चीनको दक्षिणपश्चिमी युन्नान प्रान्तस्थित नुजियाङ लिसु स्वायत्त प्रिफेक्चरका एक समर्पित न्यायाधीशले दशकभन्दा बढी समय अदालतलाई गाउँ–बस्ती र खेतबारीसम्म पुर्याएर दुर्गम जातीय समुदायका नागरिकलाई प्रत्यक्ष रूपमा न्याय सेवा उपलब्ध गराएका छन् ।
हाल नुजियाङ मध्यवर्ती जनअदालतको आदेश कार्यान्वयन महाशाखाका निर्देशक तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यसमेत रहेका देङ सिङले ‘सर्किट ट्रायल’ र स्थानीयस्तरको मेलमिलाप प्रणालीको सुरुआत गरेका थिए। यसले अग्ला पहाड र गहिरा खोँचका कारण लामो समय अलग–थलग परेका गाउँहरूमा न्यायिक सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
तल्लो तहका न्यायाधीशका रूपमा काम गर्दा देङ राष्ट्रिय प्रतीक बोकेर नुजियाङ नदीमाथिका झोलुङ्गे पुल तर्दै गाउँ–गाउँ पुगेका तस्बिरले व्यापक चर्चा पाएको थियो।त्यसबेला दुर्गम भूगोलका कारण यातायात निकै कठिन थियो। स्थानीयसम्म पुग्न त्यसबेला घण्टौँ पैदल हिँड्नुपर्ने, पहाडी बाटो पार गर्नुपर्ने र जोखिमपूर्ण भीर, पाखा चढ्नुपर्ने अवस्था सामान्य थियो।
पहाडी बाटो हिँड्नु, नदीमा जोखिमपूर्ण तुइन तर्नु र ठाडो उकालो चढ्नु हाम्रो दैनिक कामजस्तै थियो। हामीले करिब ७० प्रतिशतभन्दा बढी मुद्दाको सुनुवाइ सर्किट ट्रायलमार्फत गरेका थियौँ,’ देङले भने।
उनका अनुसार अदालतलाई गाउँमै पुर्याउँदा न्यायाधीश र स्थानीयबीच विश्वास बढ्नुका साथै विवाद समाधान पनि प्रभावकारी बनेको थियो। ‘नागरिकले चाहने भनेको एउटै हो—न्यायाधीशले घटनाको वास्तविकता पत्ता लगाएर कानुनअनुसार निष्पक्ष फैसला गरून्,’ उनले भने।
लिसु जातिका देङ स्थानीय भाषामा पनि दक्ष थिए। त्यसैले माण्डारिन भाषा बोल्न नसक्ने धेरै वृद्धवृद्धासँग पनि सहज रूपमा संवाद गर्थे । पछि जिल्ला अदालतको नेतृत्व सम्हाल्दा पनि उनले युवा न्यायाधीशलाई कार्यालयमा सीमित नरही गाउँ–गाउँ पुगेर नागरिकका समस्या सुन्न प्रेरित गरे।
एक मुद्दाका वादी चाओ चिगाङले भने, ‘म यो निर्णयबाट निकै सन्तुष्ट छु। प्रतिवादी पनि खुसी छन्।’ देङको कार्यशैलीले नयाँ पुस्ताका न्यायाधीशमा समेत गहिरो प्रभाव पारेको छ।
लानपिङ काउन्टी जनअदालतअन्तर्गत यिङपान न्यायाधिकरणका प्रमुख न्यायाधीश वाङ वुसेङले भने, ‘उहाँले हामीलाई सधैँ सिकाउनुहुन्थ्यो—यदि कुनै समस्या अदालतबाट मात्रै समाधान हुन सक्दैन भने पार्टी समिति र सरकारलाई जानकारी गराएर नागरिकका व्यवहारिक समस्या समाधान गर्नुपर्छ। लागू गर्नै नसकिने फैसला दिएर छाड्नु हुँदैन।’
ग्रामीण पुनर्जीवन कार्यक्रमसँगै नुजियाङ क्षेत्रमा सडक र पुल निर्माण भएपछि अदालतसम्म पुग्न सहज भएको छ। तर दुर्गम बस्तीमा ‘सर्किट ट्रायल’ अझै पनि न्याय सेवा प्रवाहको प्रभावकारी माध्यम बनेको छ।
देङले सुरु गरेको ‘बोनफायर कोर्ट’ (आगो ताप्दै सञ्चालन गरिने इजलास) स्थानीयबीच विशेष लोकप्रिय छ। ‘यसको उद्देश्य न्यानो र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नु हो। विशेषगरी जाडो मौसममा आगो ताप्दै बसेर खुलेर कुरा गर्न सकियो भने आधा विवाद त्यत्तिकै समाधान हुन्छ। यदि म आफैँ मुद्दाको वादी हुन्थेँ भने न्यायाधीश र अदालतले मसँग कस्तो व्यवहार गरून् भन्ने अपेक्षा राख्थेँ ? यही सोच सबैभन्दा महत्वपूर्ण हो,’ उनले भने।
यिङपान टाउनशिपका पार्टी सचिव वु थियानलिङका अनुसार सर्किट अदालतले व्यक्तिगत विवाद समाधान मात्रै गरेको छैन, स्थानीय आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक कानुनी आधार पनि सुदृढ बनाएको छ।आज देङ पहिलेझैँ नदी तर्दै गाउँ–गाउँ पुग्ने युवा न्यायाधीश छैनन्। तर उनले सुरु गरेको यात्रालाई नयाँ पुस्ताका न्यायिक कर्मचारीले निरन्तरता दिइरहेका छन्।
लानपिङ काउन्टी जनअदालतकी उपाध्यक्ष हे सियाओफाङ भन्छिन्, ‘उहाँले सधैँ भन्नुहुन्छ—कम्युनिष्ट पार्टीको सदस्यले अग्रसर भएर उदाहरण प्रस्तुत गर्नुपर्छ। म पार्टी सदस्य होइन, तर उहाँको जिम्मेवारीबोध र समर्पणले हामीलाई सधैँ प्रेरणा दिएको छ।’
हाल देङ प्रिफेक्चरस्तरीय मध्यवर्ती जनअदालतमा नयाँ जिम्मेवारीमा छन्। तर उनको उद्देश्य भने उही छ।‘म जुनसुकै पदमा रहे पनि जनताको सेवा गर्ने मेरो दायित्व कहिल्यै बदलिएको छैन। न्यायिक अधिकारको प्रयोगमार्फत सबै जातीय समुदायका नागरिकले न्याय र निष्पक्षता आफ्नै वरिपरि महसुस गर्न सकून् भन्ने हाम्रो प्रयास रहनेछ,’ उनले भने।
देङको उक्त कथा चीनको सरकारी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीजीटीएनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०५औँ वार्षिकोत्सवका अवसरमा तयार पारेको विशेष शृंखलाको एक हिस्सा हो । स्रोतः सिसिटिभी प्लस ।
प्रतिक्रिया