नेपालको कम्युनिष्ट आन्दोलनले सात दशकभन्दा लामो यात्रा पार गरिसकेको छ। २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुँदा त्यसको अगाडि तत्कालीन राणाहरुको जहानिया निरंकुश राजनीतिक व्यवस्था, सामन्ती सामाजिक संरचना, कमजोर जनचेतना र सीमित संगठनात्मक सम्भावनाका बीच नयाँ राजनीतिक विचारलाई स्थापित गर्ने ऐतिहासिक चुनौती थियो। पुष्पलाल र उहाँका सहयात्रीहरूले नेपाली समाजमा कम्युनिष्ट विचारको बीउ रोपे। त्यसबेला कम्युनिष्ट पार्टी स्थापना गर्नु आफैँमा ठूलो राजनीतिक कार्य थियो। त्यसपछि २०१७ सालको राजनीतिक कुले पंचायती ब्यबस्थाको नाममा कम्युनिष्ट आन्दोलनलाई नयाँ दमन र भूमिगत संघर्षको परिस्थितिमा धकेल्यो। पार्टीभित्र वैचारिक बहस, विभाजन र पुनर्गठनका प्रक्रिया तीव्र हुँदै गए।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा २०२५ सालको तेस्रो राष्ट्रिय सम्मेलन एउटा महत्त्वपूर्ण मोड थियो। २०१९ सालको तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिष्ट आन्दोलन वैचारिक र सांगठनिक रूपमा विभाजित हुँदै गएको अवस्थामा क। पुष्पलालले भारतको गोरखपुरमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्नुभयो। यो सम्मेलन कुनै सामान्य सांगठनिक भेला मात्र थिएनस विभाजन, वैचारिक अन्योल र राजनीतिक दिशाहीनताको बीचमा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने प्रयत्न थियो। सम्मेलनले नयाँ जनवादी क्रान्तिलाई नेपालको क्रान्तिको कार्यक्रमका रूपमा अघि बढायो र पुष्पलालको ‘मूल बाटो’लाई वैचारिक मार्गदर्शनका रूपमा स्थापित गर्यो।
यस प्रसङ्गको अझ महत्त्वपूर्ण पक्ष के हो भने पुष्पलालले पार्टी पुनर्गठनसँगै कम्युनिष्ट आन्दोलनको राजनीतिक चरित्र पुनःस्थापित गर्ने प्रयत्न गर्नुभएको थियो। उहाँका लागि कम्युनिष्ट पार्टी सदस्यहरूको संख्या बढाउने संस्था मात्र थिएनस मजदुर–किसान वर्गको हितलाई केन्द्रमा राख्ने, मार्क्सवाद–लेनिनवाद-माओविचारधारालाई मार्गदर्शक सिद्धान्त बनाउने, सामन्तवाद र साम्राज्यवादविरुद्ध संघर्ष गर्ने तथा जनतासँग जोडिएको क्रान्तिकारी संगठन निर्माण गर्ने माध्यम थियो। त्यसैले २०२५ सालको सम्मेलनलाई आजको सन्दर्भमा हेर्दा पुष्पलालले पुनर्गठन गर्न खोजेको कम्युनिष्ट पार्टीको चरित्र हामीले कति जोगायौँ? सम्मेलनले नयाँ जनवादी क्रान्तिको राजनीतिक दिशा प्रस्तुत गर्यो, तर त्यस दिशालाई जीवन र व्यवहारमा उतार्ने कम्युनिष्ट चरित्रका सदस्य र कार्यकर्ता निर्माणको प्रश्न त्यसपछि पनि नेपाली कम्युनिष्ट आन्दोलनको गम्भीर चुनौती रहिरह्यो।
पुष्पलालले पार्टी पुनर्गठन त गर्नुभयो, कार्यक्रम र दिशा दिनुभयोस त्यसपछि झापा विद्रोह, चौथो महाधिवेशन, मोहनविक्रम सिंह, निर्मल लामा,जयगोबिन्द साह र मोहन वैद्य हुँदै विभिन्न धारहरूले पनि हजारौँ सदस्य र कार्यकर्ता निर्माण गरे। तर किन ठूलो संख्यामा ‘कम्युनिष्ट सदस्य’ बनेका मानिसहरू व्यवहारमा कम्युनिष्ट चरित्रका बन्न सकेन? २०२८ सालको झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी विद्रोहको नयाँ अध्याय थप्यो। त्यसले युवा पुस्तामा वर्गसंघर्ष