काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकारमाथि कडा टिप्पणी गर्दै देशमा सरकारविरुद्ध बोल्न डरको वातावरण बनेको आरोप लगाएका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गरिब नागरिकमाथि सरकारकै तर्फबाट लुटपाट भइरहेको दाबी गरे।
प्रसाईँका अनुसार सदन प्रभावकारी प्रतिपक्षविहीन अवस्थामा पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिपक्षीको भूमिका अपेक्षा गरिएको भए पनि उपसभामुख पद लिएर सरकारमै सहभागी भएपछि संसद् प्रभावकारी रूपमा प्रतिपक्षविहीन बनेको उनको भनाइ छ। गरिब जनताको पक्षमा आवाज उठाउने शक्ति कमजोर बन्दै गएको उनले उल्लेख गरे।
उनले निर्वाचनपछिको अवस्थाले अधिकांश दल संकटमा परेको र केही दल फुटको डिलमा पुगेका कारण जनताको पक्षमा बोल्न नसकेको बताए। सरकारको विकासका कामहरू सामाजिक सञ्जालमा मात्रै सीमित रहेको उनको आरोप छ।
प्रधानमन्त्री बालेन शाहप्रति आक्रामक टिप्पणी गर्दै प्रसाईँले आफू तीन महिना मौन बस्न खोज्दा पनि नबोली बस्न नसकेको बताए। उनले हिन्दु अधिराज्य कायम गर्ने, एसपीपी र एमसीसीजस्ता सम्झौता खारेज गर्ने भए सरकारलाई साथ दिन तयार रहेको सर्त समेत राखे।
यसैबीच उनले दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको करिब ९ अर्ब रुपैयाँ भुक्तानी नगरेको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराए। साथै, सरकारले निःशुल्क शिक्षा र स्वास्थ्यको प्रतिबद्धता जनाए पनि स्वास्थ्य बीमाअन्तर्गत करिब १९ अर्ब रुपैयाँ भुक्तानी नगरेको आरोप समेत लगाए।
प्रसाईँले समग्रमा वर्तमान राजनीतिक अवस्था जनतामुखी नभएको दाबी गर्दै सरकार र दलहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
प्रतिक्रिया