अर्थमन्त्री वाग्लेको अभिव्यक्ति देशभक्त जनताको निम्ति आपत्तिजनक कुरा हो- हरिभक्त कडेल का.वा. महासचिव

भारत देश र भारतीय जनताको नेपालमा कसैले पनि विरोध गरेको छैन। भारतको हेपाहा विस्तारवादी मिचाहा प्रवृत्तिको नेपाली जनताले विरोध गर्दै आइरहेका हुन् ।

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ८ १२:१२ बजे
का.वा. महासचिव क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

काठमाडैँ। भारत भ्रमणका क्रममा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत कार्तिक ६गते भारतीय एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युगको अन्त्य भएको ’ बताएका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कडेलले वाग्लेको अभिव्यक्ति भारतीय विस्तारवादको दलालीको पराकाष्ठा हो भन्नुभएको छ । कार्यवाहक महासचिव हरिभक्त कडेलले हाँक टुडे अनलाईन  सँग कुरा गर्दै भन्नुभयो “ भारत देश र भारतीय जनताको नेपालमा कसैले पनि विरोध गरेको छैन। भारतको हेपाहा विस्तारवादी मिचाहा प्रवृत्तिको नेपाली जनताले विरोध गर्दै आइरहेका हुन् ।

महासचिव कँडेलले त्यस बारेमा अझ थप स्पष्ट गर्नुभयो ,“ प्रधानमन्त्री बालेनले संसदमा उभिएर नेपालले पनि भारतको जमिन मिचिएको छ भन्नु र अर्थमन्त्री वाग्लेले ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युगको अन्त्य भएको ’ भन्नु दुवैको भनाइमा एकरूपता देखिन्छ । दुवैको भनाइले भारतीय विस्तारवादी शासकहरूको दलाली गरेको देखिन्छ। यो सामान्य कुरा होइन ।देशभक्त जनताहरूको निम्ति यो गम्भीर आपत्तिजनक कुरा हो।

नेपाली जनताहरुले वर्षौं वर्षदेखि भारतीय विस्तारवादको विस्तारवादी, हैकमवादी र थिचोमिचो गर्ने प्रवृत्तिको विरोध गर्दै आइरहेका छन् र त्यही सङ्घर्षले नेपालको राष्ट्रिय स्वाधीनता बचेको छ, नेपाली जनताहरूको त्यही देशभक्तिपूर्ण आन्दोलनले नेपाल बचेको छ। त्यसकारणले गर्दा वाग्लेले नेपाली जनताको त्यस प्रकारको देशभक्तिपूर्ण संघर्षको इतिहासलाई अपमान गर्ने काम गरेका छन। कालापानीमा भारतीय विस्तारवादले वर्षौंदेखि सेना राखिरहेको छ । अनाधिकृत रुपमा लिपुलेकको बाटो भएर भारतले चीनसित व्यापार गर्न थालेको छ । भारतका वर्तमान प्रधानमन्त्री मोदीले प्रबुद्ध व्यक्तिहरुको समूहले तयार पारेको प्रतिवेदनसम्म बुझ्न मानिरहेको छैनन्। यस्तो अवस्थामा वाग्लेले भारतको विरोध गर्ने युगको अन्त्य भयो भन्नु साँच्चिकै एउटा स्वाभिमानी नेपालीका लागि लज्जास्पद कुरा हो। 

वाग्लेले त्यस प्रकारको अभिव्यक्ति दिनुको पछाडिको कारणबारे स्पष्ट गर्दै कडेलले भन्नुभयो, “वर्तमान बालेन सरकार झन् पछि झन् फासीवादी बन्दै गइरहेको छ । यो सरकार जनताको नजरमा बदनामित हुँदै गइरहेको छ ।आफ्नो फासीवादी सरकारको आयु लम्बाउनको निमित्त भारतीय शासकहरुले सहयोग गरिदिउन, उनीहरूको समर्थन होस् भन्ने हेतुले वाग्लेले भारतको दलाली गरेका हुन् ।

यस स्थितिमा देशभक्त तथा वामपन्थीहरूले के गर्नुपर्छ भन्ने बारेमा आफ्नो भनाइ राख्दै कार्यवाहक महासचिव कँडेलले भन्नुभयो , अर्थमन्त्री वाग्लेको यो भनाइ राष्टघातको एउटा पाटो मात्र हो। अर्थमन्त्री वाग्लेको भनाइले समग्र देशको राष्ट्रिय स्वाधीनता कति गम्भीर खतरामा छ भन्ने कुरा बुझ्न सकिन्छ । यस स्थितिमा राष्ट्रिय स्वाधीनताका विरुद्धमा आइरहेका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण देशभक्त तथा बाम शक्तिहरु एउटै मञ्चमा उभिने र संघर्ष अगाडि बढाउने वातावरण बनाउनुपर्छ । 


 


२०८३ कात्तिक ८ १२:१२ बजे

प्रतिक्रिया