जेन–जी आन्दोलन : घटना, घुसपैठ र वर्गीय स्वार्थको द्वन्द्वात्मक विश्लेषण

आन्दोलनमा अचानक देखिएका संगठित बाईकर समूह, सुरक्षा घेराभित्र पुग्ने क्षमता भएका व्यक्तिहरू, संवेदनशील संरचनामाथि लक्षित आक्रमण,यी सबैले आन्दोलनको चरित्रमा द्वैधता देखाउँछन्। एउटा पाटो स्वतःस्फूर्त आक्रोश थियो भने अर्को पाटो योजनाबद्ध निर्देशनको संकेत देखिन्छ

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १६ १२:४२ बजे
लक्ष्मण उप्रेती

कुनै पनि आन्दोलन आकस्मिक हुँदैन। समाजभित्र लामो समयदेखि थुप्रिएको आर्थिक, राजनीतिक र सांस्कृतिक असन्तोष एकदिन विस्फोट हुन्छ। जेन–जी आन्दोलन पनि त्यस्तै ऐतिहासिक असन्तोषको अभिव्यक्ति थियो। द्वन्द्वात्मक भौतिकवादका अनुसार प्रत्येक विस्फोटको पछाडि ठोस कारणहरू लुकेका हुन्छन्, र परिणामहरू ती कारणभित्रै रहेका अन्तर्विरोधबाट जन्मेका हुन्छन्। त्यसैले घटना बुझ्न परिणाम मात्र हेरेर पुग्दैन। त्यसका भौतिक आधार, शक्ति–सम्बन्ध र अन्तर्विरोधको वास्तविक कारणहरू खोज्नुपर्छ।

आन्दोलनको सतहमा देखिएका दृश्यहरू,आगजनी, विस्फोट, तोडफोड, गोली र मृत्यु यी सबै परिणाम हुन्। तर परिणामलाई मात्र देखाएर कारण लुकाइयो भने त्यो अपूर्ण सत्य हुन्छ। खासगरी जब (BBC) जस्तो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कथानक चित्र निर्माण गर्छ, तब त्यसमा के देखाइयो र के छुटाइयो भन्ने प्रश्न गम्भीर बन्छ। सञ्चारमाध्यमले प्रस्तुत गर्ने दृश्यले जनमत निर्माण गर्छ, तर त्यो दृश्य आफैं पूर्ण यथार्थ नहुन सक्छ। त्यसैले वर्गीय दृष्टिकोणबाट समग्र सन्दर्भको विश्लेषण अनिवार्य हुन्छ।

शान्तिपूर्ण भनिएको आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो कि भएन भन्ने प्रश्न आफैंमा राजनीतिक प्रश्न हो। यदि भयो भने त्यो आकस्मिक हुन सक्दैन। द्वन्द्वात्मक सिद्धान्तका अनुसार स्वतःस्फूर्तता र संगठनबीच सधैं अन्तर्विरोध हुन्छ,जहाँ संगठनको स्पष्ट स्वरूप देखिन्छ, त्यहाँ कुनै न कुनै रणनीति सक्रिय हुन्छ। सामाजिक सञ्जालमार्फत विदेशबाट गरिएका आह्वान, अघिल्लो दिन जारी भएका राजनीतिक विज्ञप्ति, पूर्वतयारीका संकेतहरू, यी सबैलाई अलग–अलग घटनाका रूपमा होइन, समग्र प्रक्रियाको अंशका रूपमा हेर्नुपर्छ।

आन्दोलनमा अचानक देखिएका संगठित बाईकर समूह, सुरक्षा घेराभित्र पुग्ने क्षमता भएका व्यक्तिहरू, संवेदनशील संरचनामाथि लक्षित आक्रमण,यी सबैले आन्दोलनको चरित्रमा द्वैधता देखाउँछन्। एउटा पाटो स्वतःस्फूर्त आक्रोश थियो भने अर्को पाटो योजनाबद्ध निर्देशनको संकेत देखिन्छ। संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्य संरचनामाथि आक्रमण हुनु सामान्य भीड–मनोविज्ञानको परिणाम मात्र हुन सक्दैन। यस्तो आक्रमणले या त उग्र राजनीतिक रणनीति देखाउँछ, या भित्रैबाट निर्देशित अराजकता।

प्रहरीको हतियार लुटिनु, नजिकबाट गोली चल्नु, तालिम प्राप्त जस्तो देखिने प्रदर्शनकारी देखिनु,यी सबै विषयलाई भावनात्मक आवेगबाट होइन, तथ्य र प्रमाणको आधारमा हेर्नुपर्छ। पोस्टमार्टम रिपोर्टमा “एक मिटर नजिकबाट गोली प्रहार” उल्लेख छ भने, त्यसको गम्भीर विश्लेषण आवश्यक हुन्छ। त्यो भिडन्तको क्षण थियो कि नियन्त्रण गुमेको अवस्था? कि कुनै अन्य शक्ति सक्रिय थियो? यस्ता प्रश्नहरूको उत्तर अनुमानबाट होइन, प्रमाणबाट खोजिनुपर्छ।

