उमेर बढ्दै जाँदा धेरै मानिस सार्वजनिक जीवनबाट विश्राम लिन्छन्। तर ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाको राजनीतिक यात्रा भने यसको ठीक उल्टो छ। ८० वर्षको उमेरमा उनी ब्राजिलको राष्ट्रपति पदमा चौथो पटक निर्वाचित भएका छन्।
अक्टोबर २५ मा भएको दोस्रो चरणको निर्वाचनमा लुलाले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरे। ब्राजिलको सर्वोच्च निर्वाचन निकाय ‘सुपेरियर इलेक्टोरल कोर्टका अनुसार लुलाले ५१.७९ प्रतिशत र बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाए। योसँगै लुला ब्राजिलको लोकतान्त्रिक इतिहासमा चार पटक प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने पहिलो नेता बनेका छन्।
तर लुलाको कथा चुनाव जित्ने राष्ट्रपतिको कथा मात्रै होइन। यो गरिब परिवारबाट उठेको एक मजदुर, ट्रेड युनियन नेता, वामपन्थी राजनीतिज्ञ, राष्ट्रपति, जेल परेका नेता र पुनः सत्तामा फर्किएको राजनीतिक व्यक्तित्वको कथा हो।
गरिब परिवारबाट राष्ट्रपतिसम्मको यात्रासम्म
लुलाको जन्म सन् १९४५ अक्टोबर २७ मा ब्राजिलको पर्नाम्बुको राज्यको गरिब परिवारमा भएको थियो। उनी आठ सन्तानमध्ये सातौं थिए। सात वर्षको उमेरमा उनी परिवारसँगै साओ पाउलो पुगे। १४ वर्षको उमेरमै कारखानामा काम गर्न थाले र पछि मेकानिकल कामदार बने।
कामदारका रूपमा भोगेको कम ज्याला, कठिन श्रम र श्रमिकको असुरक्षाले उनको राजनीतिक चेतना निर्माण गर्यो। सन् १९७० को दशकमा उनी साओ पाउलोको औद्योगिक क्षेत्रमा शक्तिशाली ट्रेड युनियन नेता बने। सैन्य शासनको समयमा उनले श्रमिकको अधिकार र तलब वृद्धिका लागि ठूला हडतालको नेतृत्व गरे।
यही श्रमिक आन्दोलन उनको वामपन्थी राजनीतितर्फको मुख्य प्रवेशद्वार बन्यो। सन् १९८० मा उनले श्रमिक केन्द्रित वर्कर्स पार्टी गठनमा भूमिका खेले। त्यसपछि ब्राजिलको राजनीतिमा गरिब, मजदुर र सामाजिक रूपमा पछाडि पारिएका वर्गको आवाजलाई केन्द्रमा राख्दै उनको राजनीतिक यात्रा अघि बढ्यो।
धेरै हारपछि राष्ट्रपति-राष्ट्रपति बन्न लुलाले पहिलो प्रयासमै सफलता पाएनन्। उनले १९८९, १९९४ र १९९८ मा राष्ट्रपति निर्वाचन लडे तर पराजित भए। अन्ततः सन् २००२ मा उनी पहिलोपटक राष्ट्रपति निर्वाचित भए र २००६ मा पुनः निर्वाचित भए।
उनका पहिलो दुई कार्यकालमा ब्राजिलमा आर्थिक वृद्धि र गरिबी घटाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिइयो। बोल्सा फामिलियामार्फत् गरिब परिवारलाई प्रत्यक्ष नगद सहायता, न्यूनतम ज्याला वृद्धि, शिक्षा तथा स्वास्थ्यमा पहुँच विस्तारजस्ता कार्यक्रम अघि बढाइए।
उनको सरकारले सामाजिक सुरक्षा, शिक्षा, आवास, ऊर्जा र पूर्वाधार विस्तारमा ठूलो भूमिका खेलेको थियो। लुलाको पहिलो दुई कार्यकालमा न्यूनतम ज्याला वृद्धि, सामाजिक सुरक्षा र आर्थिक विस्तारसँगै गरिबी तथा असमानता घटेको तथ्यांक पनि सार्वजनिक भएका छन्। तर उनको सरकारमाथि भ्रष्टाचार काण्ड र केही आर्थिक तथा संरचनात्मक समस्या समाधान गर्न नसकेको आरोपसमेत लाग्यो।
जेलदेखि पुनरागमनसम्म-लुलाको राजनीतिक जीवनको सबैभन्दा कठिन अध्याय सन् २०१८ मा आयो। भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उनी जेल परे र त्यस वर्षको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाएनन्। उनले करिब ५८० दिन जेलमा बिताए।
