झोले” — संघर्ष, चेतना र अनुशासनको ऐतिहासिक कथा

मानव समाजले निरंकुशता, अन्याय र शोषण विरुद्ध विद्रोह गरेको छ। त्यहाँ एक विशेष प्रकारको मानिस देखिन्छ,जो भीडमा हराउँदैन, जो सत्तासँग सम्झौता गर्दैन, जो व्यक्तिगत लाभभन्दा सामूहिक मुक्ति रोज्छ, र जो निरन्तर आन्दोलनको भित्री संरचना निर्माणमा खटिरहन्छ। यही मानिसलाई आजको विकृत भाष्यमा “झोले” भनिन्छ

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र १८ १२:४२ बजे
लक्ष्मण उप्रेती

इतिहासको प्रत्येक निर्णायक मोडमा, जहाँ–जहाँ मानव समाजले निरंकुशता, अन्याय र शोषण विरुद्ध विद्रोह गरेको छ। त्यहाँ एक विशेष प्रकारको मानिस देखिन्छ,जो भीडमा हराउँदैन, जो सत्तासँग सम्झौता गर्दैन, जो व्यक्तिगत लाभभन्दा सामूहिक मुक्ति रोज्छ, र जो निरन्तर आन्दोलनको भित्री संरचना निर्माणमा खटिरहन्छ। यही मानिसलाई आजको विकृत भाष्यमा “झोले” भनिन्छ, तर वास्तवमा ऊ इतिहासको मौन नायक हो। जब फासिवाद जस्तो खतरनाक राजनीतिक प्रवृत्ति उदय हुन्छ,जहाँ राज्य शक्ति केन्द्रीकृत हुन्छ, विचारमाथि दमन गरिन्छ, र जनताको अधिकार खोसिन्छ,त्यसको पहिलो प्रतिरोध गर्नेहरू यिनै अनुशासित, संगठित र विचारमा स्पष्ट कार्यकर्ताहरू हुन्छन्। फासिवाद खाली सैन्य शक्ति वा राजनीतिक तानाशाही मात्र होइनस यो विचारधारात्मक नियन्त्रण पनि हो, जसले जनतालाई भ्रमित बनाउँछ, डर सिर्जना गर्छ र आलोचनात्मक चेतनालाई नष्ट गर्न खोज्छ। यस्तो अवस्थामा “झोले” भनेर चिनिने कार्यकर्ता नै जनतामा चेतना फैलाउने, संगठन निर्माण गर्ने र प्रतिरोधको आधार तयार गर्ने काम गर्छ। त्यसैले फासिवादका विरुद्धको लडाइँमा “झोले” कुनै परिधीय पात्र होइन, बरु केन्द्रीय शक्ति हो।

विश्व इतिहासलाई अझ व्यापक रूपमा हेर्दा, ल्याटिन अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुक्ति आन्दोलनहरूमा पनि यस्तै चरित्रका मानिसहरूको निर्णायक भूमिका देखिन्छ। उपनिवेशवाद विरुद्धको संघर्षमा, जहाँ विदेशी शक्तिहरूले स्थानीय जनतालाई आर्थिक, सांस्कृतिक र राजनीतिक रूपमा दमन गरेका थिए, त्यहाँ यिनै कार्यकर्ताहरू गाउँ–गाउँ पुगेर जनतालाई संगठित गर्थे, शिक्षा दिन्थे र स्वतन्त्रताको सपना जगाउँथे। उनीहरूसँग न आधुनिक सञ्चार माध्यम थियो, न पर्याप्त स्रोत तर उनीहरूसँग अडिग विश्वास, अनुशासन र जनताप्रतिको गहिरो प्रतिबद्धता थियो। अफ्रिकाका स्वतन्त्रता आन्दोलनहरूमा, ल्याटिन अमेरिकाका गुरिल्ला संघर्षहरूमा, वा एशियाका विभिन्न क्रान्तिकारी आन्दोलनहरूमा, जहाँ पनि जनताले आफ्नो अधिकारका लागि लडाइँ लडे, त्यहाँ “झोले” को आत्मा जीवित थियो। उनीहरू कहिल्यै इतिहासका ठूला किताबमा मुख्य पात्रको रूपमा उल्लेख नहुन सक्छन्, तर उनीहरू बिना कुनै पनि आन्दोलन सफल हुन सक्दैनथ्यो। यस अर्थमा “झोले”  एउटा स्थानीय वा समकालीन शब्द मात्र होइन, यो विश्वव्यापी संघर्षशील चरित्रको प्रतिनिधित्व हो।

समयसँगै समाज र प्रविधि परिवर्तन हुँदै जाँदा “झोले” को रूप पनि परिवर्तन भएको छ, तर यसको सार भने उस्तै रहेको छ। आजको डिजिटल युगमा झोला बोकेर गाउँ–गाउँ हिँड्ने कार्यकर्ताको ठाउँमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यकर्ता आएको छ। अब पर्चा बाँड्ने काम डिजिटल पोस्ट, लेख, भिडियो र अनलाइन अभियान मार्फत भइरहेको छ। तर प्रश्न उठ्छ,के यसले “झोले” को आवश्यकता समाप्त गर्‍यो ? यसको उत्तर स्पष्ट रूपमा “होइन” , माध्यम परिवर्तन भएको हो। तर उद्देश्य, संघर्ष र अनुशासनको आवश्यकता अझै उस्तै छ। बरु, डिजिटल युगमा झनै नयाँ चुनौतीहरू थपिएका छन्,सूचनाको बाढी, भ्रम र गलत जानकारीको प्रसार, सतही बहस, र ध्यानको विखण्डन। यस्तो अवस्थामा झनै स्पष्ट विचार, गहिरो अध्ययन र संगठित प्रयास आवश्यक हुन्छ। यदि डिजिटल कार्यकर्ता मात्र “लाइक” र “शेयर” मा सीमित हुन्छ भने ऊ वास्तविक परिवर्तनको वाहक बन्न सक्दैन, तर यदि ऊ अनुशासित, अध्ययनशील र संगठनसँग जोडिएको छ भने, ऊ आधुनिक “झोले” को रूप हो,जसले नयाँ माध्यम प्रयोग गरेर संघर्षलाई अघि बढाइरहेको छ।

