बेपत्ता योद्धाहरुको स्मरण र सम्मानमा केही शब्द

bimbonline नारायण शर्मा
२०८३ ज्येष्ठ ७ १३:४६ बजे

आज जेष्ठ ७, बेपत्ता योद्धा दिवस अर्थात् माओवादी उच्च्तम नेता क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लाई राज्यद्वारा बेपत्ता पारिएको दिन  हार्दिक स्मरण, आत्मीय सम्मान र संघर्षशील सलाम उहाँलगायत सम्पूर्ण वीर बेपत्ता योद्धाहरु ।

वि. सं. २०५२-६२ मा विश्वको सर्वोच्च शिखर भएको देश नेपालमा देस र जनताको मुक्ती र क्रान्तिको लागि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा दस बर्षे महान् जनयुद्ध भयो । त्यसका दौरानमा तत्कालिन प्रतिक्रियावादी राज्यसत्ता र त्यसका जल्लादहरुले युद्धमा प्रत्यक्षत असंलग्न नेपाल आमाका सच्चा क्रान्तिकारी वीर सपुत सर्वसाधारण निशस्त्र नागरिकहरुलाई समेत गैरकानुनी गिरफ्तार गरी रहस्यमय रुपमा हजारौंलाई बलपूर्वक कुटपिट, जेलनेल, बलात्कार र हत्यासमेत गरी बेपत्ता बनायो । तिनै वीरवीराङ्गना बहादुर र बलिदानदातामध्ये एक क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लाई बेपत्ता पारिएको अविस्मरणीय दिन हो जेठ ७ ।

त्यसैले आजको दिन नयाँजनवादी गणतन्त्र नेपालको निर्माण गरी भोकानाङ्गा, गरिबदुखी र शोषितपीडित जनताको लागि न्याय समानता, सुख शान्ती र मुक्ति प्रगतिको सुदिन ल्याउने महाअभियानमा जीवन बेपत्ता बनाएका अमर योद्धाहरुको स्मरण, सम्मान र सलामी गर्ने एक अधिक ऐतिहासिक महत्वको दिवस हो । यसैदिन २०५६ सालमा हाम्रो तत्कालीन गौरवशाली पार्टी माओवादीका केन्द्रीय सदस्य हाम्रा अति इमान्दार क्रान्तिकारी श्रद्धेय नेता कमरेड दण्डपाणि न्यौपाने (क. दीपेन्द्र शर्मा, जो बेपत्ता पारिनुभएका एकमात्र केन्द्रीय सदस्य हुनुहुन्छ ) लाई काठमाडौं न्युरोड छेउँको संकटा मन्दीरनेरबाट राज्यले विधिपूर्वक होइन बलपूर्वक गिरफ्तार गरी बेपत्ता बनाएको थियो । त्यसैले यसै दिनलाई एउटा प्रतीक मानेर उहाँलगायत राज्यद्वारा गैरकानुनी र बलजफ्ती बेपत्ता पारिनुभएका सम्पूर्ण वीर योद्धाहरुको सम्झना र सम्मान स्वरुप तत्कालीन नेकपा (माओवादी)ले जेठ ७ गतेलाई बेपत्ता योद्धा दिवसको रुपमा मनाउने निर्णय गरी हरेक बर्ष मनाउने गर्न लागिएको हो । यससन्दर्भमा म सर्वप्रथम प्रतिकृयावादी राज्यसत्ताद्वारा बेपत्ता बनाइएका सहयोद्धा कमरेड दीपेन्द्र शर्मालगायत सबै वीर वेपत्ता योद्धाहरुमा म हार्दिक सम्झना, उच्च सम्मान र क्रान्तिकारी सलामी अर्पण गर्दछु । साथै यस ऐतिहासिक अवसरमा राष्ट्रमुक्ती र जनमुक्तिको महाअभियानको यात्रामा लामबद्ध हुँदा जीवनको आहुती दिने सम्पूर्ण सहिद, घाइते-अपाङ्ग योद्धा र त्यागबलिदानको यो बाटोमा समर्पित हुनुहुने सबै सच्चा क्रान्तिकारी अग्रजहरु, सहयोद्धाहरु र अनुयायी(उत्तराधिकारी अनुजहरुलाई अभिनन्दन गर्नु मैले आफ्नो अहं कर्तव्य ठान्दछु ।

जनयुद्धको थालनी गर्दाका माओवादीका तत्कालीन १९ जना केन्द्रीय सदस्यमध्ये एक भएको नाताले अनि क दीपेन्द्र शर्मासँग छुट्टिंदा अलि चतुर हुन नसकेर उहाँसँग छुट्टिएको एकघण्टाजतिमै उहाँ गिरफ्तार हुनुभै अन्ततः आजीवन बेपत्ता पारिनुभएकोले पनि उहाँको यो अवस्था भएको हो कि भन्ने दुखानुभूती हुँदा पनि म विशेष रुपले जिम्मेवार र भावुक हुँदै क दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लगायत सम्पूर्ण बेपत्ता योद्धाहरुप्रती विशेष स्मरण र अभिवादन गर्न चाहन्छु । यति मात्र होइन, नेताहरु इतरका कोही जुट्ते वा भितरका कोहीए फुटेर अनि इतर-भितरकामध्ये कोही लुटेर वा छुटेर अथवा कोही बढी पाएर-खाएर मात्तिएर वा कोही त्यही नपाएर आत्तिएर र तात्तिएर भिडेका र हिंडेका छन् भने कोही विचारको बहाना बनाएर विपक्षीसँगको बहसमा विजयी बन्न नसकेर हारथाक भई गुटउपगुट बनाउँदै क्रान्तिकारी वकबास गरिरहेका छन् । त्यस्तो हुँदा आन्दोलन कमजोर भै आज बेपत्ता योद्धाहरुको मात्र होइन सहिद, घाइते, योद्धा तथा जनयुद्धका सबैजसो सच्चा, इमान्दार र स्वच्छ क्रान्तिकारी नेताकार्यकर्ताहरु पनि वर्तमान राज्यद्वारामात्र होइन कि सम्बन्धित पार्टी, नेता र तिनका सरकारहरुबाट समेतविस्मृत, उपेक्षित र अपमानित भैरहेको दुखदतम स्थिति छ । यो अवस्थामा म पनि बाध्यताबस पातालको आतंककारी शत्रु राष्ट्रमा आई खुम्चिएर बस्नु परेको विडम्बना छ ।

