ग्रीन आर्मी सेवाको आवरणमा सैन्य संस्कृतिको विस्तार- एक द्वन्द्वात्मक विश्लेषण

bimbonline लक्ष्मण उप्रेती
२०८३ भदौ १९ १६:४१ बजे
ग्रीन आर्मीको फोटो

नेपालमा ‘ग्रीन आर्मी’ अहिले एउटा नयाँ बहसको विषय बनेको छ। वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा र विपद् व्यवस्थापनका नाममा संगठित यो संस्था बाढी तथा विपद् प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा सैनिक शैलीको पोसाकसहित देखिएपछि यसको वास्तविक चरित्रबारे प्रश्न उठेका छन्। प्रश्न सामान्य होइन निकै गम्भीर रुपमा उठेका छ्न,नागरिक स्वयंसेवाको नाममा सैनिक शैलीको संगठन किन आवश्यक भयो? यसको सामाजिक उत्पत्ति के हो? यसको शक्ति र स्रोत कहाँबाट आउँछ? यसको संगठनात्मक संस्कृतिले कस्तो राजनीतिक चेतना निर्माण गर्छ? र भविष्यमा यो संरचना कुन दिशातर्फ विकसित र उन्मुख हुन सक्छ? यी प्रश्नहरुको उत्तर सामाजिक सञ्जालमा चलेका हल्ला, व्यक्तिविशेषप्रतिको समर्थन वा विरोध र तत्कालीन राजनीतिक पूर्वाग्रहबाट खोज्न उपयुक्त एवं बैज्ञानिक हुदैन। यसको अध्ययन वस्तुगत तथ्य, संगठनको संरचना, राज्यसत्तासँगको सम्बन्ध, आर्थिक आधार र सामाजिक प्रभावका आधारमा द्वन्द्वात्मक तरीकाले खोज्नु पर्छ।

कुनै पनि सामाजिक संस्थाको बाहिरी रूप र भित्री सार सधैँ एउटै हुँदैन। रूपले सारलाई अभिव्यक्त गर्छ, तर कहिलेकाहीँ रूप र सारबीच तनाव एवं अन्तर्विरोध पनि उत्पन्न हुन्छ।ग्रीन आर्मीको घोषित उद्देश्य वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद् व्यवस्थापन हो। यो उद्देश्य सामाजिक दृष्टिले आवश्यक र सकारात्मक छ। तर यसको संगठनात्मक रूप भने सैनिक शैलीबाट प्रभावित देखिन्छ,‘आर्मी’ नाम, क्याडेट प्रणाली, पोसाक, पदक्रम, अनुशासन र कमान्ड संरचना।यहाँ सार नागरिक सेवा र रूप सैन्य अनुकरण वीच गम्भीर अन्तर्विरोध देखिन्छ। यसलाई तत्काल ‘निजी सेना’ भनेर घोषणा गर्नु तथ्यगत रूपमा उचित हुँदैन। उपलब्ध सार्वजनिक सूचनाले ग्रीन आर्मीलाई नेपाली सेना वा राज्यको सुरक्षा निकायका रूपमा स्थापित गर्दैन। तर नागरिक स्वयंसेवी संस्थाले आफ्नो संगठनात्मक पहिचान निर्माण गर्दा सैन्य संरचनाको अनुकरण किन रोज्यो भन्ने प्रश्न भने अत्यन्तै  पूर्णतः जायज छ।

रूपलाई बेवास्ता गरेर सार बुझ्न सकिँदैन। किनकि संगठनात्मक रूपले पनि मानिसको चेतना, अनुशासन र राजनीतिक संस्कृतिलाई प्रभावित गर्छ। द्वन्द्वात्मक भौतिकवादले कुनै संस्था एक्कासि निर्माण हुने कुरा स्वीकार गर्न सक्तैन अर्थात बन्छ भन्ने मान्दैन। प्रत्येक संस्था निश्चित भौतिक परिस्थितिको उत्पादन हुन्छ। नेपालमा बिगत देखिनै राज्यका संस्थाप्रति असन्तुष्टि, बेरोजगारी, युवा पलायन, प्राकृतिक विपद्, वातावरणीय संकट, सार्वजनिक सेवाको कमजोरी र राजनीतिक अस्थिरता बढेका छन्। राज्यले जनताका सबै आवश्यकता तत्काल पूरा गर्न नसक्दा नागरिक समाजले विभिन्न क्षेत्रमा हस्तक्षेप गर्दै आएको छ।

