साउदी एयरवेसमा इरानको आक्रमण

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र १५ १४:३९ बजे

साउदी अरबस्थित एक अमेरिकी सैन्य एयरबेसमा इरानले गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल र अमेरिकाले सुरु गरेको युद्ध दोस्रो महिनामा प्रवेश गरिरहेका बेला यो आक्रमण भएको हो।

शुक्रबार भएको आक्रमणमा साउदी अरबको प्रिन्स सुल्तान एयरबेसलाई लक्षित गर्दै कम्तीमा ६ वटा ब्यालिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रयोग गरिएको बताइएको छ। आक्रमणपछि पाँच जना सैनिकको अवस्था गम्भीर रहेको जनाइएको छ।

रिपोर्टअनुसार आक्रमणका बेला सैनिकहरू एयरबेसभित्र रहेको भवनमा थिए। एक अमेरिकी अधिकारीका अनुसार कम्तीमा १२ सैनिक घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।

इरानको सैन्य मुख्यालयका प्रवक्ताले आक्रमणबाट इन्धन भर्ने एक विमान पूर्ण रूपमा नष्ट भएको र अन्य तीन विमानमा क्षति पुगेको दाबी गरेका छन्। उपग्रह तस्बिरहरूले पनि एयरबेसमा रहेका केही विमानहरू नष्ट भएको देखाएका छन्।यो एयरबेस साउदी अरबको राजधानी रियादबाट करिब ९६ किलोमिटर टाढा रहेको छ। यसलाई साउदी वायुसेनाले सञ्चालन गरे पनि अमेरिकी सेनाले पनि प्रयोग गर्दै आएको छ।

यसअघि पनि सो एयरबेसमा दुई पटक आक्रमण भइसकेको छ, जसमा १४ अमेरिकी सैनिक घाइते भएका थिए। इरानले खाडी क्षेत्रका ती देशहरूलाई निशाना बनाउँदै आएको छ, जसलाई उसले अमेरिकाको आक्रमणका लागि प्रयोग गरिएको आधार स्थलको रूपमा आरोप लगाएको छ।

यता, अमेरिकाले पनि इरानमाथि आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा इरानको बुशेहर आणविक ऊर्जा केन्द्रलाई लक्षित गरिएको भए पनि कुनै ठूलो क्षति वा मानवीय हताहती नभएको जनाइएको छ।

यस युद्ध सुरु भएयता कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। इरानतर्फ भने हजारौँ सैनिक प्रभावित भएको अनुमान गरिएको छ।इरानले ओमान नजिक अमेरिकी सहयोगी जहाजलाई पनि लक्षित गरेको जनाएको छ, तर यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिएको छ र आगामी दिनमा थप द्वन्द्व बढ्न सक्ने संकेत देखिएको छ।


२०८२ चैत्र १५ १४:३९ बजे

प्रतिक्रिया