नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) को प्रेस वक्तव्यमा प्रस्तुत वैचारिक मान्यताहरूको समीक्षा

कम्युनिष्ट पार्टीको क्रान्तिकारी चरित्र उसको वैचारिक मान्यता, वर्गीय दृष्टिकोण, राजनीतिक कार्यक्रम, संगठनात्मक अभ्यास संम्बन्धित पार्टीको व्यवहारिक संघर्षबाट प्रमाणित हुन्छ।

bimbonline लक्ष्मण उप्रेती
२०८३ मंसिर ११ १९:३१ बजे

कम्युनिष्ट आन्दोलनमा पार्टीको नाम, संगठनात्मक संरचना र नेतृत्व प्रणाली परिवर्तन हुँदैमा क्रान्तिकारी विचारको विकास र राजनीतिक कार्यदिशाको स्पष्टता स्वतः स्थापित हुँदैन भन्ने कुरा इतिहासले देखाएको छ। कम्युनिष्ट पार्टीको क्रान्तिकारी चरित्र उसको वैचारिक मान्यता, वर्गीय दृष्टिकोण, राजनीतिक कार्यक्रम, संगठनात्मक अभ्यास संम्बन्धित पार्टीको व्यवहारिक संघर्षबाट प्रमाणित हुन्छ। त्यसैले कुनै पार्टीले प्रस्तुत गरेका राजनीतिक तथा सैद्धान्तिक मान्यताको मूल्याङ्कन गर्दा त्यसलाई मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारारवादको वैज्ञानिक कसौटीमा परीक्षण गर्नुपर्छ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (जनपक्ष) बीचको एकतापछि पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) का तर्फबाट केन्द्रीय कार्यालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले २०८२ मंसिर १० गते जारी गरेको प्रेस वक्तव्य गम्भीर वैचारिक बहसको विषय बनेको छ। उक्त वक्तव्यमा पार्टी एकता, संगठनात्मक संरचना र सामूहिक नेतृत्व प्रणालीदेखि नेपालको दलाल पुँजीवादी सत्ता, नयाँ जनविद्रोह, अन्तर्राष्ट्रिय अन्तर्विरोध, जेनजी आन्दोलन र समाजवादउन्मुख संविधानसम्मका विषय उठाइएका छन्। वक्तव्यमा प्रस्तुत यी विषयहरू कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण सैद्धान्तिक तथा राजनीतिक प्रश्न हुन्। तर तिनको व्याख्या र निष्कर्षमा कतिपय सैद्धान्तिक अस्पष्टता, ऐतिहासिक तथ्यको सरलीकरण र ठोस परिस्थितिको विश्लेषणमा अपर्याप्तता देखिन्छ। त्यसैले यस वक्तव्यलाई भावनात्मक समर्थन वा विरोधका आधारमा होइन, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट वस्तुगत रूपमा परीक्षण गर्नु आवश्यक छ।
वक्तव्यको प्रारम्भिक विषय पार्टी एकता र संगठनात्मक पुनर्गठनसँग सम्बन्धित छ। यसमा पार्टीभित्र लामो समयदेखि चल्दै आएको पदकेन्द्रित र अधिकारकेन्द्रित नेतृत्व प्रणाली अन्त्य गरी विचारकेन्द्रित सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरिएको दाबी गरिएको छ। महासचिव वा अध्यक्ष जस्ता प्रमुख पद नराख्ने र महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति, पोलिटब्युरो, संगठन ब्युरो तथा केन्द्रीय कार्यालयमार्फत पार्टी सञ्चालन गर्ने व्यवस्था प्रस्तुत गरिएको छ। सामूहिक नेतृत्वको अवधारणा आफैँमा सकारात्मक र लेनिनवादी संगठनात्मक सिद्धान्तसँग सम्बन्धित विषय हो। तर यहाँ एउटा आधारभूत प्रश्न उठ्छ,के महासचिव वा अध्यक्ष पद हटाउँदैमा पार्टी स्वतः सामूहिक नेतृत्व प्रणालीमा रूपान्तरण हुन्छ?
