देउवा समूहको महाधिवेशनमा विद्युतीय मतदान हुने

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १० १५:१३ बजे

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । मंसिर २१ देखि २३ सम्म काठमाडौंको खुल्ला मञ्चमा आयोजना हुने १५औं महाधिवेशनमा देउवा समूहले नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । देउवा समूहका नेता दीपक कुइँकेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

देउवा समूहले बुधबार महाधिवेशन तयारी समितिको बैठक बोलाएर महाधिवेशनको तयारीबारे छलफल गरेको थियो । उक्त बैठकमा विद्युतीय मेसिनबाट मतदान गर्ने विषयमा छलफल भएको संयोजक कुइँकेलले बताए । महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी देउवा समूहको छ ।

हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, तीन सय जना मनोनीत, भ्रातृ संस्थाबाट दुई सय, जनसम्पर्क समितिबाट दुई सय तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने छ ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका थिए ।

२०८३ मंसिर १० १५:१३ बजे

प्रतिक्रिया