काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान् जन्मिएर हैरान पारेको’ बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् ।
पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको टिप्पणी ओलीको छ । उनले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।
‘‘२२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटी जन्मिए, धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू,’ ओलीले थप व्याख्या गर्दे अघि भनेका छन्, ‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान् जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’
अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने ओलीको भनाइ छ । यसलाई नै आधार बनाएर हिड्नुपर्नेमा उनको जोड थियो ।
‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौं। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिंड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर । आफ्नो हकको, जायज हकको चिजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया