काठमाडौं । केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यो प्रकरणमा सीआईबी खड्कासहित अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ पनि रहेका छन् ।
पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्कालाई पोल गरेको सम्बन्धमा पनि रहेको रहेको नदेखिएको, पीडितहरूको तर्फबाट पेश भएको जाहेरीमा खड्काले जाहेरवालाबाट रकम लिइ खाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था नदेखिएको भन्दै अदालतले उनलाई थुनामा राखेर अनुसन्धान नगर्नू भनी आदेश गरेको हो ।
सीआईबीले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र सङ्गठित रूपमा काम गरेको देखिएपछि सङ्गठित अपराधको कसुर पनि लगाएको थियो ।
प्रतिक्रिया