काठमाण्डौ। ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको २०८२ हालै सम्पन्न भएको पांचौं बैठकमा १३ वुदे प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ। अन्तराष्टिय परिस्थिति सम्वन्ध ५ वुदा र राष्टिय राजनिति सम्वन्धमा ८ वुदा पारित गरेका छन। जसमा भनिएको छ-
अन्तर्राष्ट्रिय विषयहरु-
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पतोन्मुख अवस्थामा रहेको अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व कायम राख्न आक्रामक नीतिहरु अवलम्बन गर्दै आएकाछन्। सो प्रकृयामा अमेरिकी साम्राज्यवादले २०८२ पौष १९ मा दक्षिण अमेरिकी देश भेनेजुयला माथि विशेष सैन्य कार्रवाई गरि त्यहांका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई लागू औषधको अवैध व्यापारमा संलग्न रहेको कथित आरोप लगाएर गिरफ्तार गरेर निकोलस दम्पत्तिलाई अमेरिकाको न्युयोर्क शहर स्थित बन्दिगृहमा थुनुवा अवस्थामा राखेको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवाद द्वारा एक स्वाधीन तथा सार्वभौम राष्ट्र भेनेजुयला माथि भएको सैन्य अतिक्रमणको घोर भर्त्सना गर्दछ र मदुरो दम्पतिलाई बिनाशर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछ ।
अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादले इरानले निर्माण र विकाश गरेका सैन्य सस्त्रास्त्रहरु तथा आणविक कार्यक्रम बन्द गर्नुपर्ने भन्दै २०८२ फाल्गुन १६ मा इरान माथि आक्रमण गरेर त्यहांका सर्वोच्च नेता आयोतोल्लाह खोमैनी लगायत अन्य उच्चपदस्थ सरकारी अधिकारीहरुको हत्या गर्दै सैन्य कारवाहि जारी राखेकाछन् । हाम्रो पार्टी अमेरिका र इजरायलले इरान माथि गरेको अन्यायपूर्ण युद्धका विरुद्ध इरानले गरेको सशक्त प्रतिकारको समर्थन गर्दछ र सो युद्ध तत्काल अन्त्य गर्न र त्यसबाट हुनगएको मानवीय तथा भौतिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछ ।
दक्षिण एशियाली सहयोग संगठन (सार्क) मा आवद्ध रहेका दुई छिमेकी राष्ट्रहरु पाकिस्तान र अफगानिस्तान बीच एक-अर्का विरुद्ध सैनिक हमला हुंदै आएको छ । सैन्य क्षमतामा बलियो रहेको पाकिस्तानले अफगानिस्तानमा बढी क्षति पुर्याउंदै आएको छ । हाम्रो पार्टी उक्त दुई छिमेकी राष्ट्रहरु बीच सैन्य स्तरमा भएको द्वन्दको आपसी संवाद र वार्ता मार्फत समाधान गर्न आव्हान गर्दछ ।
अमेरिकी साम्राज्यवादले आफ्नो वैश्विक प्रभुत्व कायम राख्न र इजरायल जस्ता विस्तारवादी देशहरुले आफ्नो क्षेत्रिय प्रभुत्व कायम राख्नका लागि उनीहरु संग असहमति राख्ने देशहरुका विरुद्ध आर्थिक नाकाबन्दी गर्ने तथा प्रत्यक्ष सैन्य हस्तक्षेप गर्दै आएका छन् । हाम्रो पार्टी सबैखाले साम्राज्यवादी तथा विस्तारवादी आक्रमण र हस्तक्षेपको कडा शब्दमा भर्त्सना गर्दछ र त्यस प्रकारको साम्राज्यवादी दमनका विरुद्ध एक्येवद्धता जनाउन र संयुक्त मोर्चा मार्फत साम्राज्यवाद विरुद्धको संघर्षलाई सशक्त रुपमा अगाडी बढाउन सम्पूर्ण साम्राज्यवाद विरोधी शक्तिहरुलाई जोडदार आव्हान गर्दछ ।
अमेरिकी साम्राज्यवादले खाडी क्षेत्रमा आफ्नो हैकम जमाउन र इरानलाई घेराउ गर्न गल्फ सहयोग परिषद (जीसीसी) मा आवद्ध रहेका देशहरु सउदी अरब, ओमान, संयुक्त अरब इमिरेटस्, कतार, कुवेत र बहराइनमा सैन्य अखडाहरु स्थापना गरेको छ । हाम्रो पार्टी त्यहां राखेका सम्पूर्ण अमेरिकी सैन्य अखडाहरु हटाउन जोडदार माग गर्दछ ।
राष्ट्रिय विषयहरु
