बेलगाम सरकार फाँसीवादतर्फ अघि बढ्यो : ओली

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १२ १६:२७ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । ओलीले देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको बताएका हुन्  ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ । देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको छ । गुण्डाराज चलिरहेको र सरकार बेलगाम फाँसीवादतर्फ अगाडि बढिरहेको छ ।’

देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा एमालेको काँधमा आएको ओलीले दाबी गरे । फागुन २१ मा भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोस्रो श्रृंङ्खला भएको उनको दाबी रहेको छ । एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

२०८३ कात्तिक १२ १६:२७ बजे

प्रतिक्रिया