एनपीएलमा आज दुई खेल हुँदै, दुवै खेलमा वर्षाको जोखिम

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १५ ०९:४७ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुने तालिका छ । तर, काठमाडौंमा भइरहेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेल प्रभावित हुने सम्भावना छ ।

तालिका अनुसार आजको पहिलो खेलमा दिउँसो १२ः ३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहेको थियो । शनिबार पनि वर्षा भइरहेको छ । दिउँसोपछि भने मौसममा सुधार आउन सक्ने पूर्वानुमान छ ।

वर्षा नरोकिएमा खेल सुरु हुन ढिलाइ हुने वा ओभर घटाएर खेलाउनुपर्ने अवस्था आउन सक्छ । वर्षाका कारण खेल नै सञ्चालन हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ । एनपीएलमा खेलको नतिजा निकाल्न कम्तीमा दुवै टोलीले पाँच–पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ ।

एनपीएलमा वर्षाका कारण खेल रद्द भएमा अर्को दिन खेलाउने व्यवस्था अर्थात् रिजर्भ डे छैन। त्यसैले आजका दुवै खेलको भविष्य मौसम र मैदानको अवस्थामै निर्भर रहने देखिएको छ ।

२०८३ कात्तिक १५ ०९:४७ बजे

प्रतिक्रिया