मार्क्सवाद–लेनिनवादले संगठनात्मक प्रश्नलाई पदसँग मात्र जोड्दैन। नेतृत्वको वर्गीय चरित्र, निर्णय प्रक्रिया, कार्यविभाजन, अनुशासन, जिम्मेवारी र जवाफदेहितासँग जोडछ। सामूहिक नेतृत्व भनेको सबैको समान जिम्मेवारी तर कसैको पनि निश्चित जिम्मेवारी नहुने अवस्था होइन। सामूहिक निर्णयसँगै व्यक्तिगत कार्यको जिम्मेवारी र जवाफदेहिता पनि आवश्यक हुन्छ। त्यसैगरी जनवादी केन्द्रीयता भनेको जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक एकता हो। जनवादविहीन केन्द्रीयता नोकरशाही र आदेशमुखी बन्न सक्छ भने केन्द्रीयताविहीन जनवाद अराजकता र संगठनात्मक विखण्डनमा परिणत हुन सक्छ।त्यसैले नेतृत्वको प्रमुख पद हटाउनु एउटा संगठनात्मक विकल्प हुन सक्छ, तर त्यसलाई नै क्रान्तिकारी संगठनको उच्चतम रूप भन्न मिल्दैन। वास्तविक सामूहिक नेतृत्वको प्रमाण निर्णय प्रक्रियामा सामूहिक सहभागिता, अल्पमतको मतको सम्मान, बहुमतको निर्णय कार्यान्वयन, नियमित समीक्षा र नेतृत्वको जवाफदेहितामा देखिनुपर्छ। वक्तव्यले पदकेन्द्रित प्रणाली अन्त्य गरिएको दाबी गरे पनि पुरानो प्रणालीका कमजोरी के थिए र नयाँ प्रणालीले तिनको समाधान कसरी गर्छ भन्ने विषयमा पर्याप्त व्याख्या गरेको छैन।
यसै प्रसङ्गमा वक्तव्यले मार्क्स, एंगेल्स र लेनिनको पार्टी सञ्चालन प्रणालीसम्बन्धी ऐतिहासिक व्याख्या पनि प्रस्तुत गरेको छ। मार्क्स, एंगेल्स र लेनिनले विचारकेन्द्रित सामूहिक नेतृत्व प्रणाली अपनाएको तथा सन् १९२२ मा सोभियत कम्युनिष्ट पार्टीको एघारौँ महाधिवेशनपछि महासचिव पद सिर्जना गरी पदकेन्द्रित नेतृत्व प्रणाली सुरु भएको उल्लेख गरिएको छ। यस व्याख्यामा ऐतिहासिक सरलीकरण देखिन्छ। मार्क्स र एंगेल्सको समयका कम्युनिष्ट संगठनको संरचना तथा लेनिनको नेतृत्वमा विकसित बोल्सेभिक पार्टीको संरचना ऐतिहासिक परिस्थितिअनुसार फरक थिए। उनीहरूको संगठनात्मक अभ्यासलाई एउटै ढाँचामा राखेर व्याख्या गर्नु सहि हुदैन।लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले केन्द्रीय समिति, पोलिटब्युरो र अन्य निकायमार्फत सामूहिक निर्णय तथा केन्द्रीय नेतृत्वको अभ्यास विकसित गरेको थियो। महासचिव पद सन् १९२२ मा स्थापना भएको तथ्य सही भए पनि त्यसै वर्षबाट मात्र केन्द्रीकृत नेतृत्व प्रणाली सुरु भएको निष्कर्ष ऐतिहासिक रूपमा सही हुँदैन। बोल्सेभिक पार्टीमा संगठनात्मक केन्द्रीयता र अनुशासनको अभ्यास महासचिव पद सिर्जना हुनुभन्दा धेरै अघिदेखि थियो। त्यसैले संगठनात्मक समस्याको कारण पदको अस्तित्वमा मात्र खोज्नु ऐतिहासिक भौतिकवादी विश्लेषण होइन।स्टालिनको नेतृत्वकालमा देखिएका नोकरशाही केन्द्रीकरण र व्यक्तिपूजाका समस्यालाई पनि महासचिव पदसँग मात्र जोडेर व्याख्या गर्नु सहि हुदैन। त्यसका पछाडि क्रान्तिपछिको आर्थिक अवस्था, गृहयुद्ध, अन्तर्राष्ट्रिय एक्लोपन, राज्य संयन्त्रको विकास र पार्टीभित्रको शक्ति सम्बन्धजस्ता अनेक कारण थिए। अतः व्यक्तिकेन्द्रित नेतृत्वको आलोचना आवश्यक छ, तर त्यसको समाधान पद हटाउनु मात्र होइन। वास्तविक समाधान जनवादी केन्द्रीयता, सामूहिक निर्णय, आलोचना–आत्मालोचना र संगठनात्मक जवाफदेहिताको विकास हो।