र क्रान्तिको चेतनालाई तीव्र बनायो। त्यसपछि चौथो महाधिवेशनको धार विकसित भयो, २०५२ मा माओवादी जनयुद्ध शुरु भयो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्गठित गर्ने प्रयत्न गर्यो। मोहनविक्रम सिंह, निर्मल लामा ,जयगोबिन्द साह हुँदै मोहन वैद्यलगायतका नेतृत्वहरूले विभिन्न ऐतिहासिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट धारलाई निरन्तरता दिने प्रयत्न गरे। २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धले त नेपाली समाजको राजनीतिक संरचनामै ठूलो उथलपुथल ल्यायो। त्यसपछि जनआन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र र राज्यसत्तामा कम्युनिष्टहरूको प्रत्यक्ष सहभागिताको चरण आयो।
यो सम्पूर्ण इतिहासलाई असफलताको इतिहास भनेर खारेज गर्नु न्यायोचित हुदैन। नेपाली कम्युनिष्ट आन्दोलनले नेपाली समाजमा वर्गीय चेतना, गणतन्त्र, सामाजिक न्याय, राष्ट्रियता, श्रमिक–किसानका प्रश्न र राज्य रूपान्तरणका मुद्दालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। तर उपलब्धिको स्वीकारोक्तिसँगै कमजोरीको निर्मम समीक्षा गर्न नसक्नु अर्को गम्भिर गल्ती भने हुनेछ। इतिहासको सबैभन्दा गम्भीर प्रश्न यही हो कि यति लामो राजनीतिक यात्रा, यति धेरै संघर्ष, यति धेरै पार्टी, यति धेरै महाधिवेशन, यति धेरै प्रशिक्षण र यति ठूलो जनसहभागितापछि हामीले कति सच्चा कम्युनिष्ट निर्माण गर्न सक्यौँ?
यही प्रश्नले पुष्पलालदेखि आजसम्मको कम्युनिष्ट आन्दोलनलाई नयाँ कोणबाट हेर्न बाध्य बनाउँछ। पुष्पलालले पार्टी स्थापना गर्नुभयो, त्यसपछि आएका विभिन्न धार र नेतृत्वले आफ्नो समयको आवश्यकता अनुसार संगठन र संघर्षलाई अघि बढाए। तर पार्टी निर्माण र कम्युनिष्ट निर्माण एउटै कुरा होइन। पार्टीको सदस्य बन्नु र कम्युनिष्ट बन्नु एउटै प्रक्रिया होइन। पार्टीको सदस्यता एउटा संगठनात्मक परिचय होस कम्युनिष्ट चरित्र भने विचार, चेतना, वर्गीय पक्षधरता, व्यवहार, अनुशासन, त्याग र संघर्षबाट निर्माण हुन्छ। नेपाली कम्युनिष्ट आन्दोलनमा यही दोस्रो प्रक्रिया क्रमशः कमजोर हुँदै गएको हो कि भन्ने प्रश्न आज गम्भीर रूपमा उठाउनुपर्ने अवस्था आएको छ।
झापा विद्रोहले विद्रोह गर्न सक्ने साहस र क्रान्तिकारी आवेगको प्रदर्शन गर्यो। चौथो महाधिवेशनको धारले क्रान्तिकारी विचार र संगठनको प्रश्न उठायो। मोहनविक्रम सिंह, निर्मल लामा,जय गोबिन्द साह र मोहन वैद्यलगायतका नेतृत्वहरूले आ–आफ्नो समय र दृष्टिकोणअनुसार क्रान्तिकारी कम्युनिष्ट धारलाई जोगाउने र विकास गर्ने प्रयत्न गरे। तर इतिहासमा कुनै पनि आन्दोलनको मूल्यांकन उसको सुरुआती उत्साह वा नेतृत्वको वैचारिक दाबीबाट मात्र हुँदैन। त्यसले कस्तो मानिस निर्माण गर्यो, कस्तो संगठन निर्माण गर्यो र ती मानिस तथा संगठनले संकटको समयमा कस्तो व्यवहार गरे भन्ने आधारमा पनि मूल्यांकन गर्नुपर्छ। यही अर्थमा आज हामीले एउटा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था छ,हामीले कम्युनिष्ट आन्दोलन त विस्तार गर्यौँ, तर के त्यसको अनुपातमा कम्युनिष्ट चरित्र भएका मानिस पनि निर्माण गर्यौँ?
