काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले दुईवटा अमेरिकी लडाकु विमान आफ्नो देशमा अवतरण गराउने अमेरिकाको अनुरोध सरकारले अस्वीकार गरेको बताएका छन् ।
मार्च महिनाको सुरुमा राष्ट्रपति दिसानायकेले शुक्रबार श्रीलंकाको संसद्मा बोल्दै वासिंगटनले मार्च ४ देखि ८ सम्म दक्षिण श्रीलंकाको मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका लागि अनुमति मागेको जानकारी दिए । यो अनुरोध फेब्रुअरी २६ मा गरिएको थियो, जुन अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गर्नुभन्दा दुई दिनअघिको समय थियो ।
“उनीहरू जिबुतीको सैन्य बेसबाट आठवटा एन्टी–सिप मिसाइलले सुसज्जित दुईवटा युद्धविमान ल्याउन चाहन्थे,” दिसानायकेले सांसदहरूलाई जानकारी गराए, “श्रीलंकाको तटस्थता कायम राख्न हामीले उक्त अनुरोधलाई अस्वीकार गर्यौँ ।”
श्रीलंकाको सन्तुलित निर्णय
श्रीलंकाका राष्ट्रपतिले मत्ताला विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरण गर्न नदिने निर्णयमा आफ्नो देशको तटस्थतालाई नै मुख्य कारण रहेको बताएका छन् । उक्त उडानको गन्तव्य भने खुलाइएको छैन ।
दिसानायकेले सोही दिन फेब्रुअरी २६ मा इरानबाट पनि अर्को अनुरोध प्राप्त भएको जानकारी दिएका थिए । इरानले तीनवटा नौसेना जहाजलाई श्रीलंकामा ‘सद्भावना भ्रमण’का लागि अनुमति मागेको थियो ।“हाम्राअगाडि दुईवटा अनुरोध थिए । र, निर्णय स्पष्ट थियो,” उनले भने । बढ्दो द्वन्द्वका संकेत देखिएकाले कुनै पनि पक्ष नलिन सरकारले दुवै अनुरोधलाई अस्वीकार गरेको उनले उल्लेख गरे ।
“यदि हामीले इरानलाई ‘हुन्छ’ भनेको भए, अमेरिकालाई पनि ‘हुन्छ’ नै भन्नुपर्ने हुन्थ्यो,” दिसानायकेले भनेका छन् ।इरानले पनि सोही दिन आफ्ना तीनवटा युद्धपोतका लागि यस्तै अनुरोध गरेको थियो, जुन नौसैनिक अभ्यासपछि भारतबाट फर्किएका थिए र श्रीलंकामा ‘पोर्ट कल’ गर्न चाहन्थे ।
तर, अमेरिकाले मार्च ४ मा टापुको दक्षिणी तटनजिकै इरानी जहाजमध्ये एक, आईआरआईएस डेनामाथि टर्पिडो प्रहार गरेको थियो, जसमा कम्तीमा ८४ जना नाविकको मृत्यु भएको थियो । श्रीलंकाको नौसेनाले ३२ जना इरानी जहाजका चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको थियो ।
पछि, श्रीलंकाले ८४ जना नाविकको पार्थिव शरीर स्वदेश फिर्ता पठायो । टापुको दक्षिणमा रहेको मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले एएफपीलाई टेलिफोनमार्फत जानकारी दिँदै भनेका थिए, “इरानद्वारा चार्टर गरिएको एउटा एयरबस ए–३४० नाविकहरूको अवशेष लिएर केही समयअघि मात्र प्रस्थान गरेको छ ।”
“८४ वटा सिल गरिएका बाकस लोड गर्नुपर्ने भएकाले प्रस्थानमा ढिलाइ भएको थियो,” नाम नबताउने सर्तमा ती अधिकारीले भनेका थिए ।श्रीलंकाको परराष्ट्र मन्त्रालयका अनुसार, उद्धार गरिएका ३२ जना नाविक हालका लागि श्रीलंकामै छन् । तीमध्ये २२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । र, उनीहरूलाई टापुको दक्षिणमा रहेको वायुसेनाको एउटा आधार शिविरमा राखिएको छ ।
दोस्रो इरानी युद्धपोत, आईआरआईएस बुसेहेरलाई ‘डेना’ डुबेको एक दिनपछि श्रीलंकाको समुद्री क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको थियो । उक्त जहाजले कोलम्बोसँग सहयोगको अनुरोध गरेको थियो । श्रीलंकले उक्त जहाज र त्यसमा रहेका २१९ जना चालक दलका सदस्यलाई सुरक्षित बन्दरगाह उपलब्ध गराइरहेको छ । अलजजिरा
प्रतिक्रिया