वक्तव्यको अर्को महत्त्वपूर्ण विषय नेपालको वर्तमान सत्ताको वर्गीय चरित्रसँग सम्बन्धित छ। यसमा नेपालको वर्तमान सत्तालाई दलाल पुँजीवादी सत्ता भनिएको छ र वैदेशिक वित्तीय पुँजी, दलाल पुँजीपति, नोकरशाही पुँजीपति तथा राष्ट्रिय सम्पत्ति दोहन गर्ने वर्गलाई नेपाली जनताको प्रमुख दुश्मनका रूपमा चित्रण गरिएको छ। नेपालको अर्थतन्त्रमा वैदेशिक पुँजीको प्रभाव, आयातमुखी व्यापार, वित्तीय निर्भरता, बिचौलिया अर्थतन्त्र र राज्यसत्तासँग गाँसिएको पुँजीको भूमिका महत्त्वपूर्ण छ। यस अर्थमा दलाल पुँजीवादको आलोचना सान्दर्भिक छ। तर दलाल पुँजीवादको नाम उल्लेख गर्नु र त्यसको वर्गीय तथा आर्थिक संरचनाको वैज्ञानिक विश्लेषण गर्नु एउटै होइन फरक कुरा हो।नेपालको वर्गीय संरचना बुझ्न कृषि उत्पादन सम्बन्ध, भूमिस्वामित्व, औद्योगिक पुँजी, व्यापारिक पुँजी, वैदेशिक वित्तीय पुँजी, नोकरशाही पुँजी र राष्ट्रिय पुँजीपति वर्गको वास्तविक चरित्र अध्ययन गर्नुपर्छ। यी सबै वर्गीय शक्तिलाई एउटै स्वरूपमा बुझ्नु गल्ती हुन्छ। राष्ट्रिय उत्पादनमा संलग्न पुँजी, आयात व्यापारमा आधारित दलाल पुँजी र राज्यसत्तासँग गाँसिएको नोकरशाही पुँजीका आर्थिक स्वार्थ र राजनीतिक चरित्र फरक हुन्छन्।माओत्सेतुङले नयाँ जनवादी क्रान्तिको विश्लेषण गर्दा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादको अन्तर्विरोधलाई महत्त्व दिएका थिए। उनले राष्ट्रिय पुँजीपति वर्गको द्वैध चरित्र र विभिन्न वर्गबीचको सम्बन्धसमेत विश्लेषण गरेका थिए। त्यसैले नेपालको क्रान्तिमा कुन वर्ग मित्र शक्ति हो, कुन वर्ग शत्रु शक्ति हो र कुन वर्गको चरित्र द्वैध छ भन्ने कुरा ठोस वर्गीय विश्लेषणबाट निर्धारण हुनुपर्छ। दलाल पुँजीवादको विरोध गर्नु मात्र पर्याप्त हुँदैनस त्यसलाई जन्माउने र निरन्तरता दिने उत्पादन सम्बन्धको पनि विश्लेषण आवश्यक हुन्छ।
यससँग प्रत्यक्ष सम्बन्धित अर्को प्रश्न मजदुर वर्ग र उत्पीडित जनताको वर्गीय भूमिकाको हो। वक्तव्यमा नेपालको दलाल पुँजीवादी सत्ता र देशका श्रमजीवी अर्थात् आधुनिक सर्वहारा तथा उत्पीडित जनताबीच प्रधान अन्तर्विरोध रहेको उल्लेख गरिएको छ। यसको समाधान नयाँ जनविद्रोहबाट हुने दाबी पनि गरिएको छ। मजदुर वर्गको नेतृत्वदायी भूमिका स्वीकार गर्नु सकारात्मक पक्ष हो। तर नेपाली उत्पीडित एवं सर्वहारा वर्गको वर्तमान अवस्था र त्यसको राजनीतिक तथा संगठनात्मक शक्तिबारे थप ठोस विश्लेषण आवश्यक छ।
