आईपीएल अक्सनका लागि १० नेपाली खेलाडी प्रारम्भिक सूचीमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका लागि सार्वजनिक प्रारम्भिक दर्ता सूचीमा नेपालका १० खेलाडी परेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा भारतका ९३९ र अन्य १७ देशका २८१ खेलाडी रहेका छन् । एसोसियट्स राष्ट्रका खेलाडीमध्ये अमेरिकाबाट सबैभन्दा बढी १३ जनाले नाम दर्ता गराएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्सबाट १०–१० खेलाडी दर्ता भएका छन् । त्यस्तै, नेदरल्यान्ड्सबाट तीन, क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडीले नाम दर्ता गराएका छन् ।
अक्सनका लागि दर्ता भएका कुल खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी, ९९४ जना अनक्याप्ड खेलाडी र ४२ जना एसोसियट्स राष्ट्रका खेलाडी रहेका छन् ।
अक्सन सूचीमा अस्ट्रेलियाबाट सबैभन्दा बढी ५३ खेलाडी दर्ता भएका छन् । दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५, अफगानिस्तानबाट २३, श्रीलङ्काबाट २१ र इङ्ल्यान्डबाट १६ खेलाडी दर्ता भएका छन् ।
अब फ्रेन्चाइजीहरूले प्रारम्भिक सूचीमा रहेका खेलाडीमध्ये आफूले लिलामीमा समावेश गर्न चाहेका खेलाडीको नाम आयोजकलाई बुझाउनेछन् । त्यसपछि डिसेम्बर ४, २०२६ मा अन्तिम लिलामी सूची र खेलाडीहरूको समूह सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसपटक अक्सनअघि विभिन्न टोलीले १८४ खेलाडीलाई आफ्नो टोलीमा कायम राखिसकेका वा छनोट गरिसकेका छन् । अब अधिकतम ६६ खेलाडीका लागि स्थान खाली रहेको छ । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ ।
गतबर्षको आइपिएल अक्सनको प्रारम्भिक सूचीमा पनि नेपाली खेलाडी भएपनि अन्तिम सूचीमा भने कुनै खेलाडी परेका थिएनन् ।
प्रतिक्रिया