मार्क्स र एङ्गेल्सको कम्युनिष्ट घोषणापत्रले कम्युनिष्टलाई कुनै नाम वा परिचयका रूपमा होइन, एउटा वर्गीय ऐतिहासिक भूमिकासँग जोडेको छ। कम्युनिष्टको विशिष्टता सर्वहारा वर्गको मुक्ति संघर्षको अग्रभागमा उभिनु, विद्यमान शोषणकारी सम्बन्धलाई वैज्ञानिक ढंगले बुझ्नु र समाजको रूपान्तरणका लागि संगठित संघर्ष गर्नुमा हुन्छ। कम्युनिष्ट हुनु भनेको आफ्नो व्यक्तिगत जीवनलाई समाजबाट अलग राखेर समाज परिवर्तनको भाषण गर्नु होइन। आफ्नो वर्गीय दृष्टिकोणलाई व्यवहारमा उतार्नु, शोषण र उत्पीडनको विरुद्ध उभिनु, श्रमजीवी जनताको जीवनसँग सम्बन्ध कायम गर्नु र व्यक्तिगत स्वार्थलाई सामूहिक मुक्तिको उद्देश्यभन्दा माथि नराख्नु कम्युनिष्ट चरित्रका आधार हुन्।
आजको संकट यहीँ देखिन्छ। कम्युनिष्टको रूप बाँकी छ, तर सार कमजोर भएको छ। झन्डा कम्युनिष्ट छ, भाषण कम्युनिष्ट छ, दस्तावेज कम्युनिष्ट छ, पार्टीको नाम कम्युनिष्ट छ, तर कतिपय अवस्थामा राजनीतिक व्यवहार भने बुर्जुवा संस्कारसँग नजिकिँदै गएको छ। समाजमा व्याप्त व्यक्तिवाद, पदलोलुपता, धनकेन्द्रित सोच, उपभोगवादी संस्कृति, गुटीय स्वार्थ र राजनीतिक अवसरवाद पार्टीभित्र प्रवेश गरेका छन्। कम्युनिष्ट पार्टी समाजबाट अलग कुनै निर्वातमा निर्माण हुने संस्था होइन। पार्टीका मानिस पनि त्यही समाजबाट आएका हुन्छन्। त्यसैले समाजमा रहेको बुर्जुवा चेतना पार्टीभित्र प्रवेश गर्छ। त्यसलाई निरन्तर वैचारिक संघर्ष, संगठनात्मक अनुशासन र व्यवहारिक अभ्यासबाट नियन्त्रण तथा रूपान्तरण गर्न नसकिएमा पार्टीको कम्युनिष्ट सार कमजोर हुँदै जान्छ।
त्यसैले आज “कम्युनिष्ट को होरु” भन्ने प्रश्नको उत्तर नयाँ ढंगले खोज्नुपर्छ। पार्टी सदस्यता लिएको व्यक्ति कम्युनिष्ट हो भन्ने सरल परिभाषा अब पर्याप्त छैन। कम्युनिष्ट चरित्र उसको व्यवहारबाट देखिनुपर्छ। श्रमिक र किसानको प्रश्नलाई आफ्नो राजनीतिक प्रश्न बनाउँछ कि बनाउँदैन, जनताको बीचमा नियमित काम गर्छ कि गर्दैन, आफ्नो जीवनमा श्रमको सम्मान गर्छ कि गर्दैन, पार्टीको जिम्मेवारीलाई निजी लाभको माध्यम बनाउँछ कि जनसेवाको दायित्व ठान्छ, सार्वजनिक जीवनमा आर्थिक पारदर्शिता कायम गर्छ कि गर्दैन, संगठनको सामूहिक निर्णयलाई सम्मान गर्छ कि गर्दैन, आलोचना स्वीकार गर्न र आफ्नो गल्ती सच्याउन सक्छ कि सक्दैन, कठिन परिस्थितिमा विचार र संगठनप्रतिको जिम्मेवारीबाट भाग्छ कि टिक्छ, अध्ययन गर्छ कि गर्दैन, आफ्नो ज्ञानलाई जनताको संगठन र संघर्षमा प्रयोग गर्छ कि गर्दैन,यी सबै प्रश्न कम्युनिष्ट चरित्र परीक्षणका आधार बन्नुपर्छ।