नेपालको मजदुर वर्ग परम्परागत उद्योगमा काम गर्ने श्रमिकमा मात्र सीमित छैन। निर्माण, यातायात, कृषि, सेवा, घरेलु श्रम, असंगठित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमेत यसको व्यापक संरचनाभित्र पर्छन्। उनीहरूको उत्पादन सम्बन्ध, संगठनात्मक अवस्था र राजनीतिक चेतनाको स्तर फरक छ। त्यसैगरी किसान, भूमिहीन, गरिब किसान, श्रमिक महिला र अन्य उत्पीडित समुदायको वर्गीय अवस्थालाई समेत क्रान्तिको सामाजिक आधार निर्माणसँग जोड्नुपर्छ।माओत्सेतुङको नयाँ जनवादी क्रान्तिको सिद्धान्तले सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसान एकतालाई आधारभूत महत्त्व दिएको छ। अन्य उत्पीडित वर्ग तथा क्रान्तिकारी शक्तिसँगको संयुक्त मोर्चा पनि त्यसको महत्त्वपूर्ण पक्ष हो। यसकारण मजदुर वर्गको नेतृत्व भनेको मजदुर वर्गको सङ्ख्यात्मक उपस्थितिमा मात्र आधारित हुँदैन। वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यक्रम र संगठनात्मक क्षमतामार्फत सम्पूर्ण उत्पीडित वर्गको नेतृत्व गर्ने क्षमतामा आधारित हुन्छ। वक्तव्यमा मजदुर र उत्पीडित जनताको एकता उल्लेख भए पनि त्यसको वर्गीय आधार, संगठनात्मक स्वरूप र राजनीतिक कार्यक्रम स्पष्ट रूपमा प्रस्तुत गरिएको छैन।यही वर्गीय अन्तर्विरोधको समाधानका रूपमा वक्तव्यले नयाँ जनविद्रोहको कार्यदिशा प्रस्तुत गरेको छ। तर जनविद्रोहको घोषणा गर्नु र त्यसलाई सम्भव बनाउने वस्तुगत तथा आत्मगत परिस्थिति विश्लेषण गर्नु एउटै कुरा होइन। क्रान्ति कुनै आकस्मिक घटना वा घोषणाको परिणाम होइन। यो वस्तुगत परिस्थिति र आत्मगत क्रान्तिकारी शक्तिको द्वन्द्वात्मक विकासबाट उत्पन्न हुने ऐतिहासिक प्रक्रिया हो।
लेनिनले क्रान्तिकारी परिस्थितिको विश्लेषण गर्दा शासक वर्ग पुरानै तरिकाले शासन गर्न नसक्ने अवस्था, उत्पीडित जनताको जीवन संकटको तीव्रता र जनसमुदायको राजनीतिक सक्रियतालाई महत्त्व दिएका थिए। तर यस्तो परिस्थिति उत्पन्न हुँदैमा क्रान्ति स्वतः सम्पन्न हुँदैन। त्यसका लागि क्रान्तिकारी पार्टी, वर्गीय संगठन, राजनीतिक चेतना र नेतृत्वको क्षमता आवश्यक हुन्छ।वक्तव्यमा जनविद्रोहको घोषणा छ, तर त्यसलाई सम्भव बनाउने राजनीतिक तथा संगठनात्मक आधारको विश्लेषण छैन। नेपालको वर्तमान परिस्थितिमा मजदुर र किसान वर्गको वास्तविक शक्ति कस्तो छरु जनताको असन्तुष्टिलाई संगठित राजनीतिक शक्तिमा रूपान्तरण गर्ने आधार के होरु विद्यमान राज्यसत्ताको वर्गीय चरित्र र जनताको प्रतिरोध क्षमताको अवस्था के छरु जनसंघर्ष र क्रान्तिकारी रूपान्तरणबीचको सम्बन्ध कसरी स्थापित हुन्छरु यी प्रश्नको उत्तर आवश्यक छ।जनविद्रोह क्रान्तिको एउटा सम्भावित राजनीतिक रूप हो, तर क्रान्ति स्वयं लामो ऐतिहासिक, राजनीतिक र संगठनात्मक प्रक्रियाको परिणाम हो। त्यसैले क्रान्तिको कार्यदिशा कुनै पूर्वनिर्धारित सूत्रबाट होइन, ठोस परिस्थितिको वैज्ञानिक अध्ययनबाट निर्धारण हुनुपर्छ।
