महिलाको रगत खान्छु भन्ने खगेन्द्र सुनार को हुन ?

आपराधिक पृष्टभुमिका खगेन्द्र सुनारका तिन वटा मुद्दा अदालतमा विचाराधिन छन।

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २७ १४:१० बजे
खगेन्द्र सुनार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन थालेको छ । अडियोमा 'एक महिला लाई धम्काउदै तेरो रगत खान्छु भनेको सुनिन्छ।

सुनारसँग सम्बन्धित श्रव्य सामग्री र उनीमाथि उडाइएका प्रश्नबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खगेन्द्र २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित दलित समुदायका सांसद हुन् । उनी बाँके–३ बाट निर्वाचित भएका थिए । दलितमाथि हुने बर्बर पीडाकाविरुद्ध आवाज उठाउने भनिएका खगेन्द्रले एक महिलालाई मारिदिने र बच्चालाई समेत मार्ने धम्की दिएको अडियोमा सुनिन्छ । सार्वजनिक अडियोबारे राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्री भन्छिन्, ‘हिंसाको पनि हद हुन्छ नि ?’

राजनीतिमा आउनुअघि पत्रकारिता गर्ने खगेन्द्रको विगत पनि विवादित देखिन्छ । खगेन्द्रविरुद्ध ३ वटा मुद्दा अदालतमा विचाराधीन छन् । दैलेखको नारायण नगरपालिका वडा नम्बर–२ स्थित भैसेखोर घर भएका सुनार यसअघि ३ वटा फौजदारी मुद्दामा संलग्न रहेको प्रहरीको सीआरएस रेकर्डमा देखिन्छ ।

२०८१ असार ७ मा खगेन्द्रले सुर्खेतस्थित मेहेलकुना अस्पतालमा तोडफोड गरेर स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । अस्पताल प्रमुख डा. सोजन सापकोटाले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा पेस गरेको मुद्दा अहिले विचाराधीन छ । २०८१ असार १४ मा दायर भएको मुद्दामा अदालतले खगेन्द्रलाई ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनू’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । खगेन्द्र अदालतमा हाजिर भए, तर मुद्दा टुङ्गिएको छैन ।

सुर्खेत प्रहरीले २०८० असार ३ मा खगेन्द्रविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसबेला उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार धरौटी बुझाएर छुटेका हुन् ।

खगेन्द्रविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय (ईलेक्ट्रिक) कारोबार सम्बन्धी कसुरको मुद्दा पनि विचाराधीन छ । मनिषा गौतमले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई मुद्दा चलाएको थियो । काभ्रे जिल्ला अदालतबाट जारी भएको ७ दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन २०८२ साउन ५ मा अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो । २०८२ कात्तिक १३ मा खगेन्द्रले काभ्रे जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका थिए ।अदालतमा तारेख धाइरहेका छन।




२०८३ असोज २७ १४:१० बजे

प्रतिक्रिया