तर यहाँ एउटा गम्भीर खतरा पनि छ, जसलाई बुझ्न जरुरी छ। डिजिटल स्वतन्त्रताको नाममा फैलिएको अराजकता, व्यक्तिगत ब्रान्ड निर्माणको होड, लोकप्रियतावाद ,उपभोक्तावाद र संगठनभन्दा माथि व्यक्तिगत विचारलाई राख्ने प्रवृत्तिले सामूहिक आन्दोलनलाई कमजोर बनाइरहेको छ। धेरैले “स्वतन्त्र सोच” को नाममा कुनै पनि अनुशासनलाई अस्वीकार गर्छन्, कुनै पनि संगठनात्मक संरचनालाई “पुरानो” भन्छन्, र व्यक्तिगत अभिव्यक्तिलाई नै अन्तिम सत्य ठान्छन्।र संगठनमा जनवादी केन्द्रीयताको सिद्धान्तलाई उपेक्षा गर्छ्न। तर इतिहासले के देखाएको छ  भने, कुनै पनि ठूलो परिवर्तन खाली व्यक्तिगत प्रयासबाट सम्भव हुँदैन त्यसका लागि संगठित शक्ति, साझा उद्देश्य र अनुशासित कार्यशैली आवश्यक हुन्छ। यही सन्दर्भमा “झोले” को भूमिका पुनः महत्वपूर्ण बन्छ, किनकि ऊ व्यक्तिगत अहंकारभन्दा माथि उठेर सामूहिक लक्ष्यका लागि काम गर्छ, ऊ अस्थायी लोकप्रियताभन्दा दीर्घकालीन परिवर्तनलाई प्राथमिकता दिन्छ, र ऊ अराजक स्वतन्त्रताभन्दा जिम्मेवार स्वतन्त्रताको पक्षमा उभिन्छ।

यसै सन्दर्भमा “झोले” शब्दको वैचारिक पुनर्निर्माण अपरिहार्य देखिन्छ। जबसम्म यो शब्दलाई अपमानको रूपमा प्रयोग गरिन्छ, तबसम्म यसले जनपक्षीय आन्दोलनहरूलाई कमजोर पार्ने काम गर्छ। त्यसैले आवश्यक छ,यसलाई सकारात्मक, सम्मानजनक र प्रेरणादायी अर्थमा पुनःस्थापित गर्ने। “झोले” भनेको अन्धभक्त होइन, बरु सचेत, अध्ययनशील र प्रतिबद्ध कार्यकर्ता होस “झोले” भनेको आदेश पालक होइन, बरु विचार र संगठनप्रति जिम्मेवार व्यक्ति होस “झोले” भनेको कमजोर होइन, बरु त्याग, साहस र धैर्यको प्रतीक हो। जब यो नयाँ अर्थ समाजमा स्थापित हुन्छ, तब मात्र भाषिक स्तरमा भइरहेको वर्गीय आक्रमणलाई परास्त गर्न सकिन्छ।

अन्ततः, “झोले” को कथा कुनै एउटा शब्दको कथा मात्र होइन यो मानव समाजको प्रगतिशील यात्राको कथा हो, जहाँ हरेक युगमा केही मानिसहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर ठूलो उद्देश्यका लागि संघर्ष गरेका छन्। उनीहरूले कहिल्यै सजिलो बाटो रोजेनन्, उनीहरूले सधैं चुनौती, जोखिम र त्यागको बाटो रोजे, र त्यसैले उनीहरूले इतिहासलाई अगाडि बढाए। आज पनि संसार विभिन्न संकटहरू,असमानता, निरंकुशता, सांस्कृतिक विखण्डन र वैचारिक भ्रमसँग जुधिरहेको छ, त्यस्ता “झोले” हरूको आवश्यकता महत्त्व झनै बढेको छ।जो विचार बोकेर,चेतना बोकेर, डिजिटल माध्यममार्फत एवं  जुनसुकै रूपमा भए पनि,जनताको पक्षमा उभिन्छ, अन्यायविरुद्ध बोल्छ, र न्यायपूर्ण समाजको निर्माणका लागि संघर्ष गर्छ, उही सच्चा अर्थमा “झोले” हो।

त्यसैले निष्कर्ष स्पष्ट छ,“झोले” कुनै गाली होइन, यो एउटा ऐतिहासिक जिम्मेवारी होस यो कुनै कमजोरीको संकेत होइन, यो चेतनाको उच्चतम रूप होस र यो कुनै व्यक्तिगत पहिचान मात्र होइन, यो सामूहिक संघर्षको जिवन्त प्रतीक हो। जबसम्म संसारमा अन्याय छ, तबसम्म “झोले” रहनेछ, र जबसम्म “झोले” रहनेछ, तबसम्म परिवर्तनको सम्भावना कहिल्यै समाप्त हुने छैन।

     

२०८२ चैत्र १८ १२:४२ बजे

प्रतिक्रिया