वक्तव्यमा नेपालको वर्गीय अन्तर्विरोधसँगै अन्तर्राष्ट्रिय परिस्थितिको पनि विश्लेषण गरिएको छ। अन्तरसाम्राज्यवादी अन्तर्विरोध, पुँजीवाद र सर्वहाराबीचको अन्तर्विरोध तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको अन्तर्विरोधलाई महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ। यी मार्क्सवादी विश्लेषणका महत्त्वपूर्ण पक्ष हुन्। तर साम्राज्यवादको विश्लेषण विदेशी शक्तिको हस्तक्षेप वा कुनै राष्ट्रमाथिको राजनीतिक दबाबमा सीमित हुँदैन।लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम अवस्था भन्दै वित्तीय पुँजीको एकाधिकार, पुँजी निर्यात, अन्तर्राष्ट्रिय एकाधिकारवादी संघहरूको विकास र विश्व बजारको पुनर्विभाजनसँग जोडेर व्याख्या गरेका थिए। यस अर्थमा साम्राज्यवाद विश्व पुँजीवादी उत्पादन सम्बन्धको संरचनागत परिणाम हो। नेपालको सन्दर्भमा वैदेशिक ऋण, व्यापार घाटा, वित्तीय निर्भरता, श्रमशक्तिको निर्यात, प्राकृतिक स्रोतको दोहन र राष्ट्रिय उत्पादनमाथिको बाह्य प्रभावको विश्लेषण आवश्यक छ। साम्राज्यवादविरोधी संघर्षलाई राष्ट्रिय अर्थतन्त्रको पुनर्गठन, उत्पादन शक्तिको विकास र राष्ट्रिय स्वाधीनतासँग जोड्नुपर्छ।
वक्तव्यमा रुस–युक्रेन युद्ध, अमेरिका–इरान युद्ध तथा अमेरिका र अन्य शक्तिबीचको व्यापार युद्धलाई अन्तर्राष्ट्रिय अन्तर्विरोधको सन्दर्भमा प्रस्तुत गरिएको छ। तर विभिन्न युद्धको ऐतिहासिक पृष्ठभूमि र वर्गीय चरित्र एउटै हुँदैन। प्रत्येक युद्धको आर्थिक स्वार्थ, भूराजनीतिक कारण र त्यसमा संलग्न शक्तिहरूको वास्तविक भूमिका छुट्टाछुट्टै अध्ययन गर्नुपर्छ। कुनै शक्तिलाई उसको नाम, इतिहास वा घोषणाका आधारमा स्वतः प्रगतिशील र अर्को शक्तिलाई स्वतः प्रतिक्रियावादी ठहर गर्नु द्वन्द्वात्मक भौतिकवादी पद्धति होइन।लेनिनको साम्राज्यवादसम्बन्धी शिक्षा यही हो कि सर्वहारा वर्गले साम्राज्यवादी शक्तिहरूको प्रतिस्पर्धामा कुनै एउटा शासक वर्गको पिछलग्गु बन्नु हुँदैन। अन्तर्राष्ट्रिय सर्वहारा एकताको आधार विश्वभरका श्रमजीवी जनताको वर्गीय हित र मुक्ति हो।यसै अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भमा वक्तव्यले युरोपलगायत विश्वका विभिन्न स्थानमा उठेका जेनजी आन्दोलनलाई पनि चर्चा गरेको छ। सन् १८७१ को पेरिस कम्युनदेखि सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिसम्मको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै वर्तमान विश्व परिस्थितिलाई समाजवादी क्रान्तिको नयाँ सम्भावनासँग जोडिएको छ। तर ऐतिहासिक घटनाहरूबीच समानता खोज्नु र तिनलाई एउटै ऐतिहासिक प्रक्रियाका रूपमा बुझ्नु फरक कुरा हो।