विमानमा उडुसको प्रकोप देखिएपछि अस्ति शनिवार इटालीबाट अस्ट्रेलिया जाने तय भएको क्वान्टास एअरलाइन्सको उडान रद्द भएको छ ।सिड्नी मर्निङ हेराल्डका अनुसार शुक्रवारको अघिल्लो उडानका क्रममा—पर्थदेखि रोमसम्मको झन्डै १७ घण्टाको यात्रामा—केही यात्रुले आफूहरूलाई कीराले टोकेको गुनासो गरेका थिए ।
यात्रुहरूलाई उडुसको टोकाइबाट चिलाउने समस्याबाट राहत दिन एन्टिहिस्टामिन औषधि दिइएको थियो, तर पछि त्यो ओषधिको मौज्दात नै सकिएको थियो ।बोइङ ७८७ ड्रिमलाइनर विमानलाई राम्रोसँग सफा गर्नका लागि उडान स्थगित गर्नुपरेको क्वान्टासका प्रवक्ताले बताएका बीबीसीले जनाएको छ ।
प्रभावित सबै यात्रुलाई बसोबासको व्यवस्था गरिएको र उनीहरूको निर्धारित उडानको ४८ घण्टाभित्रै वैकल्पिक विमानमा पुनः बुकिङ गरिएको एअरलाइन्सले जनाएको छ ।उडुसका कारण उडान प्रभावित भएको यो नयाँ घटना होइन । झन्डै दुई हप्ताअघि बेलायतको दक्षिणपूर्वी रेलसेवाका चालकहरूले आफ्ना क्याबिनमा यी कीराहरू भेट्टाएपछि धेरै रेल सेवा रद्द गरेका थिए ।
त्यस्तै सन् २०१७ मा भ्यानकुभरबाट लन्डनतर्फ जाँदै गरेको रात्रिकालीन उडानमा एकै परिवारका सदस्यहरूलाई उडुसले टोकेपछि ब्रिटिश एअरवेजले सार्वजनिक रूपमा माफी मागेको थियो ।यस्तै गएको वर्ष न्युयोर्क टाइम्सले टर्किश एअरलाइन्सका जहाजमा उडुसको उपद्रव र एअरलाइन्सले त्यसलाई बेवास्ता गरेको आरोपबारे समाचार छापेपछि कम्पनीले ठूलो जनसम्पर्क सङ्कटको सामना गर्नुपरेको थियो ।
उडुस साना र पखेटा नभएका परजीवी हुन् जुन कपडा, फर्निचर र ओछ्यानमा बस्न सक्छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को वेबसाइटका अनुसार यिनले टोक्दा चिलाउन सक्छ तर यसले सामान्यतया स्वास्थ्यसम्बन्धी गम्भीर समस्याहरू निम्त्याउँदैन ।तर उडुसबाट छुटकारा पाउन गाह्रो र खर्चिलो हुन सक्छ । यसको उपचारमा ओछ्यानका सामान, लुगाफाटा र पर्दाजस्ता घरायसी सामग्रीहरूलाई तातो पानीमा धोएर ’टम्बल ड्राई’ (मेशिनमा सुकाउने) गर्ने वा प्लास्टिकको झोलामा राखेर तीन–चार दिनसम्म फ्रिजरमा राख्ने जस्ता उपायहरू पर्दछन् ।एजेन्सी
प्रतिक्रिया