राज्य आतङ्क र चरित्रहत्याको पराकाष्ठा-महेश वस्नेत नेकपा(एमाले)नेता

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख ४ १९:०१ बजे

काठमाण्डौ।   नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूमाथि लागेको जबरजस्ती करणी (बलात्कार) र गर्भपतन गराएको भन्ने गम्भीर आरोपको खण्डन गर्दै सनसनीपूर्ण खुलासा गरेका छन्। उनले आफूले एक दशक अघि अर्थात् २०७२ सालमै स्थायी बन्ध्याकरण (फेमिली प्लानिङ) गरिसकेको दाबी गर्दै, आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक र सामाजिक जीवन समाप्त पार्ने सुनियोजित षड्यन्त्र भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामो प्रस्टीकरण दिँदै नेता बस्नेतले आफूलाई फसाउन पटक-पटक झुटा प्रमाणहरू खडा गरिएको जिकिर गरेका छन्। पछिल्लो पटक मनमोहन अस्पतालको गुगल फोटोबाट भेटिएको भन्दै एउटा हदम्याद नाघेको अल्ट्रासाउन्ड रिपोर्टलाई आधार बनाएर गर्भपतन गराएको आरोपसहित पक्राउ पुर्जी माग गरिएकोप्रति उनले कडा आपत्ति जनाएका छन्।

मैले २०७२ मै स्थायी बन्ध्याकरण गरिसकेँ, उल्टै भ्रूण हत्यामा उनलाई कारबाही होस

बस्नेतले आफ्नो बचाउमा सबैभन्दा बलियो तर्कको रूपमा स्थायी बन्ध्याकरणलाई अघि सारेका छन्। मैले २०७२ सालमा नै फेमिली प्लानिङ गरिसकेको छु, उनले फेसबुकमा लेखेका छन्, तर निज महिलाले ३ र ४ पटक गर्भपतन र भ्रूण हत्या गरेको भनेर दाबी गरिरहेकी छिन्। मेरो बन्ध्याकरण भइसकेको अवस्थामा यो कसरी सम्भव छ। उल्टै ती महिलालाई भ्रूण हत्याको विषयमा कारबाही हुनुपर्ने देखिन्छ।

अदालतबाट पटक-पटक सफाइ पाएको दाबी

आफूलाई फसाउन २०८० माघ ९ गते पहिलो पटक जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको झुटो मुद्दा दर्ता गराइएको उनले खुलाएका छन्। प्रहरीको विस्तृत अनुसन्धानले आरोपलाई भ्रामक र कपोलकल्पित ठहर गर्दै मुद्दा तामेलीमा राखेको थियो। सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा परेको रिटसमेत २०८१ भदौ २६ मा खारेज भई आफूले सफाइ पाएको उनको भनाइ छ।

त्यसपछि पनि भारतको एउटा मानसिक अस्पतालको सामान्य कागजलाई आधार बनाएर कात्तिक ६ गते पूरक जाहेरी दर्ता गरिएको, तर काठमाडौँ सरकारी वकिल कार्यालयले प्रमाण नपुग्ने भन्दै मुद्दा अघि नबढाउने निर्णय गरेको उनले उल्लेख गरेका छन्। सोविरुद्ध दायर रिटसमेत खारेज भई सरकारी वकिलको निर्णय सदर भएको उनले दाबी गरेका छन्। २०८० मङ्सिर ७ र फागुन ८ गते भएको भनिएको घटनाको हदम्याद ९दुई वर्ष० समेत सकिसकेको अवस्थामा कानुनको दुरुपयोग भइरहेको उनको जिकिर छ।

राज्य आतङ्क र चरित्रहत्याको पराकाष्ठा

एउटै व्यक्तिलाई एउटै मुद्दामा पटक-पटक जाहेरी दिन नमिल्ने सर्वोच्च अदालतको नजिर र प्राकृतिक न्यायको सिद्धान्तको ठाडो उल्लङ्घन भइरहेको बस्नेतले बताएका छन्। निरन्तर फेसबुक स्टाटस, लाइभ, अनशन र गालीगलौजमार्फत आफ्नो चरित्रहत्या गर्ने काम भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

यस प्रकरणमा आफूसँग जोडिएका करिब ७ जना साथीहरूलाई सरकारले पक्राउ पुर्जी जारी गरेको विषयलाई उनले राज्य आतङ्कको नमुनाु को संज्ञा दिएका छन्। उनले प्रश्न गरेका छन्, के म राजनीतिक व्यक्ति भएकै कारण यस्ता अन्याय र अपमान सहेर बस्नुपर्ने हो रु महिला भएकै कारण जे गरे पनि सबैले सहनु पर्ने हो ?

नेता बस्नेतले आफूविरुद्ध नियोजित रूपमा लागेका तत्त्वहरूले कानुनी राज्यको उपहास गरिरहेको भन्दै अदालतको फैसलाका प्रतिलिपिहरूसमेत सार्वजनिक गरेका छन्। एउटै प्रकृतिको मुद्दामा बारम्बार जाहेरी दर्ता गराउने प्रवृत्तिले मानवअधिकार र कानुनी अधिकारको हनन भएको उनको निष्कर्ष छ।


२०८३ वैशाख ४ १९:०१ बजे

प्रतिक्रिया