डा. सन्दुक रुइतको मेडिकल मिसनका नाममा उत्तर कोरियाभित्र अमेरिकाका लागी जासुसी गरेको आरोप

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख ७ ११:४१ बजे

काठमाडौं (विशेष रिपोर्ट) बाहिरबाट हेर्दा यो विशुद्ध एउटा पवित्र मेडिकल मिसन थियो, जसको उद्देश्य अन्धकारमा बाँचिरहेका मानिसहरूलाई उज्यालो दिनु थियो। तर भित्रभित्रै, यो विश्वकै सबैभन्दा खतरनाक  देश उत्तर कोरियाको मुटुमा गरिएको एउटा अत्यन्तै जोखिमपूर्ण अन्डरकभर अपरेसनु थियो।

सन् २००६ मा नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत एक हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न प्योङयाङ पुगेका थिए। तर, यो पवित्र मानवीय मिसनलाई अमेरिकी मिडियाले उत्तर कोरियाको अभेद्य पर्खाल भत्काउने र त्यहाँको भित्री रहस्य बाहिर ल्याउने अचूक ढालको रूपमा प्रयोग गरेको एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ।

काठमाडौंबाटै रचिएको थियो खतरनाक योजना-

उत्तर कोरिया यस्तो देश हो जहाँ अमेरिकी पत्रकारहरूलाई प्रवेश मात्र होइन, उनीहरूको नाम सुन्न पनि निषेध छ। तर, नेसनल जिओग्राफिककी प्रसिद्ध अमेरिकी पत्रकार लिसा लिङ् र उनका क्यामेराम्यान ब्रायनले त्यही प्रतिबन्ध तोड्ने खतरनाक खेल खेले। उनीहरूले आफूलाई पत्रकार नभई डा. रुइतको मेडिकल टिमको सदस्य र मेडिकल विद्यार्थीको भेषमा प्रस्तुत गरे।

काठमाडौंको एक गोप्य होटेलको कोठामा रचिएको थियो त्यो डरलाग्दो योजना। उत्तर कोरियाली अधिकारीहरूको कडा स्क्यानिङ छल्न उनीहरूले आफ्ना क्यामेराहरूलाई तन्ना र मेडिकल उपकरणको बाकसभित्र लुकाएका थिए। यो मृत्युसँगको प्रत्यक्ष खेल थियो ।

किमसत्ताको आँखा छल्दै (अन्डरकभर) अपरेसन

प्योङयाङ पुग्नेबित्तिकै उनीहरूको पासपोर्ट र मोबाइल जफत गरियो। हरेक पाइलामा निगरानी राख्न ८ जना उत्तर कोरियाली जासुसहरू खटाइएको थियो। तर, अमेरिकी टोलीले उनीहरूकै नाकमुनिबाट जासुसी शैलीमा रिपोर्टिङ गर्‍यो।

एकातिर डा. सन्दुक रुइत अपरेसन थिएटरमा बिरामीहरूको आँखामा ज्योति भर्दै थिए, अर्कोतिर अमेरिकी पत्रकार लिसा लिङ् मेडिकल रेकर्डिङको बहानामा उत्तर कोरियाको भोक, गरिबी, कुपोषणले ग्रस्त बालबालिका  सत्ताको खोक्रोपनलाई गोप्य क्यामेरामा कैद गर्दै थिइन्। डा. रुइतको सेवाभाव उनीहरूको लागि संसारकै सबैभन्दा सुरक्षित प्रवेशद्वार बनेको थियो।

पोल खुलेको भए के हुन्थ्यो? सिधै मृत्युदण्ड वा कठोर श्रम शिविर

यदि उत्तर कोरियाली सुराकीहरूले लिसा लिङ् एक अमेरिकी पत्रकार हुन् भन्ने चाल पाएको भए के हुन्थ्यो? यो प्रश्नले मात्र पनि आङ सिरिङ्ग हुन्छ। लिसा आफैंले डकुमेन्ट्रीमा स्वीकार गरेकी छन् कि उनी त्यतिबेला निकै सीधै थिइन् र कसैले गुगल गर्दैन भन्ने सोचेकी थिइन्। यदि उनीहरूको सक्कली पहिचान खुलेको भए डा. रुइतसहित सम्पूर्ण टोलीले उत्तर कोरियाको क्रूर जेलमा जीवन बिताउनुपर्ने हुन सक्थ्यो वा उनीहरूलाई सिधै मृत्युदण्डको सजाय दिइन्थ्यो।

डा. सन्दुक रुइतको उद्देश्य नितान्त पवित्र थियो—मानिसलाई दृष्टि दिनु। उनी राजनीतिभन्दा धेरै माथि थिए। तर, यो घटनाले देखाउँछ कि कसरी पश्चिमा मिडियाले एउटा डाक्टरको निस्वार्थ सेवा र मानवीय मिसनलाई आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिक हतियार बनाए। सन्दुक रुइत उत्तर कोरियाका लागि भगवान बनेर गएका थिए, तर उनीसँगै गएको टोलीले भने विश्वसामु उत्तर कोरियाको पर्दाफास गर्ने जासुसी मिसन फत्ते गरेरै छाड्यो।हिमाल पत्रिकावाट


२०८३ वैशाख ७ ११:४१ बजे

प्रतिक्रिया