पेरिस कम्युन सर्वहारा वर्गले राज्यसत्तामाथि आफ्नो राजनीतिक नियन्त्रण स्थापित गर्ने ऐतिहासिक प्रयास थियो। अक्टोबर क्रान्ति क्रान्तिकारी पार्टीको नेतृत्वमा विकसित भएको व्यापक वर्गसंघर्ष र राज्यसत्ता परिवर्तनको घटना थियो। जेनजी आन्दोलन भने फरक ऐतिहासिक, सामाजिक र राजनीतिक परिस्थितिमा विकसित भएको युवा आन्दोलन हो। यसमा भ्रष्टाचार, बेरोजगारी, राजनीतिक असन्तुष्टि र आर्थिक संकटविरुद्धको भावना अभिव्यक्त हुन सक्छ। तर यस्ता आन्दोलनलाई स्वतः समाजवादी क्रान्तिको चरणमा पुगेको निष्कर्ष निकाल्न मिल्दैन।
युवा असन्तुष्टि आफैँमा समाजवादी चेतना होइन। राज्यसत्ताप्रतिको असन्तुष्टि आफैँमा सर्वहारा सत्ताको कार्यक्रम होइन। यस्ता स्वतःस्फूर्त आन्दोलनलाई वैज्ञानिक राजनीतिक चेतना, वर्गीय दृष्टिकोण र क्रान्तिकारी कार्यक्रमसँग जोड्नु कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण दायित्व हो। त्यसैले वक्तव्यले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिको सम्भावनासँग जोड्दा त्यसको वास्तविक वर्गीय चरित्र र राजनीतिक नेतृत्वको प्रश्नमा थप स्पष्टता दिनुपर्थ्यो।वक्तव्यको अन्तिम महत्त्वपूर्ण विषय नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख व्यवस्थासँग सम्बन्धित छ। यसमा संविधानको भाग ३ मा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी मौलिक हक उल्लेख गर्दै ती क्षेत्रमा भइरहेको निजीकरण तथा व्यापारीकरणको आलोचना गरिएको छ। संविधानमा समाजवादउन्मुख व्यवस्था रहेकाले त्यसअनुसार संविधान लागू गर्न र व्यापक रोजगारी सिर्जना गर्न माग गरिएको छ।यसमा एउटा आधारभूत सैद्धान्तिक प्रश्न छ। संविधानमा समाजवादउन्मुख व्यवस्था उल्लेख हुनु र समाजवादी उत्पादन सम्बन्ध स्थापित हुनु एउटै कुरा होइन। मार्क्सवादअनुसार राज्यको वर्गीय चरित्र बुझ्न संविधानका शब्दहरू मात्र पर्याप्त हुँदैनन्। उत्पादनका साधनमाथिको स्वामित्व, उत्पादन सम्बन्ध, अतिरिक्त मूल्यको वितरण र राज्यसत्तामाथिको वास्तविक नियन्त्रणको अध्ययन गर्नुपर्छ।कुनै संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा स्वीकार गर्न सक्छ। तर ती अधिकार कार्यान्वयन गर्ने आर्थिक संरचना निजी पुँजी र नाफामुखी उत्पादन सम्बन्धमा आधारित रहन सक्छ। त्यसैले समाजवादउन्मुख संवैधानिक घोषणालाई समाजवादी राज्यसत्ता स्थापना भएको प्रमाण मान्न मिल्दैन।
वक्तव्यले वर्तमान संविधानलाई समाजवादउन्मुख बनाउने र लागू गर्ने माग गरेको छ। तर वर्तमान राज्यसत्ताको वर्गीय चरित्र परिवर्तन नगरी समाजवादी उत्पादन सम्बन्ध कसरी स्थापित हुन्छ भन्ने प्रश्नको उत्तर आवश्यक छ। संवैधानिक अधिकारको कार्यान्वयनका लागि संघर्ष गर्नु गलत होइन। तर त्यसलाई राज्यसत्ताको वर्गीय रूपान्तरण र उत्पादन सम्बन्धको परिवर्तनसँग जोड्नुपर्छ। वास्तविक समाजवादी रूपान्तरणका लागि उत्पादनका साधनमाथि सामाजिक स्वामित्वको विकास, योजनाबद्ध अर्थतन्त्र, श्रम शोषणको अन्त्य, कृषि तथा औद्योगिक उत्पादनको पुनर्गठन र श्रमिक जनताको राज्यसत्तामाथि वास्तविक नियन्त्रण आवश्यक हुन्छ।समग्रमा हेर्दा नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) का केन्द्रीय कार्यालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा जारी प्रेस वक्तव्यमा सामूहिक नेतृत्व प्रणाली, दलाल पुँजीवादविरोधी संघर्ष, नयाँ जनविद्रोह, साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय दृष्टिकोण र वैज्ञानिक समाजवादका विषय उठाइएका छन्। यी सबै कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण प्रश्न हुन्। तर तिनलाई प्रस्तुत गर्ने क्रममा केही ऐतिहासिक तथ्यको सरलीकृत व्याख्या, वर्गीय विश्लेषणको अपर्याप्तता, क्रान्तिको कार्यदिशासम्बन्धी अस्पष्टता र समाजवादी रूपान्तरणको आर्थिक आधारबारे कमजोरी देखिन्छ।
सामूहिक नेतृत्व प्रणालीको प्रश्नमा पदको अनुपस्थितिभन्दा जनवादी केन्द्रीयताको व्यवहारिक अभ्यास महत्त्वपूर्ण हुन्छ। दलाल पुँजीवादको प्रश्नमा त्यसको नामकरणभन्दा उत्पादन सम्बन्ध र वर्गीय संरचनाको ठोस विश्लेषण आवश्यक हुन्छ। नयाँ जनविद्रोहको प्रश्नमा घोषणाभन्दा वस्तुगत परिस्थिति र आत्मगत शक्तिको वैज्ञानिक मूल्याङ्कन आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय अन्तर्विरोधको प्रश्नमा कुनै शक्तिको पक्षधरता होइन, वर्गीय चरित्रको वस्तुवादी विश्लेषण आवश्यक हुन्छ। समाजवादको प्रश्नमा संवैधानिक घोषणाभन्दा राज्यसत्ता र उत्पादन सम्बन्धको वास्तविक रूपान्तरण निर्णायक हुन्छ।मार्क्सवाद कुनै तयार निष्कर्षहरूको सङ्ग्रह होइन। यो वस्तुगत यथार्थको अध्ययन, वर्गीय अन्तर्विरोधको पहिचान, वैज्ञानिक विश्लेषण र क्रान्तिकारी व्यवहारबाट विकसित हुने विज्ञान हो। त्यसैले मार्क्सवादको रक्षा गर्नु भनेको मार्क्सवादका नाममा प्रस्तुत हरेक निष्कर्षलाई समर्थन गर्नु होइनस मार्क्सवादकै वैज्ञानिक पद्धतिबाट गलत निष्कर्षको आलोचना र सही विचारको विकास गर्नु हो।नेपालको कम्युनिष्ट आन्दोलनमा आवश्यक बहस पनि यही हो। संगठनात्मक संरचनामा परिवर्तन, नेतृत्वको नयाँ व्यवस्था र पार्टी एकताको घोषणाले मात्र क्रान्तिकारी गुणस्तर स्थापित हुँदैन। त्यसका लागि वैचारिक स्पष्टता, ठोस वर्गीय विश्लेषण, वैज्ञानिक राजनीतिक कार्यदिशा र जनतासँग जोडिएको क्रान्तिकारी व्यवहार आवश्यक हुन्छ। 

२०८३ मंसिर ११ १९:३१ बजे

प्रतिक्रिया