नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको घण्टी चिन्हमा भोट दिने समर्थन गर्ने नेता–कार्यकर्ताको खोजी थालेको छ। पार्टी संयोजक प्रचण्डले यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूसमेत आफ्नो पार्टीको उम्मेदवारको पक्षमा सक्रिय नभएको रिपोर्ट आएको बताए। उनका अनुसार करिब ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा गएको प्रारम्भिक जानकारी आएको छ।
प्रचण्डले स्पष्ट रूपमा भने कि कसले आफ्नो क्षेत्रमा काम गरेन, कसले भोट हालेन र कसले ‘घण्टी’मा भोट हाल्यो भन्ने विस्तृत रिपोर्ट ल्याउनुपर्नेछ। उनले यस्ता व्यक्तिहरूमाथि कडा कारबाही अनिवार्य हुने बताए।
उनका अनुसार कारबाहीको प्रक्रिया सबैभन्दा पहिले केन्द्रीय सदस्यबाटै सुरु गरिनेछ। “पार्टी बनाउन हो भने अनुशासन कायम गर्नैपर्छ, नत्र सम्भव छैन,” उनले भने। साथै उनले ‘आँखा चिम्लेर कारबाही’ गरिने चेतावनी दिँदै पार्टी पुनर्गठन यहीँबाट सुरु हुने बताए।
जेनजी आन्दोलनपछि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका कम्युनिस्ट घटक मिलेर बनेको नयाँ नेकपाले यस निर्वाचनमा ठूलो सफलता हासिल गर्ने अपेक्षा गरेको थियो। तर परिणाम उल्टो आयो—रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा नेकपा मात्र ८ सिटमा सीमित भयो।
प्रचण्ड स्वयं रुकुम पूर्वबाट निर्वाचित भए पनि सहसंयोजक माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट पराजित भए। यसले पार्टीभित्र गम्भीर समीक्षा र असन्तुष्टि बढाएको छ।
निर्वाचनपछि पार्टीले सबै तहका कमिटीलाई समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रारम्भिक रिपोर्टहरूमा आफ्नै नेता–कार्यकर्ताबाट पर्याप्त सहयोग नपाउँदा हार व्यहोर्नुपरेको निष्कर्ष आएको बताइएको छ।
प्रचण्डले अब पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन्। उनले अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्दै संगठनलाई चुस्त र प्रभावकारी बनाउन कडा कदम चालिने संकेत गरेका छन्।
प्रतिक्रिया