अराजकता साझा समस्या
रास्वपाको उदय र विकासमा विदेशी शक्ति केन्द्रको स्वार्थ जोडिएको विश्लेषण भइरहेको छ । मुख्य गरेर SPP संझौता गराउन र एक चिन निति विरुद्ध काम गर्न रास्वपा गठन गरिएको गम्भीर आरोप छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई (CIA) ले कब्जा गरेर घरमा भएका परिवारलाई घन्टीमा भोट राख्न लगायो भनेर भनेका थिएँ । त्यसको स्तर अनुसार चौतर्फी विरोध भएको देखिन्छ । यस विषयमा अराजनीतिक तत्वहरुले गालीको बर्षा नै गराएका छन् । एक समय यस्तो थियो केपी ओलीको विषयमा केही बोल्यो भने एमाले समर्थकहरुले गालीको वर्षा गराउने गर्दथे । उनीहरूलाई साइवर स्यालको संज्ञा दिइएको थियोे । अहिले त्यो रोग रास्वपामा सरेको देखिन्छ । राजनीतिक विषयलाई राजनीतिक रुपमा खन्डन गर्न सकिन्छ , राजनीतिक विषयलाई गाली गलौज गरेर कस्तो संस्कारको विकास गर्न खोजिएको छ ? प्रश्न गम्भीर छ । हजुरबुबाको पार्टी , बुबाको पार्टी , आमाको पार्टी भनेर भन्ने नयाँ पुस्ताले एकाएक हजुरबुबा , हजुरआमा , बुबाआमालाई कसरी घन्टीमा भोट राख्न दबाब दिए ? विषय सतही प्रकारको छैन । माक्र्सवादी दृष्टिले हरेक चिजको विकास र विनाशमा आन्तरिक पक्ष प्रधान हुन्छ भन्दछ । संसदवादी दलहरु कांग्रेस , एमाले , नेपाली कम्युनिस्ट पार्टी लगायतको हारमा उनीहरूले अपनाउँदै आएको गलत क्रियाकलाप , गलत कार्यशैली , गलत राजनीति र व्यवहार प्रमुख कारण हो । उनीहरूले अपनाउँदै आएको गलत कार्यशैलीका कारण जनतामा उत्पन्न व्यापक असन्तुष्टिलाई सुचना संचार प्रविधिको प्रयोग गरेर जनताको मानसिकता कब्जा गरिएको थियो र छ , त्यो सहायक कारण हो । कतिपयले (CIA) ले कब्जा गर्यो भन्दा भौतिक रुपमा मात्रै कब्जा हुन्छ भनेर बुझेको देखिन्छ । भौतिक रुपमा गरिने कब्जा भन्दा मानसिक रुपमा गरिने कब्जा खतरनाक हुन्छ । निर्वाचन आयोगले रास्वपाको उम्मेदवार नै खारेज गरेको निर्वाचन क्षेत्रमा समेत सबैभन्दा धेरै भोट घन्टीमा आएको दृष्टान्तले यो कुरालाई प्रमाणित गर्दछ । मोबाइल सेवा उपलब्ध नभएका पहाडी क्षेत्रमा रास्वपाको मत तुलनात्मक रुपमा कम आउनुका पछाडिको कारण पनि त्यही हो ।
रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई प्रशिक्षण दिने क्रममा रास्वपा कार्यकर्ता तथा समर्थकहरुलाई गालीगलौज नगर्न सुझाएका थिए । अराजकताले कब्जा गरेको मानसिकता यति सजिलोसँग परिवर्तन हुदैन । ढिलो वा चाडै रास्वपा विरुद्ध खनिने देखिन्छ । अराजकता साझा समस्या हो । कसैलाई छोड्नेवाला छैन । रास्वपाको खन्डन गर्ने पत्रकार , कलाकार ज्योति मगर , खुइली , विश्लेषक , नेता कार्यकर्ता सबै रास्वपाका अराजक कार्यकर्ताको शिकार भएको देखिन्छ । नेपाली साहित्यमा एउटा स्लोक छ कसैको लोकमा छैन एकैनास समुन्नति , अरुको के कुरा हेर सन्ध्यामा सुर्यको गति परिस्थिति सधै एउटै हुदैन । प्रसंसाले गतल बाटोमा लैजान सक्दछ , आलोचनाले गलत बाटोमा जानबाट रोक्दछ । राजनीतिमा आलोचना सहने बानीको विकास गर्न पर्दछ।