भूकम्प, बाढी, पहिरो, डढेलो र महामारीका बेला युवाहरू स्वयंसेवकका रूपमा अगाडि आउनु यही सामाजिक प्रक्रियाको परिणाम हो। त्यसैले ग्रीन आर्मीको उदयको एउटा आधार सामाजिक आवश्यकता हो भने सामाजिक आवश्यकता मात्रले संगठनको विशिष्ट रूप निर्धारण गर्दैन। एउटै सामाजिक आवश्यकताबाट रेडक्रस, स्काउट, स्वयंसेवी युवा समूह, सामुदायिक संस्था वा विपद् स्वयंसेवक संगठन बन्न सक्छन्। त्यसैले यहाँ यो प्रश्न निकै गम्भीर रुपमा उठ्छ,ग्रीन आर्मीले नागरिक स्वयंसेवाको सामान्य रूपभन्दा सैनिक शैली किन रोज्योरुयही प्रश्न यसको गहिरो, गम्भीर र महत्त्वपूर्ण  अध्ययनको केन्द्र हुनुपर्छ।

नेपाल युवा जनसंख्याको ठूलो हिस्सा विदेशमा श्रम बेचिरहेको देश हो।गाउँ खाली हुँदैछन्,उत्पादनशील उमेरका मानिसहरू विदेशिएका छन् र देशभित्र रहेका धेरै युवामा बेरोजगारी,राजनीतिक निराशा र भविष्यप्रतिको असुरक्षा छ।यस्तो अवस्थामा अनुशासन,नेतृत्व,राष्ट्रसेवा र सामाजिक प्रतिष्ठाले युवालाई आकर्षित गर्न सक्छ।संगठित युवा शक्ति कुनै पनि समाजको महत्वपूर्ण सामाजिक सम्पत्ति हो र त्यही युवा शक्ति राजनीतिक शक्ति पनि हो। युवालाई वातावरण संरक्षणमा परिचालन गर्नु एउटा कुरा हो तर उनीहरूलाई नियमित पोसाक, पदक्रम, कमान्ड र सामूहिक परिचालनको संरचनामा संगठित गर्नु अर्को कुरा हो। त्यसैले यहाँ मूल प्रश्न हो कि यो संगठनले युवामा वैज्ञानिक नागरिक चेतना निर्माण गरिरहेको छ कि सैन्य संस्कृति विस्तार गरिरहेको छ? दुवैबीचको अन्तर सूक्ष्म भए पनि राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हुन्छ।

‘आर्मी’ शब्द किन सामान्य शब्द होइन?भाषा आफैंमा राजनीतिक हुन्छ। ‘सेवा’, ‘स्वयंसेवक’, ‘स्काउट’ र ‘आर्मी’शब्दले फरक–फरक सामाजिक अर्थ बोकेका हुन्छन्।हामीले वताइरहनु पर्ने आवश्यकता छैन कि ‘आर्मी’ शब्दले स्वाभाविक रूपमा कमान्ड, अनुशासन, शक्ति, बल, पदक्रम र राज्यसत्ताको सैन्य पक्षसँग सम्बन्धित अर्थ पैदा गर्छ।

नेपालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीजस्ता संस्थाहरू राज्यको वैधानिक सुरक्षा संरचनाका अंग हुन्। विपद् व्यवस्थापनमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले गैरराज्यीय संस्थाले ‘आर्मी’को पहिचान ग्रहण गर्दा एउटा संवेदनशील सीमा पैदा हुन्छ। यदि यसको उद्देश्य वातावरण संरक्षण हो भने ‘ग्रीन स्वयंसेवक’, ‘ग्रीन फोर्स’, ‘ग्रीन ब्रिगेड’ वा अन्य नागरिक नाम पनि सम्भव थिए। त्यसैले ‘आर्मी’ शब्दको छनोट आकस्मिक हो कि यसको पछाडि कुनै विशिष्ट संगठनात्मक उदेश्य छ भन्ने अध्ययन आवश्यक हुन्छ।

