पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको भ्रष्टाचार मुद्दामा दुवैपक्षका वकिल वाट वहसनोट पेश गर्न आदेश

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २५ १९:३६ बजे

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ।

सोमबार( आज) विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै पक्ष कानुन व्यवशायी लाई बहस नोट पेस गर्न निर्देशन दिएको हो। बहस नोट पेस भएपछि न्यायाधीशहरूले मिसिलमा रहेका प्रमाण, दुवै पक्षका कानुन व्यवशायीका तर्क र सम्बन्धित कानुनी प्रावधानको अध्ययनपछि अन्तिम सुनुवाइ गरी फैसला सुनाउनेछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० सम्म सार्वजनिक पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेका छन्। अनुसन्धानका क्रममा उनको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायत स्रोतबाट ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी देखिएको छ।

तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह, सेयर लगानी तथा चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ। आय–व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम देखिएको आयोगले जनाएको छ।

सोडारी नेकपा( एमाले) वाट माधव नेपाल विभाजन हुदा विभाजित भइ समाजवादी पार्टीमा र हाल नेपाली कम्युनिष्ट पार्टीका नेता पनि हुनुहुन्छ।



२०८२ फागुन २५ १९:३६ बजे

प्रतिक्रिया