इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार (२ मार्च) एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे ।
इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो । पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो ।
इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक दुई जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ‘चार हप्ता’ सम्म लम्बिन सक्ने बताएका छन् । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । इरानसमर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ ।
एएफपीले उल्लेख गरेअनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आँकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ ।
प्रतिक्रिया