सैन्य अनुशासन र वैज्ञानिक अनुशासन एउटै होइन ग्रीन आर्मीको पक्षमा प्रस्तुत गरिने एउटा तर्क हो,‘युवालाई अनुशासित बनाउनु गलत होइन।’निश्चय नै गलत होइन।तर वैज्ञानिक अनुशासन र सैन्य अनुशासनबीच अन्तर हुन्छ। वैज्ञानिक अनुशासनले सवाल गर्न सिकाउँछ। सैन्य अनुशासनले आदेश पालना गर्न जोड दिन्छ।वैज्ञानिक अनुशासन तथ्यमा आधारित हुन्छ।सैन्य अनुशासन कमान्डमा आधारित हुन्छ।नागरिक लोकतान्त्रिक संगठनमा नेतृत्व प्रश्नयोग्य हुन्छ।सैन्य संरचनामा आदेशको श्रृंखला प्रमुख हुन्छ।यसको अर्थ सैन्य अनुशासन सधैँ नकारात्मक हो भन्ने होइन। सेनालाई आफ्नै प्रकृतिको अनुशासन आवश्यक हुन्छ। तर नागरिक समाजका संगठनमा सैन्य अनुशासनको अनुकरण गर्दा त्यसको सामाजिक उद्देश्य र राजनीतिक परिणामबारे प्रश्न उठ्नु स्वाभाविक हो। ‘मिलिटरी–इन्स्पायर्ड’ शब्द आफैंमा महत्वपूर्ण छ

ग्रीन आर्मीको आफ्नै सार्वजनिक विवरणमा संगठनलाई ‘मिलिटरी–इन्स्पायर्ड’ अर्थात् सैनिक अभ्यासबाट प्रेरित संरचनाका रूपमा प्रस्तुत गरिएको छ। सदस्यहरूलाई ‘क्याडेट’ भनिएको छ र विभिन्न तहको संगठनात्मक संरचना रहेको देखिन्छ।यसले एउटा तथ्य स्पष्ट गर्छ,सैन्य शैलीको प्रभाव बाहिरबाट लगाइएको आरोप मात्र होइन संगठनले पनि आफ्नो परिचयमा त्यसलाई स्वीकार गरेको देखिन्छ।मिलिटरी–इन्स्पायर्ड हुनु र अर्धसैनिक संगठन हुनु एउटै कुरा होइन।अर्धसैनिक चरित्र प्रमाणित गर्न हतियार, बल प्रयोगको अधिकार, सैन्य तालिमको प्रकृति, राज्यबाहिरको सुरक्षा भूमिका, राजनीतिक परिचालन र कमान्ड संरचनाको वास्तविक कार्यसम्पादनजस्ता तथ्य आवश्यक हुन्छन्।अहिलेसम्म सार्वजनिक तथ्यले त्यसलाई प्रमाणित गर्दैन। तर सैन्य शैलीको नागरिक संगठन विकास भइरहेको तथ्यलाई भने गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ।