कम्युनिष्टको आर्थिक जीवन पनि राजनीतिक प्रश्नसँग सम्बन्धित हुन्छ। कम्युनिष्ट हुनु भनेको गरिबीलाई अनिवार्य जीवनशैली बनाउनु होइन, तर धन, सम्पत्ति र सुविधासँगको सम्बन्धलाई वर्गीय दृष्टिले हेर्न सक्नु हो। राजनीतिक पदलाई निजी आर्थिक लाभको साधन बनाउनु, राज्यस्रोतको पहुँचलाई व्यक्तिगत सम्पन्नताको अवसर ठान्नु, कमिसन, भ्रष्टाचार, अनियमितता वा प्रभावको दुरुपयोगलाई सामान्य राजनीतिक व्यवहार मान्नु कम्युनिष्ट चरित्रसँग मेल खाँदैन। समाजवादको कुरा गर्दै निजी जीवनमा शोषण, विशेषाधिकार र अवसरवादलाई सामान्य बनाउनु विचार र व्यवहारबीचको गम्भीर विच्छेद हो।
त्यस्तै कम्युनिष्ट चरित्रको अर्को महत्त्वपूर्ण आधार अध्ययन हो। मार्क्सवादका केही उद्धरण कण्ठस्थ गर्नु मार्क्सवादी हुनु होइन। नेपाली समाजको वर्गसंरचना बुझ्न नसक्ने, उत्पादन सम्बन्धको विश्लेषण गर्न नसक्ने, राज्यसत्ताको चरित्र बुझ्न नसक्ने, साम्राज्यवाद र परनिर्भरताको सम्बन्ध अध्ययन नगर्ने तथा जनताको बदलिँदो चेतना र आकांक्षालाई बुझ्न नसक्ने कार्यकर्ता अन्ततः पुराना नाराको पुनरावृत्तिमा सीमित हुन्छ। त्यसैले कम्युनिष्ट संगठनमा अध्ययनलाई वैकल्पिक गतिविधि होइन, अनिवार्य राजनीतिक अनुशासन बनाउनुपर्छ।
यसको साथसाथै जनतासँगको सम्बन्ध कम्युनिष्ट चरित्रको निर्णायक परीक्षा हो। चुनाव आउँदा घरघर पुग्ने, सभा हुँदा जनताको बीचमा देखिने र संकटको समयमा फेरि संगठनभित्र फर्किने र हराउने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनलाई जनताबाट टाढा पुर्याउँछ। जनतासँगको सम्बन्ध निरन्तर हुनुपर्छ। किसानको खेत, श्रमिकको कार्यस्थल, युवाको बेरोजगारी, महिलाको श्रम, साना उत्पादकको संकट, विदेशिने युवाको पीडा र निम्न आय भएका परिवारको जीवनसँग जोडिएर मात्र कम्युनिष्ट कार्यकर्ताले समाजको वास्तविक धड्कन बुझ्न सक्छ।
यही कारण अब पुनर्निर्माणको अर्थ अर्को पार्टी खोल्नु वा पुरानो पार्टीमा नयाँ पद बाँड्नु होइन। पुनर्निर्माणको केन्द्रमा चरित्रवान मानिस निर्माण हुनुपर्छ। सदस्यता अभियानलाई कम्युनिष्ट चरित्र निर्माण अभियानमा बदल्नुपर्छ। प्रत्येक सदस्यलाई राजनीतिक अध्ययन, जनसम्बन्ध, संगठनात्मक जिम्मेवारी र संघर्षसँग जोड्नुपर्छ। सदस्यता लिएपछि उसले के पढ्यो, कस्तो जनकार्य गर्यो, कस्तो संगठनात्मक जिम्मेवारी पूरा गर्यो, आफ्नो व्यवहारमा के परिवर्तन ल्यायो र जनताले उसलाई कसरी मूल्यांकन गर्छन् भन्ने प्रश्न पार्टीको नियमित मूल्यांकनको विषय बन्नुपर्छ।
