विचारको जवाफ विचारले हो, गालीले होइन

आज गाली विपक्षीलाई दिइन्छ, भोलि आफ्नै साथीलाई पनि दिन सकिन्छ। आज भीडले कसैलाई दोषी ठहर गर्छ, भोलि त्यही भीडले अर्को व्यक्तिलाई पनि बिना प्रमाण दोषी बनाउन सक्छ। भीडको न्याय कहिल्यै न्याय हुँदैन।

bimbonline हरि जोशि
२०८३ असार ३० १३:१७ बजे
हरि जोशि

लोकतन्त्रको सुन्दरता यही हो कि यहाँ सरकारको आलोचना गर्ने अधिकार पनि सुरक्षित हुन्छ र सरकारको समर्थन गर्ने अधिकार पनि। तर लोकतन्त्रको यो अधिकार त्यतिबेलासम्म मात्र सभ्य रहन्छ, जबसम्म त्यसलाई तर्क, तथ्य र मर्यादाले निर्देशित गर्छ। विचारको ठाउँमा गाली, धम्की, चरित्रहत्या र अश्लील भाषाले स्थान लिन थालेपछि लोकतन्त्रको आत्मामाथि नै प्रहार हुन थाल्छ।

हाल नेकपा (एमाले) का नेता महेश बस्नेतले सार्वजनिक रूपमा व्यक्त गरेको एउटा राजनीतिक अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले यही चिन्ता उजागर गरेका छन्। बस्नेतले आफ्नो धारणा राख्दै विगतमा विभिन्न नेताहरू र व्यवसायीलाई पक्राउ गर्नुपर्ने मागमा उत्साहित देखिएका केही राजनीतिक वृत्तले अहिले उद्योगमन्त्री गौरी यादव वा मधेशका नेता अमरेश सिंहमाथि कारबाहीको चर्चा हुँदा त्यसलाई कसरी हेर्छन् भन्ने प्रश्न उठाएका छन्। उनले कानुनी प्रक्रिया, विधिको शासन र राजनीतिक प्रतिशोधबीचको सीमारेखाबारे बहस आवश्यक रहेको संकेत गरेका छन्।

कसैले उक्त अभिव्यक्तिसँग सहमत वा असहमत हुन सक्छ। लोकतन्त्रमा त्यो स्वाभाविक हो। तर त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमा देखिएका केही टिप्पणीहरूले भने स्वस्थ राजनीतिक संस्कृतिको होइन, असहिष्णुताको चित्र प्रस्तुत गरेका छन्। तेरो पालो आउँदैछ, मामा घर पुर्‍याइन्छू, दलालू, भोगटेू, नालीको किरा जस्ता अपमानजनक अभिव्यक्तिहरूले कुनै तर्क प्रस्तुत गर्दैन बरु फरक विचारलाई गाली र धम्कीमार्फत दबाउने मनोवृत्ति मात्र देखाउँछन्।

यही प्रवृत्ति लोकतन्त्रका लागि सबैभन्दा खतरनाक हो। आज गाली विपक्षीलाई दिइन्छ, भोलि आफ्नै साथीलाई पनि दिन सकिन्छ। आज भीडले कसैलाई दोषी ठहर गर्छ, भोलि त्यही भीडले अर्को व्यक्तिलाई पनि बिना प्रमाण दोषी बनाउन सक्छ। भीडको न्याय कहिल्यै न्याय हुँदैन।

नेपालको संविधान र कानुनी व्यवस्था स्पष्ट छ , कुनै पनि व्यक्ति दोषी वा निर्दोष भन्ने निर्णय अदालत र कानुनी प्रक्रियाले गर्छ, सामाजिक सञ्जालको टिप्पणीले होइन। अनुसन्धान, गिरफ्तारी वा अभियोजन प्रमाणका आधारमा हुनुपर्छ राजनीतिक दबाब, सामाजिक सञ्जालको ट्रेन्ड वा व्यक्तिगत आग्रहका आधारमा होइन। यदि राज्यका निकायहरू यस्ता दबाबबाट प्रभावित हुन थाले भने त्यो विधिको शासनको अन्त्यतर्फको यात्रा हुनेछ।

राजनीतिमा आलोचना अपरिहार्य हुन्छ। महेश बस्नेतका विचारको प्रतिवाद गर्न सकिन्छ, उनका तर्कको खण्डन गर्न सकिन्छ, उनको राजनीतिक मूल्याङ्कन गर्न सकिन्छ। तर आलोचनाको उत्तर अश्लील भाषा, व्यक्तिगत अपमान र धम्कीले दिन खोज्नु लोकतान्त्रिक संस्कारको होइन, असहिष्णु मानसिकताको परिचायक हो।

राजनीतिक इतिहासले एउटा शिक्षा दिन्छ , जब कुनै समूहले आफ्ना समर्थकलाई सबै कुरा जायज र विरोधीलाई सबै कुरा अपराध देख्न थाल्छ, त्यहीँबाट व्यक्तिपूजा, अन्धसमर्थन र अन्ततः निरंकुश प्रवृत्तिको जन्म हुन्छ। लोकतन्त्रमा नेता होइन, कानुन सर्वोपरि हुनुपर्छ। समर्थन र विरोध दुवै संविधानको सीमाभित्र रहनुपर्छ।

नेपाललाई आज प्रतिशोधको राजनीति होइन, सहिष्णु राजनीतिक संस्कृतिको आवश्यकता छ। विचारको प्रतिवाद विचारले, आरोपको परीक्षण प्रमाणले र अपराधको फैसला अदालतले गर्नुपर्छ। सामाजिक सञ्जाल गालीगलौजको रणभूमि होइन, नागरिक चेतनाको सार्वजनिक मञ्च बन्न सके मात्र लोकतन्त्र बलियो हुन्छ।

अन्ततः, कुनै पनि नेता वा दलको वास्तविक शक्ति आफ्ना समर्थकको गालीमा होइन, आफ्ना विचारको नैतिक बलमा मापन हुन्छ। लोकतन्त्रमा जित्ने सबैभन्दा ठूलो माध्यम प्रतिशोध होइन , संयम, विधिको शासन र सभ्य संवाद हो।  

(लेखक वरिष्ठ पत्रकार एव अधिवक्ता हुनुहुन्छ)


२०८३ असार ३० १३:१७ बजे

प्रतिक्रिया