१३ देशका प्रस्तावित राजदूतको सुनुवाइ सकियो

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २८ १७:३८ बजे

काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया बुधबार सकिएको छ । सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार अन्तिम दिन चार जनाको सुनुवाइ भएसँगै टुङ्गिएको हो । बुधबार अन्तिममा साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको सुनुवाइ सकिएपछि समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

आन्तरिक छलफल सकेर बुधबार नै पुनः बैठक बसी नाम अनुमोदन गर्ने वा नगर्नेबारे औपचारिक निर्णय लिने समितिको तयारी छ । सुनुवाइ सकिएका १३ जनामध्ये तीन जना प्रस्तावित राजदूतहरूको सवालमा भने सांसदहरूले नैतिक आचरणमाथि प्रश्न उठाएका छन् ।

साउदी अरेबियाका लागि प्रस्तावित सुनार, जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलमाथि सांसदहरूले नैतिक आचरणको प्रश्न उठाएका हुन् । यद्यपि उनीहरूको अनुमोदनबारे समितिको निर्णय आउन बाँकी छ ।

यसअघि गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ देशका लागि आवासीय राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका निम्ति सरू जोशीलाई सिफारिस गरेको थियो ।

यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा.पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनार सिफारिसमा परेका थिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०८३ असोज २८ १७:३८ बजे

प्रतिक्रिया