मार्क्सवादी राजनीतिक चिन्तनमा राज्यलाई समाजभन्दा माथि तैरिरहेको निष्पक्ष संरचना भनेर मात्र बुझिँदैन। राज्य निश्चित सामाजिक सम्बन्ध, उत्पादन सम्बन्ध र शक्ति सम्बन्धसँग गाँसिएको हुन्छ। त्यस्तै नागरिक समाज पनि वर्गीय तथा राजनीतिक सम्बन्धबाट पूर्णतः अलग हुँदैन। एनजीओ, गैरनाफामूलक संस्था, स्वयंसेवी संगठन र सामाजिक अभियानहरूले समाजका वास्तविक आवश्यकता सम्बोधन गर्न सक्छन्। तर तिनको आर्थिक स्रोत, वैचारिक दिशा र संस्थागत सम्बन्धले तिनको सामाजिक भूमिकालाई प्रभावित गर्न सक्छ।यसैले कुनै पनि ठूलो नागरिक संगठनलाई बुझ्दा तीनवटा प्रश्न आवश्यक हुन्छन्,पहिलो यसको पैसा कहाँबाट आउँछरुदोस्रो यसको विचार कहाँबाट आउँछरुतेस्रो यसको शक्ति कसरी परिचालित हुन्छरुयी प्रश्नको उत्तर नदिई संगठनको सम्पूर्ण चरित्र निर्धारण गर्न सकिँदैन।

नेपालमा पछिल्ला दशकमा राज्यले गर्नुपर्ने धेरै सामाजिक काम गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूले गर्ने प्रवृत्ति बढेको छ। शिक्षा, स्वास्थ्य, वातावरण, बालअधिकार, महिला, युवा, विपद् र गरिबी न्यूनीकरणका क्षेत्रमा नागरिक संस्थाहरूको भूमिका विस्तार भएको छ।यसको सकारात्मक पक्ष होला,राज्यको पहुँच नपुगेका क्षेत्रमा सामाजिक संघ रसंस्थाको काम पुग्न सक्लान।तर यसको नकारात्मक सम्भावना पनि झन धेरै छ,राज्यको सामाजिक जिम्मेवारी कमजोर हुँदै गएको छ र समाजका विभिन्न क्षेत्र गैरराज्यीय संस्थाहरूको परियोजनामुखी संरचनामा निर्भर हुन पुगेका छ्न,जुन यही सन्दर्भमा ग्रीन आर्मीको अध्ययन गर्नुपर्छ। यदि यो समुदायको वास्तविक आवश्यकता र राज्यको विपद् व्यवस्थापन संरचनाबीच पुल बन्ने स्वयंसेवी शक्ति हो भने सकारात्मक भूमिका खेल्न सक्छ। तर यदि राज्यको जिम्मेवारी विस्थापित गर्दै आफ्नै स्थायी शक्ति संरचना निर्माण गर्ने दिशामा जान्छ भने प्रश्न फरक ढंगले स्वभाविक  हुन्छ।

नेपालमा कुनै नयाँ संगठन देखापर्नेबित्तिकै त्यसलाई विदेशी शक्ति, विदेशी पैसा वा कुनै अन्तर्राष्ट्रिय राजनीतिक परियोजनासँग जोड्ने प्रवृत्ति छ।तर वैज्ञानिक अनुसन्धानले अनुमानलाई प्रमाण मान्दैन। विदेशी सहयोग छ भने वित्तीय विवरण हुनुपर्छ। विदेशी साझेदारी छ भने सम्झौता हुनुपर्छ। राजनीतिक निर्देशन छ भने दस्तावेज वा व्यवहारमा त्यसको प्रमाण देखिनुपर्छ। त्यसैले ग्रीन आर्मीलाई विदेशी परियोजना वा साम्राज्यवादी उपकरण भनेर घोषणा गर्न अहिले प्रमाणआवश्यक छ। तर विदेशी सहयोग छैन भन्न पनि सकिँदैन।यसका लागि आर्थिक स्रोत, वार्षिक प्रतिवेदन, दाता स्रोत, परियोजना र साझेदारी सार्वजनिक भए पछि वा पारदर्शिता सार्वजनिक रुपमा आएपछि यसवारे अरु प्रष्टता आउने छ।

ग्रीन आर्मीलाई बालेन शाहसँग जोडेर सामाजिक सञ्जालमा गरिएका दाबी पनि अनुसन्धानको विषय बनेका छन्। तर उपलब्ध सार्वजनिक स्रोतले ग्रीन आर्मीलाई बालेन शाहको निजी सेना भनेर प्रमाणित गर्दैन।त्यसैले प्रमाणबिना यस्तो निष्कर्ष निकाल्नु राजनीतिक प्रचार हुन सक्छ। तर यसको अर्थ राजनीतिक प्रश्न उठाउन नहुने होइन। कुनै संगठनको राजनीतिक चरित्र बुझ्न नेतृत्वका सम्बन्ध, आर्थिक स्रोत, सार्वजनिक गतिविधि, राजनीतिक कार्यक्रम, निर्वाचनसँगको सम्बन्ध र निर्णय प्रक्रियाको अध्ययन गर्नुपर्छ।