तर सन् २०२१ मा ब्राजिलको सर्वोच्च अदालतले उनको विरुद्धका फैसला खारेज गरेपछि उनको राजनीतिक अधिकार पुनःस्थापित भयो। त्यसपछि उनी २०२२ को निर्वाचनमा फर्किए र तत्कालीन राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गर्दै तेस्रोपटक राष्ट्रपति बने।
७६ वर्षमा प्रेम र विवाह-लुलाको व्यक्तिगत जीवन पनि उनको राजनीतिक यात्राजस्तै उतारचढावपूर्ण छ। उनको पहिलो विवाह मारिया दे लोर्डेस दा सिल्भासँग भएको थियो। पहिलो पत्नीको निधनपछि लुलाको जीवनमा मारिसा लेटिसिया आइन्। १९७३ मा युनियन कार्यालयमा भएको भेट प्रेम सम्बन्धमा बदलियो। दुवैले पहिले नै जीवनसाथी गुमाइसकेका थिए। भेटेको करिब सात महिनामै १९७४ मा उनीहरूले विवाह गरे। मारिसाको पहिलो विवाहबाट भएको छोरालाई समेत लुलाले आफ्नै सन्तानका रूपमा स्वीकार गरे। मारिसाको पनि २०१७ मा निधन भयो। लुलाका पाँच सन्तान छन्।
सन् २०२२ मा, ७६ वर्षको उमेरमा लुलाले समाजशास्त्री रोसाङ्गेला दा सिल्भा ‘जान्जा’सँग विवाह गरे। १८ मे २०२२ मा साओ पाउलोमा उनीहरूको विवाह भएको थियो। त्यसबेला जान्जाको उमेर ५५ वर्ष थियो।
जान्जा त्यसपछि लुलाको राजनीतिक जीवनमा समेत सक्रिय रूपमा देखिँदै आएकी छन्। २०२६ को चुनावी जितपछि उनीहरू सँगै विजय उत्सव मनाएको दृश्य पनि सार्वजनिक भयो।
सधैँ गरिब र श्रमिककै मुद्दा-२०२३ मा तेस्रो कार्यकाल सुरु गरेपछि लुलाले फेरि सामाजिक सुरक्षा र गरिबी न्यूनीकरणलाई प्राथमिकता दिए। बोल्सा फामिलियालाई पुनः बलियो बनाइयो। न्यून आय भएका परिवारका विद्यार्थीलाई माध्यमिक शिक्षा पूरा गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि अघि बढाइयो।
उनले न्यूनतम ज्यालामा मुद्रास्फीतिभन्दा माथि वास्तविक वृद्धि गर्ने नीति अघि सारे। कम आय भएका नागरिकको आयकर भार घटाउने योजना पनि उनको आर्थिक एजेन्डाको हिस्सा बन्यो।
पर्यावरण उनको तेस्रो कार्यकालको अर्को महत्वपूर्ण मुद्दा बन्यो। अमेजन क्षेत्रमा अवैध वन फँडानी नियन्त्रण गर्ने अभियान तीव्र पारियो। सरकारी तथ्यांकअनुसार २०२३ मा अमेजनको वन फँडानी अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशत घटेको थियो।
८० वर्षमा फेरि चुनावी बाजी-२०२६ को निर्वाचनमा लुलाको अवस्था सहज थिएन। पहिलो चरणमा उनी फ्लाभियो बोल्सोनारोभन्दा पछि परे। तर दोस्रो चरणमा उनले अभियानलाई पुनः संगठित गर्दै सामाजिक सुरक्षा, श्रमिक अधिकार, जीवनयापनको लागत र लोकतान्त्रिक संस्थाको संरक्षणलाई मुख्य मुद्दा बनाए। अन्ततः उनले बाजी पल्टाउँदै ५१.७९ प्रतिशत मतसहित विजय हासिल गरे।
यो विजयसँगै ८० वर्षीय लुला अब जनवरी २०२७ मा आफ्नो चौथो कार्यकालका लागि शपथ लिनेछन्। ब्राजिलको आधुनिक लोकतान्त्रिक इतिहासमा एउटै व्यक्ति चारपटक प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनेको यो पहिलो घटना हो।
एक मजदुरबाट ट्रेड युनियन नेता, त्यहाँबाट वामपन्थी पार्टीका संस्थापक, राष्ट्रपतिको कुर्सी, जेल र राजनीतिक पुनरागमन हुँदै फेरि राष्ट्रपतिको विजयसम्म लुलाको जीवन ब्राजिलको पछिल्लो पाँच दशकको राजनीतिक उतारचढावसँगै अघि बढेको कथा हो।र यही कारण ७६ वर्षमा विवाह गरेका र ८० वर्षमा चौथोपटक राष्ट्रपतिको चुनाव जितेका लुला आज ब्राजिलका राष्ट्रपति मात्र होइनन्, राजनीतिक पुनरागमनको विश्वकै उल्लेखनीय उदाहरणमध्ये एक बनेका छन्।
प्रतिक्रिया