प्रतिस्पर्धी बन्न पुग्छन्।जनताको आन्दोलनमा सामूहिक नेतृत्वको अभाव देखिन्छ।सीमित जनशक्ति, आर्थिक स्रोत र सङ्गठनात्मक क्षमता अनेकौँ समूहमा बाँडिन्छ।जनतामा कम्युनिस्ट पार्टीहरू आफ्नै स्वार्थ र नेतृत्वको विवादमा अल्झिएका छन् भन्ने धारणा विकसित हुन्छ।यसले कम्युनिस्ट आन्दोलनको राजनीतिक विश्वसनीयतामा असर पार्छ।तर यहाँ अर्को पक्ष पनि महत्त्वपूर्ण छ। एकता भनेको केवल पार्टीको नाम एउटै बनाउनु होइन। विचार, कार्यदिशा, सङ्गठनात्मक पद्धति, नेतृत्वको जवाफदेहिता र व्यवहारमा एकरूपता कायम गर्नु हो।सैद्धान्तिक छलफल नगरी पद बाँडफाँट गरेर गरिएको एकता लामो समय टिक्न सक्दैन। त्यसैले कम्युनिस्ट आन्दोलनको वास्तविक एकता वैचारिक स्पष्टता, लोकतान्त्रिक छलफल र सामूहिक उत्तरदायित्वको आधारमा निर्माण हुनुपर्छ।

मार्क्सवादलाई आ–आफ्नो स्वार्थअनुसार व्याख्या गर्नु-नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुको अर्को महत्त्वपूर्ण कारण मार्क्सवादको व्याख्या र प्रयोगमा देखिएको सैद्धान्तिक अस्पष्टता हो।मार्क्सवाद कुनै धार्मिक ग्रन्थ होइन, जसका प्रत्येक वाक्यलाई अपरिवर्तनीय आदेशका रूपमा ग्रहण गर्नुपर्छ। यो समाज, अर्थव्यवस्था, इतिहास र वर्गीय सम्बन्धको वैज्ञानिक अध्ययन तथा सामाजिक परिवर्तनको दृष्टिकोण हो।कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले समाजको ऐतिहासिक विकास, उत्पादन सम्बन्ध, वर्गीय विभाजन र वर्ग सङ्घर्षको विश्लेषण गरे। लेनिनले साम्राज्यवाद, राज्यसत्ता र क्रान्तिकारी पार्टीको प्रश्नमा त्यसलाई विकसित गरे। माओले चीनको अर्धसामन्ती तथा अर्ध औपनिवेशिक परिस्थितिमा किसान आन्दोलन, जनयुद्ध र नयाँ जनवादी क्रान्तिको प्रश्नमा थप विकास गरे।तर नेपालको कम्युनिस्ट आन्दोलनमा यी विचारहरूको अध्ययन र प्रयोग गर्दा कतिपय अवस्थामा नेपाली समाजको वास्तविक वस्तुगत परिस्थिति भन्दा नेतृत्वको व्यक्तिगत बुझाइ र राजनीतिक स्वार्थलाई बढी महत्त्व दिइएको देखिन्छ।

एउटै मार्क्सवादको नाम लिने विभिन्न समूहले एउटै सामाजिक अवस्थाको फरक विश्लेषण गर्छन्। एउटाले संसदीय व्यवस्थालाई समाजवादी रूपान्तरणको आधार ठान्छ, अर्कोले त्यसलाई पुँजीवादी व्यवस्थाको निरन्तरता मान्छ। कसैले तत्कालीन परिस्थितिमा सम्झौतालाई आवश्यक कार्यनीति ठान्छ, अर्कोले त्यसलाई सैद्धान्तिक विचलनको रूपमा व्याख्या गर्छ। (लेखक भारत व्याङ्कलोरमा एकता समाजका नेता हुनुहुन्छ)


२०८३ कात्तिक १६ १२:५४ बजे

प्रतिक्रिया