यसका लागि पार्टीभित्र राजनीतिक शिक्षा स्थायी प्रक्रिया बन्नुपर्छ। वर्षमा एकपटक प्रशिक्षण गरेर कम्युनिष्ट चेतना निर्माण हुँदैन। आधारभूत तहदेखि नेतृत्व तहसम्म निरन्तर अध्ययन, छलफल, व्यवहारिक कार्य र आत्मसमीक्षाको प्रक्रिया चल्नुपर्छ। मार्क्स, एङ्गेल्स, लेनिन र माओका कृतिहरूसँगै नेपाली समाजको इतिहास, अर्थतन्त्र, वर्गसंरचना र वर्तमान संकटको अध्ययन गर्नुपर्छ। अध्ययनलाई जनजीवनसँग जोड्नुपर्छ। कार्यकर्ताले आफू रहेको क्षेत्रको वर्गीय संरचना अध्ययन गर्नुपर्छ, स्थानीय उत्पादन र श्रम सम्बन्ध बुझ्नुपर्छ र त्यसैका आधारमा संगठन तथा संघर्षको योजना बनाउनुपर्छ।
पार्टीको संगठनात्मक संरचनालाई पनि यही उद्देश्यअनुसार परिवर्तन गर्नुपर्छ। माथिबाट आदेश जाने र तलबाट रिपोर्ट आउने संरचना मात्र पर्याप्त हुँदैन। संगठनले आफ्ना सदस्यलाई राजनीतिक रूपमा विकसित गर्ने विद्यालयको काम गर्नुपर्छ। बैठकमा निर्णय मात्र होइन, राजनीतिक बहस हुनुपर्छ। आलोचना–आत्मालोचनालाई गुटीय बदला लिने साधन होइन, सामूहिक सुधारको माध्यम बनाउनुपर्छ। नेतृत्वको मूल्यांकन पदको अवधि वा राजनीतिक इतिहासबाट मात्र होइन, विचार, संगठन, जनसम्बन्ध, संघर्ष र चरित्रबाट गर्नुपर्छ।
पुनर्निर्माणको अर्को महत्त्वपूर्ण पक्ष आर्थिक पारदर्शिता हो। पार्टी र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको आर्थिक व्यवहारमा स्पष्टता हुनुपर्छ। पार्टीको आर्थिक स्रोत, सदस्यको योगदान, सार्वजनिक जिम्मेवारीसँग सम्बन्धित आर्थिक गतिविधि र नेतृत्वको जीवनशैलीबारे संस्थागत पारदर्शिता कायम गर्नुपर्छ। आर्थिक अनियमिततामाथि गुटीय संरक्षण होइन, प्रमाणमा आधारित छानबिन र निर्णयको संस्कार स्थापित गर्नुपर्छ। कम्युनिष्ट पार्टीले आफ्नै आर्थिक आचरणमा उदाहरण प्रस्तुत गर्न नसके समाजवादको नैतिक दाबी कमजोर हुन्छ।
