बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ३ १४:५० बजे

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ सवार गाडीमा अज्ञात समूहले गोली प्रहार गरेको छ। आइतबार साँझ भारतको मुम्बईस्थित विले पार्ले पश्चिम क्षेत्रमा भएको घटनामा श्राफका चालकसहित दुई जना घाइते भएका छन्।

बीबीसी मराठीका अनुसार जुहू प्रहरी थाना क्षेत्रभित्र पर्ने विले पार्ले पश्चिममा गोली प्रहार भएको हो। घटनामा श्राफका चालक फिरदौसको बायाँ हातमा गोली लागेको छ। घाइते दुवै जनाको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

मुम्बई पश्चिम क्षेत्र–२ का प्रहरी उपायुक्त मोहित गर्गले घटनाको पुष्टि गर्दै अभिनेता श्रॉफ सुरक्षित रहेको बताएका छन्। उनका अनुसार आइतबार साँझ करिब ७ बजे निजी काम सकेर गाडीमा फर्किने क्रममा घटना भएको थियो। गोली लागेर श्रॉफ घाइते नभएको प्रहरीले स्पष्ट पारेको छ।घटनाको अनुसन्धानका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने करिब १५ प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपायुक्त गर्गले बताएका छन्।

समाचार एजेन्सी आईएएनएसका अनुसार प्रहरीले आक्रमणकारीको पहिचान गर्न र उनीहरू भागेको बाटो पत्ता लगाउन घटनास्थल वरपरका सीसीटीभी फुटेज जाँच गरिरहेको छ। वरिष्ठ प्रहरी अधिकारीहरूले पनि घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका छन्। गोली कति राउन्ड प्रहार गरियो भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन।


२०८३ कात्तिक ३ १४:५० बजे

प्रतिक्रिया