दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफदिन सर्वोच्चको आदेश

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ७ १५:१५ बजे

काठमाडौं ।व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका  दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो। उनीहरुलाई मुद्दा चलाउन लागेको र थुनामा राख्नु गैर कानुनी भएको भन्दै परिवारका तर्फवाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो।

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७  वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।उक्त रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन्। 

उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन्।सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक  हतियारसहित पक्राउ परेका ती दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो। सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।



२०८० चैत्र ७ १५:१५ बजे

प्रतिक्रिया