काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।
पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे ।
ओपनर विनोद भण्डारी व्यक्तिगत ४ रनमा आउट भए । त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रनमा आउट भए । त्यसपछि सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेले सम्हाले । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । पाण्डे ३१ ब्लमा ३७ रन बनाएर आउट भए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे ।
बलिङमा धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले एकएक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडे ।
महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए ।
बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर ती विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने तालिका छ ।
प्रतिक्रिया