धर्म र धार्मिक चेतना: एक ऐतिहासिक भौतिकवादी विवेचना

धर्म र धार्मिक चेतना: एक ऐतिहासिक भौतिकवादी विवेचना

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २१ ०९:४३ बजे
धर्म र धार्मिक चेतना

भाग-२

धर्म र धार्मिक चेतनाको सारतत्व:

धर्म भनेको केवल धार्मिक विचार र विश्वास मात्र होईन। धर्म भनेको धार्मिक भावनाहरु (दैनन्दिन मनोवैज्ञानिक सचेतनाको स्तर), देवी-देवताहरुको पूजा-अर्चना र धार्मिक अनुष्ठानहरुको कार्यसम्पादन

पनि हो। त्यसबाहेक हरेक विकसित धर्म शाखाहरु सहितको एक धार्मिक संस्था (गुम्बा, चर्च, मस्जिद, मन्दिर आदि) द्वारा नियन्त्रित हुन्छ। धार्मिक चेतनाले धर्मशास्त्र (Theology) को तहमा पुगेर आफ्नोउच्चतम् सैद्धानितिक स्तर हासिल गर्दछ, जुन ईश्वरको सत्व सम्बन्धि धार्मिक सिद्धान्तहरुको प्रणाली हो, जसलाई व्यबसायिक पूजारीहरु द्वारा सविस्तार ब्याख्या गरिन्छ, तर प्राय: ईश्वरीय/दैवीय सन्देश प्रति समर्पित गरिएको हुन्छ। त्यस प्रयोजनका लागि विभिन्न धार्मिक ग्रन्थ एवम् शास्त्रहरुको रचना गरिएका हुन्छन।

धर्मले केवल मानिस लगायत सम्पूर्ण संसार नै ईश्वर द्वारा श्रृजना गरिएको थियो भन्ने मात्र होईन कि बरु धार्मिक विश्वासहरु स्वयमलाई ईश्वर द्वारा मानिसको मन, मुटुमा आदिम काल देखिनै समाविष्ट गरिएको थियो भन्ने कुरो सिकाउंछ। तथापि विज्ञानले शङ्कारहित तरिकाले प्रमाणित गरिसकेकोछ कि इतिहासको बृहत्तर कालखण्डभर मानव जातिमा कुनैपनि धार्मिक विश्वास कायम थिएन किनभने उनीहरुले त्यसबेला सामान्यत: आवश्यक आर्थिक, सामाजिक अथवा आध्यात्मिक स्तर हासिल गरिसकेका थिएनन्।

धर्मले त्यसमा विश्वास गर्नेहरुको मनमाथि शासन गर्दछ र त्यसरी एक विशेष सामाजिक कार्यको सम्पादन गर्दछ। यसतो कार्य भनेको सबैभन्दा मुख्य कुरो धर्मको दार्शनिक कार्य हो जसले गर्दा धर्मलाई दर्शन संग सादृष्य तुल्याउंदछ। जबकि भौतिकवादी दर्शनले मान्छेलाई वैज्ञानिक तथ्याङ्क र मानिसहरुका अनुभवका आधारमा अगाडि बढ्नेक्रममा धर्म भनेको जगत बारेको अवैज्ञानिक एवम् विकृत दृष्टिकोण हो जसका निम्ति परालौकिक शक्तिहरु माथिको पूर्ण विश्वास जरुरत पर्दछ भन्ने सम्बन्धमा जगतको चित्रण र मान्छेको भूमिकालाई प्रस्तुत गर्दछ।

धर्मले परलोकमा जीवनको निरन्तरता प्राप्त हुने आशा देखाएर मानिसहरुको आसन्न मृत्यु प्रतिको प्राकृतिक भयमा मलमपट्टि लगाएर क्षतिपूर्ति गरिदिने काम पनि संपादन गर्दछ। त्यसो गर्नेक्रममा धर्मले यस लोकमा दु:खपूर्ण रहेको उनीहरुको जीवन अर्को लोकमा सुखपूर्ण हुनेछ भन्ने शिक्षा दिएर मानिसहरुलाई विद्यमान सामाजिक व्यबस्था संग मेलमिलाप गराउन खोज्दछ। कुनैपनि वर्गविरोधि समाजमा धर्म र धार्मिक संस्थाहरु (चर्च आदि) लाई सत्तासिन वर्गहरु द्वारा वित्तीय सहयोग प्राप्त भएको हुन्छ र त्यसकारण वैयेक्तिक स्वामित्व एवम् विभिन्न मानिसहरु अनि वर्गहरु बिचको असमानतालाई पवित्रीकरण गर्ने कार्य गर्दछ। त्यहिंनेर नै धर्मको सबैभन्दा महत्वपूर्ण सामाजिक कार्य निहित रहेको हुन्छ।

धर्म उत्पत्तिको कारण र पृष्ठभूमि:

धर्म कहिले र किन उपस्थित भयो अर्थात मानिसहरुले कहिले र किन ईश्वर र दुष्ट परालौकिक शक्तिहरुमा विश्वास गर्न शुरु गरे भन्ने कुरा बुझ्नु महत्वपूर्ण हुन्छ। धर्मको उद्भव सम्बन्धि विषय भनेको एक जटिल एवम् प्रायश: अन्तर्विरोधि प्रकृया हो। यसलाई, उदाहरणार्थ, भोल्तेयर (फ्रान्सीसी लेखक, इतिहासकार र दार्शनिक, १६९४-१७७८), जसले “जब पहिलो मुर्खले पहिलो ठगलाई भेट्यो तब धर्मको शुरुवात भयो”(३) भन्ने दावी गरे, ले गरेजसतो अतिसरलिकरण गर्नु हुदैन। वास्तवमा आज कतिपयको झुट र पाखण्ड अनि कतिपयको अज्ञानताले गर्दा धर्म प्रसारलाई बढावा दिएको र त्यसलाई धारण गर्न लगाएको/जिम्मेवार भएको कुरालाई नकार्न मिल्दैन। तथापि धर्मका जराहरु निकै गहिरो र धेरै नै जेलिएका छन।

आदिम समाजका मानिसहरुलाई ईश्वर जस्तो परालौकिक सत्ता/अस्तित्व बारेको कल्पनामा आइगुग्न निकै लामो समयावधि लागेको थियो। मानिसले आफु स्वयम्लाई किन यी सबै कुराहरु घटित हुन्छन? यसको पृष्ठभूमिमा के कस्ता कारणहरु रहेकोछन्? यसलाई कसले नियन्त्रण र परिचालन गर्दछ? भन्ने जस्ता बृहद अर्थ सहितका ज्ञानमिमांसीय प्रश्नहरु सोध्नु अगावै हजारौं पुस्ताहरु चट्याङको गर्जन, बिजुलीको चम्काई, भूकम्पको हलचल, बाढीको डुबान अनि बनको डढेलो कारण बाट भागेका थिए। त्यसैगरी हजारौं पुस्ताहरुले सूर्योदय र सूर्यास्त, ताराहरु र चन्द्रमा, जन्म अनि मृत्यु देखेका थिए। मानिसहरुले यी सबै प्रश्नहरुको जवाफ दिनसक्ने बन्नु पहिल्यै कैयौं धेरै आदिम पुस्ताहरु बितेका थिए, तर जब उनीहरुले समाज विकासको त्यो अवस्थामा एउटा वैज्ञानिक वाख्या प्रस्तुत गर्न असमर्थ भए तब अपरिहार्यरुपमा ईश्वर जस्तो परालौकिक सत्ता बारेको विचार निर्माण गर्न आइपुगे। लेनिनले लुडविग फायरवाख द्वारा लिखित “ईश्वर भनेको प्रकृति मार्फत ग्रहण गरिएका अत्यन्तै सार्वलौकिक गुणहरुको सम्मिश्रण थियो र एउटा स्वाधिन सत्ता (अस्तित्व) मा परिणत गरिएको थियो”(४) भन्ने कुरामा सहमति जनाएका थिए। जब आदिम कबिलाई सममुदाय विखण्डित भयो र वर्ग विरोधि समाजको उदय भयो तब मानिसहरु उनीहरु परालौकिक शक्तिहरु द्वारा शासित भएकाछन भन्ने विश्वासमा झनै सुनिश्चित हुनपुगे।

एंगेल्सको शब्दमा भन्नु पर्दा, “ती कल्पित आकृतिहरु जसले प्रारम्भमा प्रकृतिका रहस्यमय शक्तिहरुलाई प्रतिबिम्बित मात्र गर्दथ्यो, यो बिन्दुमा आएर सामाजिक विशेषताहरु प्राप्त गर्दछ, इतिहासका शक्तिहरुको प्रतिनिधि बन्न पुग्दछ।”5 प्रारम्भमा धर्मको उत्पत्ति आदिम मानव माथि प्रकृतिका मौलिक शक्तिहरु हावी भएका कारणले गर्दा भयो। धार्मिक विचारहरु भनेका मानिस माथि हावी भएका बाह्य शक्तिहरु बारे उनीहरुको दिमागमा छाएका काल्पानिक प्रतिबिम्बहरु थिए। धर्मको उत्पत्ति आदिम समाजका मानिसहरुमा प्रकृति र चराचर जगतका परिघटनाहरु लाई हेर्ने, बुझ्ने र व्याख्या-विश्लेषण गर्ने सम्बन्धमा वैज्ञानिक ज्ञान एवम् सुझबुझको अभावहुनु नै हो। कालान्तरमा भाषाको विकास गरेसंगै मानिसले त्यस्ता परिघटनाहरु के-कसरी घटित हुन्छन भन्ने सम्बन्धमा अनुमान एवम् सोच-विचार गर्न थाल्यो। मानिसले धर्मलाई ईश्वर संग जोड्न पुग्यो अनि आफैले आफ्नै स्वरुपमा ईश्वर वा भगवानको कल्पना र निर्माण गर्यो फलस्वरूप आफुले निर्माण गरेको ईश्वरको आफै दास बन्न पुग्यो।

क्रमश....

२०७९ साउन २१ ०९:४३ बजे

प्रतिक्रिया