त्यस्तै पद र नेतृत्व निर्माणको संस्कृति बदल्नुपर्ने हुन्छ। अहिले धेरै ठाउँमा पहिले पद प्राप्त गर्ने र त्यसपछि क्षमता देखाउने प्रवृत्ति छ। यसको सट्टा पहिले काम, त्यसपछि जिम्मेवारी र त्यसपछि नेतृत्व विकास हुने प्रणाली आवश्यक छ। जनताको बीचमा काम गरेको, कठिन अवस्थामा संगठन बचाएको, अध्ययनमा अगाडि रहेको, आलोचना स्वीकार गर्न सक्ने, आर्थिक रूपमा पारदर्शी रहेको र सामूहिक निर्णयलाई सम्मान गरेको कार्यकर्ता क्रमशः नेतृत्वमा विकसित हुनुपर्छ। व्यक्तिगत लोकप्रियता, आर्थिक क्षमता, गुटीय निकटता वा राजनीतिक पहुँच नेतृत्वको मुख्य योग्यता बन्नु हुँदैन।
यसरी हेर्दा कम्युनिष्ट पुनर्निर्माण लामो समय लाग्ने काम हो। यसलाई अभियानको नारामा सीमित गर्न सकिँदैन। आगामी एक वर्षलाई कम्युनिष्ट चरित्र निर्माणको प्रारम्भिक चरणका रूपमा लिएर प्रत्येक संगठनले आफ्ना सदस्यको राजनीतिक अवस्थाको समीक्षा गर्न सक्छ। त्यसपछि अध्ययन, जनसम्बन्ध, श्रम, संगठन, संघर्ष र आत्मसमीक्षालाई नियमित कार्यपद्धतिमा रूपान्तरण गर्न सकिन्छ। तर यसको सफलता सदस्य संख्या बढेको तथ्यबाट होइन, कार्यकर्ताको व्यवहारमा आएको परिवर्तनबाट गुणात्मक मापन गर्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, यो अभियान अरूलाई कम्युनिष्ट नभएको प्रमाणित गर्न चलाइने अभियान हुनु हुँदैन। पहिलो प्रश्न आफूलाई सोध्नुपर्छ। म कति कम्युनिष्ट छुरु मेरो विचार र व्यवहारबीच कति दूरी छरु म जनताको बीचमा कति छुरु मेरो राजनीतिक जीवन र व्यक्तिगत जीवनबीच कति संगति छरु मैले संगठनबाट कति लिएँ र संगठन तथा जनतालाई कति दिएँरु यी प्रश्नको इमानदार उत्तर खोज्न नसक्ने हुदा पुनर्निर्माण अभियान पनि अन्ततः अर्को औपचारिक कार्यक्रम बन्न सक्छ।
आज इतिहासले नेपाली कम्युनिष्ट आन्दोलनलाई यही ठाउँमा ल्याइपुर्याएको छ। पुष्पलालले पार्टी स्थापना गर्नुभयो। त्यसपछि आएका विभिन्न धारहरूले आफ्नो समयको राजनीतिक कार्यभारअनुसार संघर्ष गरे। झापा विद्रोहले विद्रोहको चेतना जगायो। चौथो महाधिवेशनको धारले क्रान्तिकारी पुनर्गठनको प्रश्न उठायो। मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्यलगायतका नेतृत्वहरूले विभिन्न कालखण्डमा क्रान्तिकारी कम्युनिष्ट धारलाई निरन्तरता दिने प्रयत्न गरे। माओवादी जनयुद्धले राज्यसत्ताको चरित्र र नेपाली समाजको राजनीतिक संरचनामाथि ठूलो धक्का दियो। जनआन्दोलन र गणतन्त्रपछि कम्युनिष्ट शक्तिहरू राज्यसत्ताको महत्वपूर्ण हिस्सामा पुगे। तर यति लामो इतिहासपछि पनि कम्युनिष्ट चरित्र निर्माणको प्रश्न अधुरो छ भने अब त्यसलाई स्वीकार गरेर नयाँ ढंगले अघि बढ्नुपर्छ।
