कहिलेकाहीँ जीवनको बाटोमा
मान्छे होइन,
मान्छेको खोलभित्र लुकेको कुचरित्रसँग
जम्का भेट हुन्छ।
मुखमा मिठास,
शब्दमा आदर्श,
ओठमा सत्यका कुरा,
तर व्यवहारको ऐनामा हेर्दा
आफ्नै अनुहारसँग डराउनेहरू।
नैतिकता उनीहरूका लागि
आवश्यकताको वस्तु रहेछ,
स्वार्थ मिल्दा सिद्धान्त,
स्वार्थ टुट्दा सिद्धान्तमाथि नै प्रहार।
हिजो जसले काँध थापे
जसले अंगालो हाले
आज उसैलाई खसाल्न
हात अघि सार्छन् तिनिहरु
हिजो जसको प्रशंसा गरे,
आज उसैको चरित्रमा
कालो पोत्छन् उनिहरु
यस्तो जम्का भेटमा
म धेरै बोलिनँ,
किनकि शब्दभन्दा ठूलो
मान्छेको कर्म हुँदो रहेछ।
मैले सोधखोज पनि गरिन,
तिमी कुन पक्षमा छौ भनेर
किनकि समयले बताइसकेको थियो,
तिमी सत्यको पक्षमा होइन,
आफ्नो अवसरको पक्षमा रहेछौ।
न्यूनतम नैतिकता नभएको मान्छेसँग
बहस गर्नु
ढुङ्गासँग पानीको गहिराइ सोध्नुजस्तै रहेछ।
त्यहाँ तर्क हार्दैन,
तर्कको अर्थ नै हराउँछस
त्यहाँ सत्य पराजित हुँदैन,
सत्य सुन्ने कान नै हुँदैन।
त्यसैले आज
त्यस्तो जम्का भेटपछि
मैले एउटा कुरा सिकेँ,
सबैसँग नजिकिनु आवश्यक छैन,
सबैसँग सम्बन्ध राख्नु महानता होइन,
र सबैलाई आफ्नो मान्नु
आफ्नै आत्मसम्मानमाथिको अन्याय हो।
चरित्रको मूल्य
भाषणले होइन,
अप्ठ्यारो समयमा देखिन्छ।
निष्ठाको मूल्य
जयजयकारमा होइन,
एक्लै उभिनुपर्दा देखिन्छ।
र नैतिकताको उचाइ
अरूलाई उपदेश दिँदा होइन,
आफ्नो स्वार्थ अगाडि आउँदा
आफूलाई रोक्न सक्दा देखिन्छ।
त्यसैले
न्यूनतम नैतिकता पनि नभएकाहरूसँगको
त्यो आकस्मिक भेट
मेरो लागि घृणाको क्षण होइन,
एउटा गहिरो पाठ थियो,
मान्छे चिन्न
उसको बोली सुन्नु पर्दैन,
उसको स्वार्थ चल्दा
उसको चरित्र हेरे पुग्छ।
र अन्ततः
म त्यहाँबाट फर्किएँ,
मनमा कुनै पछुतो लिएर होइन,
एउटा स्पष्ट निष्कर्ष लिएर
मान्छे ठूलो उसको पदले हुँदैन,
उसले जोगाएको नैतिकताले हुन्छ।
र नैतिकता गुमाइसकेको मान्छे
भीडमा उभिए पनि
भित्रबाट एक्लै हुन्छ।
प्रतिक्रिया