बजेट विवाद चर्किएपछि कांग्रेसले बहिष्कार गर्यो सुदूरपश्चिम प्रदेशसभा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २७ १४:५७ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ ।

सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको हो ।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।

यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिनमार्फत टुङ्ग्याउने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिए ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो ।

सत्तापक्षले बजेट पारित गर्दै विवादित विषयलाई छानबिनमार्फत समाधान गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले भने सदन बहिष्कार गर्ने निर्णय गरेको छ । यससँगै सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रिया राजनीतिक विवादबीच अघि बढ्ने देखिएको छ ।

२०८३ असोज २७ १४:५७ बजे

प्रतिक्रिया