मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १० १७:०४ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री बालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयतामा रहेका छन् ।

त्यस्तै नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई राखिएको छ । सोविता पार्टीको उपसभापतिमा निर्वाचित भएपछि मन्त्रिपरिषदमा पनि उनको वरियता माथि राखिएको हो । यसअघि उनी सातौं स्थानमा थिइन् ।

त्यस्तै चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल र पाँचौँमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । त्यसपछि क्रमशः गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ र महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी नवौँ स्थानमा छन् ।

त्यस्तै, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल दसौँ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता एघारौँ, शिक्षामन्त्री सस्मित पोखरेल बाह्रौँ, पर्यटनमन्त्री खडक राज पौडेल तेह्रौँ र सूचनामन्त्री डा. विक्रम तिमिल्सिना चौधौँ स्थानमा छन् । नयाँ मर्यादाक्रमको पन्ध्रौँ स्थानमा कृषिमन्त्री गीता चौधरी, सोह्रौँमा उद्योगमन्त्री दिपक कुमार साह र सत्रौँमा युवामन्त्री रामजी यादव रहेका छन् ।

२०८३ मंसिर १० १७:०४ बजे

प्रतिक्रिया