यसको अर्थ विगतका सबै नेतृत्व असफल थिए भन्ने होइन। बरु हरेक ऐतिहासिक चरणका उपलब्धि र सीमालाई वस्तुगत रूपमा केलाएर कम्युनिष्ट निर्माणको अधुरो कामलाई अगाडि बढाउनु हो। इतिहासलाई दोष दिने होइन, इतिहासबाट शिक्षा लिने हो।आज देशको संकट गहिरिँदै जाँदा कम्युनिष्ट नाम बोकेका मानिसहरू पनि जनताको नजरमा सामान्य बुर्जुवा राजनीतिक चरित्रभन्दा माथि उठ्न नसकेको देखिनु साँच्चिकै गम्भीर विडम्बना हो। तर यस विडम्बनाको उपचार कम्युनिष्ट शब्द त्याग्नु होइनस कम्युनिष्ट शब्दको सारलाई जीवनमा पुनःस्थापित गर्नु हो।
अब कम्युनिष्ट आन्दोलनले आफ्नो शक्ति सदस्यताको संख्यामा होइन, चरित्रवान् कार्यकर्ताको संख्यामा खोज्नुपर्छ। संगठनको शक्ति कार्यालयको आकारमा होइन, जनतासँगको सम्बन्धमा खोज्नुपर्छ। नेतृत्वको शक्ति पदमा होइन, विचार र व्यवहारको एकतामा खोज्नुपर्छ। संघर्षको शक्ति नारामा होइन, जनताको वास्तविक जीवनसँग जोडिएको कार्यमा खोज्नुपर्छ।पुष्पलालको स्मरणको वास्तविक अर्थ यही हो। झापा विद्रोहको इतिहासबाट सिक्ने अर्थ पनि यही हो। चौथो महाधिवेशन,माओवादी जनयुद्ध र त्यसपछिका क्रान्तिकारी धारहरूको योगदानलाई आत्मसात् गर्ने अर्थ पनि यही हो।अब फेरि प्रश्न उठाऔँ,हामीले कति सदस्य बनायौँ भन्ने होइन, कति मानिसलाई सचेत, संगठित, अनुशासित, संघर्षशील र चरित्रवान् कम्युनिष्टमा विकसित गर्यौँरुकिनकि पार्टी बनाउन सकिन्छ, संगठन विस्तार गर्न सकिन्छ, सदस्यता बढाउन सकिन्छ, चुनाव जित्न सकिन्छ र राज्यसत्तामा पुग्न पनि सकिन्छ। तर कम्युनिष्ट चरित्र निर्माण नगरी ती सबै उपलब्धि अन्ततः खोक्रा ,अधुरा र अपांग हुन्छन।
त्यसैले आजको ऐतिहासिक कार्यभार स्पष्ट छ,कम्युनिष्ट पार्टीको पुनर्निर्माणभन्दा पहिले कम्युनिष्ट चरीत्र भएका मानिसको पुनर्निर्माण गर्नु पर्छ। चरित्रवान मानिसको पुनर्निर्माणबाट मात्र कार्यकर्ताको निर्माण, कार्यकर्ताको निर्माणबाट अग्रदस्ताको निर्माण र अग्रदस्ताको निर्माणबाट नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्गठन सम्भव हुन्छ र त्यो सम्भव कम्युनिष्ट भन्ने र बन्ने हामी आफैवाट शुरु गर्नु पर्छ ।साच्चै अब नामले होइन, व्यवहारले गर्नुपर्छ।अब घोषणाले होइन, जीवन व्यबहारले प्रमाणित गर्नुपर्छ।अब कम्युनिष्ट भनेर चिनिन खोज्ने होइन, कम्युनिष्ट चरित्र निर्माण गर्दै आफू आफै अघिवढ्ने समय आएको छ।
प्रतिक्रिया