सुनकोसी–मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न, कांग्रेसले माग्यो स्वतन्त्र छानबिन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ठेक्का रद्द गर्दा कानुनी प्रक्रिया पालना नभएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङदेम्बेले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको दाबी गरे । उनले यस घटनामा संलग्न प्रधानमन्त्रीको टिमको अनुसन्धान हुनुपर्नेसमेत माग गरेका छन् ।
आङदेम्बेका अनुसार आयोजनाको ठेक्काका लागि छवटा कम्पनीले बोलपत्र पेस गरेका थिए, जसमध्ये तीनवटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए । आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिई दबाब दिएर ठेक्का रद्द गरिएको उनको दाबी छ ।
उनले सरकारको कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूको संयुक्त बैठक गत १७ कात्तिकमा बसेको जानकारी दिए । बैठकपछि संसद् र संसदीय समितिमा छलफलको माग गरिएको थियो । सोही क्रममा मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बस्यो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएको आङदेम्बेले बताए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
आङदेम्बेले आयोजनाको महत्त्वबारे उल्लेख गर्दै यो मधेसका पाँच जिल्लाको करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना भएको बताए । यसको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ । यस्तो आयोजना सरकारको मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । “भोलि मधेसका जनता सडकमा उत्रिए त्यसको जिम्मेवारी कसले लिने ?” भन्दै उनले प्रश्न गरे ।
उनले प्रधानमन्त्रीसँग प्रश्न राख्दै प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने स्थान भन्नेबारे स्पष्ट पार्न माग गरे । कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो, ठेक्का रद्द गर्ने कानुनी आधार के हो र राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उनले उठाए ।
“ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन,” आङदेम्बेले भने । उनले मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन नहुने र सरकार जवाफदेहिताबाट भाग्न नसक्ने बताए ।
प्रतिक्रिया