नेपालमा बाढी, पहिरो, भूकम्प र डढेलोजस्ता विपद् नियमित समस्या हुन्। विपद्को समयमा स्थानीय जनता र प्रशिक्षित स्वयंसेवकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि गैरसरकारी संस्था, स्थानीय समुदाय र स्वयंसेवकलाई खोज, उद्धार तथा राहतमा परिचालन गर्ने आधार दिएको छ। गृह मन्त्रालयले स्वयंसेवक परिचालनसम्बन्धी कार्यविधिसमेत बनाएको छ।त्यसैले ग्रीन आर्मीले विपदमा सहयोग गर्नु आफैंमा आपत्तिजनक कुरा भने होइन। आपत्ति वा प्रश्न त्यहाँ उठ्छ जहाँ स्वयंसेवी संगठनले राज्यको समन्वय प्रणालीभन्दा बाहिर आफ्नो स्वतन्त्र कमान्ड र परिचालन संरचना निर्माण गर्न खोज्छ। स्वयंसेवी शक्ति राज्यको सहयोगी हुन सक्छस राज्यको समानान्तर शक्ति बन्नुले अर्को प्रश्न खडा गर्छ।

मार्क्सवादी विश्लेषणले ‘युवा’, ‘सेवा’, ‘राष्ट्र’, ‘अनुशासन’ जस्ता अवधारणालाई वर्गीय सम्बन्धबाट अलग राख्दैन। समाजमा वर्गहरू हुन्छन्। राज्य, उत्पादन, सम्पत्ति र राजनीतिक शक्ति निश्चित सम्बन्धभित्र सञ्चालन हुन्छन्।युवाको ठूलो हिस्सा श्रम बजारबाट बाहिर धकेलिएको छ। हजारौँ युवा विदेशमा श्रम बेचिरहेका छन्। देशभित्र रोजगारीको संकट छ।यस्तो अवस्थामा युवालाई सामाजिक सेवामा संगठित गर्ने संस्थाले एउटा आवश्यकता पूरा गर्छ।तर यदि युवाको वास्तविक आर्थिक समस्या,रोजगारी, शिक्षा, स्वास्थ्य, उत्पादन, श्रम अधिकार र सामाजिक सुरक्षालाई छोडेर ‘अनुशासन’ र ‘राष्ट्रसेवा’लाई प्रमुख समाधानका रूपमा प्रस्तुत गरिन्छ भने त्यसले सामाजिक समस्याको संरचनागत कारणलाई ओझेलमा पार्न सक्छ। युवालाई संगठित गर्ने हो भने उनीहरूको श्रम, शिक्षा, रोजगारी र सामाजिक अधिकारका प्रश्न पनि संगठित हुनुपर्छ।अन्यथा सामाजिक असन्तोषलाई सेवा र अनुशासनको गतिविधिमा सीमित गरेर संरचनागत प्रश्नबाट ध्यान हटाउने सम्भावना रहन्छ।

