काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा सुरक्षाकर्मी र एक प्रतिबन्धित संगठनका समर्थकहरूबीच भएका झडपहरूमा नौजनाको मृत्यु भएको छ । पुँछ क्षेत्रका विभागीय आयुक्त वहीद खानले प्रदर्शनकारीहरूले सैन्य काफिलालाई अवरोध गरेपछि अधिकारीहरूमाथि आक्रमण गरेको बताए । त्यसपछि प्रहरी तथा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गरेको समाचार एजेन्सी एपीले बताएको छ ।
समाचारका अनुसार, तरामखलमा ६ प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ । रावलकोटमा भएको अर्को झडपमा एक प्रदर्शनकारी र एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, विभिन्न समूहहरूको एउटा गठबन्धन ‘जोइन्ट अवामी एक्सन कमिटी’ले गत महिनादेखि विभिन्न स्थानहरूमा धर्ना प्रदर्शन गरिरहेको छ ।
भारतीय प्रशासित कश्मीरबाट दशकौँ पहिले पाकिस्तान आएका शरणार्थीहरूका लागि आरक्षित गरिएका क्षेत्रीय विधानसभाका ती १२ वटा सिटहरू खारेज गरिनुपर्ने उनीहरूको माग छ । यी शरणार्थीहरू पाकिस्तानका अन्य क्षेत्रहरूमा बस्छन् । प्रदर्शनकारीहरूको भनाइमा यो प्रक्रियाले स्थानीय प्रतिनिधित्वलाई कमजोर बनाउँने बताउँछन् ।
‘जोइन्ट अवामी एक्सन कमिटी’लाई जुन महिनामा आतंकवादविरोधी कानुनअन्तर्गत प्रतिबन्ध लगाइसकेको छ । यसले बुधबार (१५ जुलाई)का दिन रावलकोटसम्म मार्च निकाल्ने घोषणा गरेको छ ।
विभागीय आयुक्त वहीद खानका अनुसार, प्रदर्शनकारीहरूलाई सहरमा पस्नबाट रोक्नका लागि सुरक्षाकर्मीहरू तयारी अवस्थामा छन् । एपीले स्थानीय अनुमानहरूलाई उद्धृत गर्दै जुन महिनादेखि हालसम्म करिब ३० जनाको मृत्यु भइसकेको जनाएको छ ।
प्रतिक्रिया