इरानमाथि अमेरिका -इजरायलको आक्रमण

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १६ १६:१३ बजे

इरानमाथि जारी आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ। डोनाल्ड ट्रम्पले इरानविरुद्ध भइरहेको सैन्य कारबाहीमा अमेरिकाको प्रत्यक्ष संलग्नता स्वीकार गरेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Socia मा आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै इरानमाथिको आक्रमणमा अमेरिका सहभागी रहेको बताएका छन्। भिडियोमा उनले अमेरिकाले इरानमा ठूला लडाइँका कारबाहीहरू सुरु गरेको उल्लेख गरेका छन्।

“हामीले बारम्बार सम्झौता गर्न खोज्यौं, हामीले प्रयास गर्‍यौं,” ट्रम्पले भिडियोमा भनेका छन्, “अब हामी उनीहरूको मिसाइलहरू नष्ट गर्नेछौं र उनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं।”

हालै इजरायलले इरानमाथि आक्रमण तीव्र बनाइरहेका बेला अमेरिकाको संलग्नता पुष्टि हुनु अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यस कदमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिने संकेत देखिएको छ।

अमेरिकाको घोषणापछि इरानको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। तर विश्लेषकहरूले यस घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्न सक्ने आकलन गरेका छन्।

अमेरिका र इरानबीचको तनाव विगतदेखि नै परमाणु कार्यक्रम, प्रतिबन्ध र क्षेत्रीय प्रभावको विषयमा चर्किँदै आएको थियो। ट्रम्पको पछिल्लो वक्तव्यले द्वन्द्वलाई थप खुला र प्रत्यक्ष चरणमा पुर्‍याएको संकेत दिएको छ।


२०८२ फागुन १६ १६:१३ बजे

प्रतिक्रिया