नागरिक स्वयंसेवा र राजनीतिक निष्क्रियता

सामाजिक सेवा आफैंमा राजनीतिक रूपमा स्वतन्त्र हुँदैन। कुनै  ठाउँ एवं बस्ती र समुदायमा बाढी आएको छ भने त्यसको कारण नदी अतिक्रमण, अव्यवस्थित सडक, वन विनाश, जलवायु परिवर्तन, कमजोर पूर्वाधार वा भ्रष्टाचार हुन सक्छ। पीडितलाई उद्धार गर्नु आवश्यक छ। तर बाढीको कारण बदल्नु अझ आवश्यक छ। यहीँनेर नागरिक स्वयंसेवा र राजनीतिक चेतनाबीचको प्रश्न आउँछ।यदि युवालाई ‘बाढी आयो,उद्धार गर’ भन्ने मात्र सिकाइयो तर ‘बाढी किन आयोरु’ भनेर प्रश्न गर्न सिकाइएन भने स्वयंसेवा संकटको उपचारमा सीमित हुन्छस कारणको खोजी हुँदैन। वैज्ञानिक चेतनाले दुवै सवाल उठाउछ,कि पहिलो पीडितलाई कसरी बचाउने र दोस्रो यस्तो अवस्था फेरि किन आउँछ? दोस्रो प्रश्नबाट सामाजिक रूपान्तरणको राजनीति सुरु हुन्छ।

यस संगठनको भविष्यलाई आजै निश्चित रूपमा घोषणा गर्न नसके पनि यसका सम्भावित तीन दिशाहरू देखिन्छन्।

 पहिलो, यो वातावरण संरक्षण र विपद् व्यवस्थापनमा केन्द्रित नागरिक स्वयंसेवी संस्था भएर रहन सक्छ। दोस्रो, यो देशव्यापी युवा नेटवर्कमा विस्तार हुन सक्छ। तेस्रो, सैन्य शैलीको संगठनात्मक संस्कृति अझ विस्तार हुँदै गएमा भविष्यमा यसको राजनीतिक प्रभाव र शक्ति परिचालनको प्रश्न उठ्न सक्छ।यीमध्ये कुन दिशा वास्तविक हुन्छ भन्ने कुरा नेतृत्व, स्रोत, प्रशिक्षण, संगठनात्मक विस्तार, राजनीतिक सम्बन्ध र राज्यसँगको सम्बन्धले निर्धारण गर्नेछ।त्यसैले आजको वैज्ञानिक दृष्टिकोण भविष्यको निर्णय होइन वर्तमानको अध्ययन र विकासक्रमको निगरानी हो।

सरकारले ग्रीन आर्मीलाई दोषी ठहर गर्न होइन, तथ्य सार्वजनिक गर्न अनुसन्धान गर्नुपर्छ।यसको दर्ता र कानुनी हैसियत के होरु यसको आर्थिक स्रोत के होरु यसको वार्षिक आय–व्यय कति छरुविदेशी सहयोग छ कि छैनरु विद्यालयमा कस्तो प्रशिक्षण दिइन्छरु क्याडेटको उमेर सीमा के होरुसैन्य शैलीको तालिमको वास्तविक विषयवस्तु के होरुपोसाक प्रयोगको अनुमति कुन निकायले, कुन आधारमा दिएको होरु विपद्को समयमा कसले परिचालन गर्छरुसुरक्षा निकायसँग यसको सम्बन्ध कस्तो छरु राजनीतिक दल वा व्यक्तिसँग संस्थागत सम्बन्ध छ कि छैनरु यी प्रश्नको उत्तर सार्वजनिक भयो भने बहस तथ्यमा आधारित हुनेछ।

ग्रीन आर्मीलाई अहिले नै ‘खतरा’ घोषणा गर्नु वैज्ञानिक होइन। तर लोकतान्त्रिक राज्यमा एउटा सिद्धान्त महत्वपूर्ण हुन्छ, सुरक्षा र बल प्रयोगसम्बन्धी वैधानिक शक्ति अस्पष्ट गैरराज्यीय संरचनामा केन्द्रित हुनु हुँदैन।आज स्वयंसेवी समूह हो,भोलि ठूलो संगठन हुन सक्छ। त्यसपछि राजनीतिक शक्ति बन्न सक्छ।त्यसपछि सुरक्षा संरचनाको रूप लिन सक्छ।इतिहासले यस्तो सम्भावनालाई पूर्णतः अस्वीकार गर्न सक्ने छैन। त्यसैले लोकतान्त्रिक राज्यले सुरुदेखि नै स्पष्ट कानुनी सीमा र पारदर्शिता कायम गर्नुपर्छ।