राजनीतिमा मुख्यकुरा दर्शन , सिद्धान्त , निति , कार्यक्रम हुन्छ । रास्वपाको निति , सिद्धान्त , दर्शन , कार्यक्रम के हो ? प्रष्ट छैन । घन्टी बजाएको भरमा जनताले दुईतीहाइ नजिक हुनेगरी भोट दिएका छन् । घन्टी बजाएको भरमा जनताको अपेक्षा उच्च देखिन्छ । जनताका अपेक्षा कसरी पूरा हुन्छ ? नेपालले अपनाउदै आएको अर्थ नितिमा परिवर्तन हुन्छ वा हुन्न ? असंलग्न परराष्ट नितिको निरन्तरता वा परिवर्तन ? अपनाउँदै आएको एक चीन नितिमा निरन्तरता वा परिवर्तन ? भारतीय र चिनियाँ पक्षबाट हुने हस्तक्षेपको समर्थन वा बिरोध ? कार्यान्वयनमा निरन्तरता वा खारेज ? ssp सम्बन्धि धारणा के ? भ्रष्टाचार नियन्त्रण वा निरन्तरता ? कैयन महत्त्वपूर्ण पक्ष र सवाल रास्वपा अगाडि तेर्साीएर बसेका छन् । यसलाई रास्वपा सरकारले कसरी हल गर्दछ हेर्न बाँकी छ । हामीले रास्वपा सरकारले गर्ने जनपक्षीय कामको समर्थन र जनविरोधी कार्यको तिब्र विरोध गर्नु पर्दछ। कांग्रेस , एमाले लगायतका कार्यकर्ताले विगतमा पार्टीले जेजस्तो गरेपनि समर्थन गर्ने प्रवृत्तिलाई निरन्तरता दिन हुदैन ।
रास्वपा पार्टी बन्ने प्रक्रियामा छ । रास्वपाले अहिलेसम्म महाधिवेशन गरेको छैन । राजनीतिक सैद्धान्तिक रुपले पार्टी भित्र व्यापक छलफल चलेको छैन । महाधिवेशन कहिले हुन्छ र महाधिवेशनमा के हुन्छ ? अनुमान लगाउन हतार नगरौं । रास्वपाको विधान र राजनीतिक निर्णयमा रास्वपाको केन्द्रीय समितिमा समेत छलफल चलेको देखिन्न । निश्चित व्यक्तिलाई शक्तिशाली बनाएको देखिन्छ । पार्टीको केन्द्रीय सदस्य पार्टीले के निर्णय गर्छ ? कुरेर बस्नुपर्ने अवस्था छ । नेतृत्वले गरेको निर्णय ठिक भएन भन्ने अधिकार केन्द्रीय सदस्यलाई छैन । यसरी पार्टीलाई निश्चित ब्यक्तिको प्रालि बनाउन भइरहेको प्रयत्न रास्वपा कार्यकर्ताले पत्तो पाउन पर्दछ। विधानमा व्यापक जनवादको उल्लेख गरिएको थियो । वालेनलाई प्रधानमन्त्री बनाउन विधानलाई कसरी संशोधन गरिदैछ रु रास्वपा नेता कार्यकर्ताले ध्यान पुर्याउन पर्दछ । केपी वलीलाई विधान संशोधन गरेर आफै अध्यक्ष भएको आरोप लगाएका थियौँ । निर्वाचनमा उम्मेदवार बन्ने सम्पुर्ण प्रक्रिया बालेन संगको एकताले ध्वस्त पारेको थियो । उम्मेदवार बन्न आर्थिक चलखेल भएको भनेर आएका समाचार सत्य हुन वा असत्य पार्टी भित्र छानवीन हुन्छ वा हुन्न ? कार्यकर्ताले प्रश्न उठाउन पर्दछ ।
रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी , संगठित अपराध लगायतका मुद्दा खेपिरहेका छन् । उनी भ्रष्ट हुन् वा होइनन् अदालतले फैसला गर्ने कुरा हो । यो संविधान तथा व्यवस्था मान्ने पार्टीले अदालतलाई मान्न पर्दछ । रवि लामिछाने विरुद्ध फैसला भयो भने पुर्वाग्रह भयो भन्नु अर्को भ्रष्टाचार हुनेछ । भारतमा आम आदमीका नेता केजरीवाल लगायतका व्यक्तिले भ्रष्टाचारको मुद्दामा धेरै बर्षपछि सफाइ पाएका छन् । उनीहरुले आफुले भ्रष्टाचार नगरेको भनेर हस्ताक्षर अभियान कहिल्यै चलाएनन् , अदालती प्रक्रिया मात्रै पूरा गरेका थिए ।आशा गरौं रविलाई अदालतले सफाइ दिनेछ । यदि दोषी प्रमाणित गर्यो भने अस्विकार गर्ने कष्ट उठाउन जरुरी छैन ।
रास्वपालाई जनताले भारी मतकासाथ विजय गराएका छन् । सिक्किममा जनताले मत दिएर नै सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त भएको थियोे । युक्रेनका जनताले एक कलाकारलाई मत दिएर जिताएका कारण युक्रेन अस्तव्यस्त भएको छ । रास्वपाको उदय र विकासमा विदेशी शक्ति केन्द्रको स्वार्थ जोडिएको विश्लेषण भइरहेको छ । मुख्य गरेर SPP संझौता गराउन र एक चिन निति विरुद्ध काम गर्न रास्वपा गठन गरिएको गम्भीर आरोप छ । यो आरोपको खन्डन व्यवहारले गर्नु पर्दछ । यदि भइरहेको विश्लेषण अनुसार रास्वपा अगाडि बढ्न खोजेमा रास्वपा कार्यकर्ता तथा समर्थक त्यसको विरुद्धमा उत्रनु पर्दछ ।
प्रतिक्रिया