यो दुखद विडम्बनाका बीचमा मेरो कुनै जमघटका कार्यक्रमहरुमाउपस्थित हुन सकिने स्थिती न बनिरहेको सन्दर्भमा हाम्रा सच्चा क्रान्तिकारी यी वीर बेपत्ता योद्धाहरुप्रती यसप्रकारको हार्दिक सम्झना, उच्च सम्मान र क्रान्तिकारी सलामी व्यक्त गर्नु उचित र आवश्यक देखिएकोले यो छोंटो आलेख तयार गर्न लागिएको हो । योभन्दा बढी गर्न पर्ने हुँदाहुँदै पनि गर्न विवशतावस गर्न नसकिएकोमा क्षमा याचना गर्नु वान्छनीय भएको छ । त्यसैले अन्तमा यो गम्भीर र संवेदनशील घडीमा सबै स्वच्छ र इमान्दार योद्धाहरुको सम्झना र सम्मान तथा उहाँहरुका क्रान्तिकारी विचार र कार्यहरुको सक्दो अवलम्बन र कार्यान्वयन गर्ने-गराउने प्रण-प्रतिज्ञा गर्नु पनि मेरो समेत जिम्मेवारी भएको महसुस भएको छ । साथै जनयुद्ध, जनयोद्धा, सहिद, बेपत्ता, घाइते, अपाङ्ग र समर्पित नेता-कार्यकर्ता र जनताप्रती धोका, विश्वासघात र गद्दारी गर्ने तर साम्राज्यवादी-विस्तारवादी वैदेशिक शक्तिकेन्द्रहरुको दलाली र गुलामी गर्ने र सहिद-बेपत्ता आदिका सपना कुल्चेर सत्ता र शक्तिको उन्मादमा उन्मत्त भै अट्टहास गर्ने माओवादी लगायतका सम्पूर्ण खाओवादी पार्टी र नेताहरुप्रती घोर निन्दा र भर्त्सना गर्दछु ।

युद्ध समाप्त भै शान्तिसम्झौता भएको पनि आज दुई दशक बितिसकेको छ । यसबीचमा युद्धका क्रममा बेपत्ताकृत सम्पूर्ण योद्धाहरुको यथार्थ स्थिती युद्धसँग सम्बन्धित पार्टीहरु र नेताहरु सबैका एकल-दुकल वा संयुक्त सरकार बन्दासमेत हालसम्म कसैले पनि सार्वजनिकसम्म पनि गर्न सकेका छैनन् वा गरेका छैनन् अथवा गर्न नै चाहेनन् । जे होस्, यसले गर्दा बेपत्ता योद्धाका आफन्तहरु आफ्ना सन्तति-आफन्तीहरुको सास र लासको आश र त्रासको भासमा भासिएर जीवन आँसु र आक्रोशमा डुबाएर तड्पिरहेका छन् र मर्नु न बाँच्नुको दोसाँधमा छन् । यो र यस्तै दुखदतम समस्याहरुको हल गर्न भनेर नै जेन्जी विद्रोह भयो र अहिले देसमा सर्वशक्तीमान् र सर्वसत्तासम्पन्न बालेन सरकार बनेको छ । यसले सम्पूर्ण बेपत्ताकृत नागरिकहरुको यथार्थ स्थिती तत्काल सार्वजनिक गर्न, उनीहरुलाई यथोचित सम्मान गर्न र उनका पीडित परिवारजनहरुलाई आवश्यक परिपूरण प्रदान गर्नको लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु । यसरी यो द्वन्द्वसंग असम्बन्धित वर्तमान सरकारले पीडित र पीडकहरुका बीचमा एकले अर्कालाई त्यो दुखद त्रासदी बिर्सन र क्षमादान  गर्न प्रोत्साहन गरेर आपसमा मेलमिलाप, सहयोग, सद्भाव र शान्ती-समुन्नतिको सन्मार्ग समाउने वातावरण बनाउनको लागि विशेष माग पनि गर्दछु । अन्यथा सामाजिक इतिहासको नियम अनुसार स्वाभाविक, अनिवार्य र अपरिहार्य परिणामस्वरुप फेरि फेरि पनि यस्ता युद्ध, विद्रोह, आन्दोलन र वर्गसंघर्षरुपी उथलपुथल र आँधिबेहरीहरु सानो-ठूलो र ढिलो-छिटो आइरहने सुनिश्चित छ । स्मरणीय रहोस्, नराम्रो गरेपछी मात्र होइन राम्रो गर्न नसकेपछी वा ढिला गरेपछी पनि आफ्नै देसका पटक-पटकका दुईतिहाईका सरकार र तिनका प्रमुखको दम्भ तोडिएको र विश्वविजेता बनेर अजेय कहलिएका सम्राटहरुको पनि हृदयविदारक अवस्था आएको ईतिहास छ । यही गम्भीर चेतावनी वर्तमान बालेन सरकारलाई पनि दिनु आफ्नो यतिबेलाको अहं दायित्व समेत ठान्दछु ।


२०८३ ज्येष्ठ ७ १३:४६ बजे

प्रतिक्रिया