निष्कर्ष ,

ग्रीन आर्मीबारेको बहसलाई ‘यो राम्रो हो कि नराम्रोरु’ भन्ने दुई विकल्पमा सीमित गर्नु गलत हुन्छ। यो एउटा सामाजिक प्रक्रियाको अभिव्यक्ति हो। यसको जन्ममा विपद्, युवा असन्तोष, वातावरणीय संकट, स्वयंसेवाको आवश्यकता र राज्यका सीमाहरूको भूमिका हुन सक्छ।

यसको रूप निर्माणमा सैनिक अनुशासन,संगठनात्मक पदक्रम र नेतृत्वको विशेष अवधारणाको प्रभाव देखिन्छ। त्यसैले ग्रीन आर्मीलाई बुझ्ने सही वैज्ञानिकआधार  यस्तो हुनुपर्छ, यसको उत्पत्ति हेरौँ, संरचना हेरौँ, स्रोत हेरौँ, प्रशिक्षण हेरौँ, वर्गीय प्रभाव हेरौँ र विकासको दिशा हेरौँ।

त्यसपछि मात्र सार पहिचान गर्न सकिन्छ।

आज उपलब्ध तथ्यका आधारमा ग्रीन आर्मीलाई नेपाली सेना वा कुनै प्रमाणित निजी सेना भन्न मिल्दैन। तर यसको सैन्य शैलीको संगठनात्मक रूपले गम्भीर राजनीतिक तथा सामाजिक प्रश्न भने जन्माएको छ। त्यसैले न अन्धसमर्थन आवश्यक छ, न अन्धविरोध। जनताको सेवा गर्ने स्वयंसेवी शक्ति आवश्यक छ। वातावरण बचाउने युवा शक्ति आवश्यक छ। विपदमा उद्धार गर्ने संगठित नागरिक शक्ति आवश्यक छ।तर,नागरिक स्वयंसेवाको नाममा अस्पष्ट समानान्तर शक्ति संरचना आवश्यक छैन। युवालाई अनुशासन चाहिन्छ, तर प्रश्न गर्ने वैज्ञानिक चेतनासहितको अनुशासन।युवालाई संगठन चाहिन्छ, तर जनताको आर्थिक–सामाजिक अधिकारका प्रश्नसँग जोडिएको संगठन।समाजलाई स्वयंसेवक चाहिन्छ, तर राज्यको जिम्मेवारी विस्थापित गर्ने स्वयंसेवक होइन। र राज्यलाई सुरक्षा संरचना चाहिन्छ, तर त्यसको समानान्तर कुनै अस्पष्ट गैरराज्यीय शक्ति होइन।

अन्ततः ग्रीन आर्मीको वास्तविक चरित्र यसको हरियो पोसाकले होइन, यसले कुन सामाजिक शक्ति निर्माण गर्छ, कसको हितमा आफ्नो संगठनात्मक शक्ति प्रयोग गर्छ र भविष्यमा कुन दिशातर्फ विकसित हुन्छ भन्ने कुराले निर्धारण गर्नेछ। त्यसैले अहिलेको सही निष्कर्ष हो, यसको संरचना, स्रोत, प्रशिक्षण र विकासक्रममाथि वैज्ञानिक निगरानी हुनु पर्छ।

किनकि इतिहासमा धेरै संगठनहरू आफ्नो घोषणाबाट होइन, परिस्थितिसँगको अन्तर्क्रियाबाट आफ्नो वास्तविक चरित्रमा विकसित भएका छन्।

र यही कारण ग्रीन आर्मीको प्रश्न आज एउटा संस्थाको प्रश्न मात्र रहेन,यो नेपालमा नयाँ प्रकारको युवा शक्ति, नागरिक संगठन र राजनीतिक संरचना जन्मिँदै गरेको संकेत हो कि होइन भन्ने प्रश्न बनेको छ।यसको उत्तर आरोपले होइन, तथ्य, अनुसन्धान र समयको विकासक्रमले दिनेछ। धन्यवाद 


२०८३ भदौ १९ १६:४१ बजे

प्रतिक्रिया