नेपालमा २०८२ भदौ २३ र २४ को जेन(जेड ‘बिद्रोह’ पछि घोषणा भएको संघीय संसदको निर्वाचन २०८२ फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले नेपाली कंग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी जस्ता पूराना संसदीय पार्टीहरुलाई व्यापक मतान्तरले पराजित गरेर सरकार गठन गर्न सफल भएको छ । यो सरकारले आवश्यक कानूनी प्रकिया समेत पूरा नगरि आरोपित विपक्षी पार्टीका नेताहरुलाई गिरफ्तार गर्नुका साथै मजदूर, विद्यार्थी र कर्मचारी यूनियन लगायत जनवर्गीय तथा पेशागत संगठनहरु माथि प्रतिबन्ध लगाउने जस्ता अलोकतान्त्रिक र दमनात्मक कार्यहरु मार्फत फासिवादी कदम अघि बढाएको छ । हाम्रो पार्टी त्यसप्रकारका कार्यको हदैसम्म कडा शब्दमा विरोध तथा भर्त्सना गर्दछ र त्यसका विरुद्ध हुने संघर्षमा एकजुट भएर अगाडी बढ्न सम्पूर्ण न्यायप्रेमि जनसमुदाय,राजनीतिक पार्टी, संगठन, शक्ति र व्यक्तिहरुलाई आव्हान गर्द्छ ।
जेन(जेड ‘बिद्रोह’ भए देखि फागुन २१ को संसदीय निर्वाचन हुंदै रास्वपाको एकल बहुमतको सरकार गठन सम्म आइपुग्दा नेपालको राजनीति र समग्र राज्य प्रणाली माथि अमेरिकी साम्राज्यवाद र त्यसका मतियार विदेशी शक्तिहरु हावी हुन पुगेको देखिएको छ । यस प्रकारको अवस्थामा देशको स्वाधीनता र सार्वभौमिकता माथि गम्भीर संकट मडारिएको छ । हाम्रो पार्टी देशको स्वाधीनता र सार्वभौमिकताका रक्षाको लागि सम्पूर्ण देशभक्त र राष्ट्र प्रेमी जनसमुदाय, शक्ति र पक्षहरुलाई एकजुट भै संघर्षमा उत्रन जोडदार अपिल गर्दछ ।
जेन(जेड ‘विद्रोह’ को दौरानमा भदौ २३ र २४ गते घटेका घटनाहरुको छानबीन गरेर दोषी माथि कारवाहीको लागि सिफारिश गर्न गौरी बहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा २३ गतेको घटनामा मात्र केन्द्रित भएर कारवाहीको सिफारिश गरेको र २४ गतेको घटनामा संलग्न भएकाहरुका बारेमा केहि गरेको छैन । हाम्रो पार्टी उक्त प्रतिवेदन पूर्वाग्रहपूर्ण तरिकाले तयार पारेको ठान्दछ र त्यस प्रकारको शैलिको कडा विरोध गर्दछ ।
रास्वपा सरकार द्वारा जारी गरिएको एकसय बुंदे कार्यसूची अन्तर्गत ‘राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रुपमा प्रयोग गर्ने’ उल्लेख गरिएको छ । त्यसले नागरिकको राजनीतिक अधिकार सुनिश्चित गर्ने नागरिकता प्रमाणपत्रलाई समेत प्रतिस्थापन गर्दछ । हाम्रो पार्टी सरकारले त्यस प्रकारको निर्णय गरेर गम्भिर गल्ति गरेको ठहर गर्दछ र उक्त निर्णयलाई कार्यान्वयन नगर्न जोडदार माग गर्दछ ।
इरानका विरुद्ध अमेरिका र इजरायलले चलाएको युद्दका कारण सम्पूर्ण पश्चिम एशिया (मध्यपूर्व) क्षेत्र प्रभावित हुन पुगेको छ । त्यसको परिणामस्वरूप रोजगारीको लागि त्यहां गएका नेपाली आप्रवासी मजदूरहरु व्यापक रुपमा प्रभावित हुन पुगेका छन् । हाम्रो पार्टी युद्धका कारण प्रभावित हुन पुगेका नेपाली नागरिकहरुलाई तदारुकताकासाथ उद्धार गर्न र सहयोग तथा राहत उपलब्ध गराउन जोडदार माग गर्दछ ।
दुई छिमेकी देशहरु चीन र भारतले नेपाली भूमि लिपुलेक नाका भएर पुनः द्विपक्षीय व्यापार सन्चालन गर्ने कार्यलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानाकारीमा आएको छ । नेपाल सरकारले अहिले सम्म सामान्यतः कुटनीतिक टिप्पणी पठाएर विरोध जनाउने गरेको छ । हाम्रो पार्टी चीन र भारत द्वारा नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विरुद्ध गरिएको अतिक्रमण प्रति घोर आपत्ति व्यक्त गर्दछ र नेपाल सरकारले सशक्त कुटनीतिक पहलकदमी गरी समस्या समाधान गर्न माग गर्दछ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारणले गर्दा दैनिक उपभोग्य वस्तहरुमा महंगी बढेकोछ र त्यसका कारणले गर्दा सर्वसाधारण जनताको दैनिक जीवनमा समस्या परेकोछ। हाम्रो पार्टी बढ्दो महंगी नियन्त्रण गर्न र पेट्रोलियम पदार्थ सर्वसुलभ रुपमा उपलब्ध गराउन माग गर्दछ ।
कृषि उत्पादनमा प्रयोग हुने मलखादमा भएको अभाव र मूल्यवृद्धिका कारण खेति लगाउने समयमा किसानहरु मर्कामा परेकाछन् । हाम्रो पार्टी मलखादको अभाव हुन नदिन र किसानहरुलाई समयमै सुलभ मूल्यमा मलखाद उपलब्ध गराउन माग गर्दछ ।
प्रतिक्रिया