द्वन्द्वात्मक भौतिकवादका अनुसार राज्य निरपेक्ष हुँदैन. राज्य वर्गीय शक्ति सन्तुलनको उपकरण हो। यदि सुरक्षा निकायहरूबीच समन्वय अभाव देखियो भने, त्यो प्रशासनिक कमजोरी मात्र होइन, राजनीतिक द्वन्द्वको संकेत पनि हुन सक्छ। सेना किन निष्क्रिय देखियो भन्ने प्रश्न पनि यही सन्दर्भमा उठ्छ। यदि निष्क्रिय थियो भने त्यो आदेशको परिणाम थियो कि रणनीतिक प्रतीक्षारु राज्य संयन्त्रको मौनता पनि कहिलेकाहीँ सक्रिय राजनीतिक संकेत हुन्छ।

संकटको घडीमा नेताहरूको मोबाइल नियन्त्रण गरिएको चर्चा सत्य हो भने त्यसको राजनीतिक अर्थ के हो? सूचना नियन्त्रण किन आवश्यक ठानियो? २३ र २४ गतेको मृत्यु संख्यामा आएको परिवर्तनले आन्दोलनको चरित्रमा गुणात्मक मोड आएको संकेत गर्छ कि गर्दैन? द्वन्द्वात्मक नियमका अनुसार मात्रात्मक परिवर्तनले गुणात्मक फड्को ल्याउन सक्छ। त्यसैले समयक्रम र घटनाक्रमलाई सूक्ष्म रूपमा केलाउनुपर्छ।

कुनै वस्तुलाई जुन कोणबाट हेर्छौं, त्यसको स्वरूप त्यस्तै देखिन्छ जसलाइ दृष्टिकोणको प्रभाव भन्न सकिन्छ,जुन बैज्ञानिक अवधारणा हो। त्यस्तै, आन्दोलनले पनि प्रस्तुतिको कोणअनुसार फरक अर्थ ग्रहण गर्छ। जब मिडियाले एउटै पक्षलाई मात्र प्रबल बनाउँछ, जनमत पनि त्यही दिशामा मोडिन्छ। त्यसैले यथार्थ बुझ्न बहुआयामिक दृष्टि आवश्यक हुन्छ।

आन्दोलनमा घुसपैठ को–को थिए भन्ने प्रश्न उठाउनु षड्यन्त्रको सिद्धान्त निर्माण गर्नु होइनस यो राजनीतिक जिम्मेवारीको प्रश्न हो। तर आरोप होइन, प्रमाण आवश्यक छ। यदि सामाजिक सञ्जालमार्फत संगठित उक्साहट थियो भने अनलाइन प्रमाणहरुको तथ्यगत छानवीन हुनुपर्छ। यदि तालिम प्राप्त व्यक्तिहरू संलग्न थिए भने तिनको पहिचान र पृष्ठभूमि सार्वजनिक हुनुपर्छ।

शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक मोड कसले दियो भन्ने प्रश्न नै यस विश्लेषणको केन्द्र हो। भीडको स्वाभाविक मनोविज्ञानले कि नियोजित निर्देशनलेरु जनताको वास्तविक पीडा र योजनाबद्ध प्रयोग एकैसाथ अस्तित्वमा हुन सक्छन्। युवाको आक्रोश वास्तविक थियोस तर त्यो आक्रोशलाई कसैले प्रयोग गर्‍यो भने त्यो पनि सम्भावित सत्य हुन सक्छ।

राज्यले गोली चलायो भने किन चलायो? आत्मरक्षामा, नियन्त्रण गुमाएर, कि अन्य कुनै अदृश्य शक्ति सक्रिय थियो? संसद, कार्यपालिका र न्यायपालिका जस्ता संरचनामाथिको आक्रमणले सरकार मात्र होइन, समग्र राज्य संरचनालाई लक्षित गरेको देखिन्छ। यस्तो आक्रमणबाट लाभ कसले उठायो भन्ने प्रश्न गम्भीर र वर्गीय प्रश्न हो। जेन–जी आन्दोलन नेपाली पूँजीवादी संकट, बेरोजगारी, भ्रष्टाचार र व्यथितिको ऐतिहासिक परिणाम थियो। तर संकटको क्षणमा विभिन्न शक्ति केन्द्रहरू सक्रिय हुनु स्वाभाविक हुन्छ, कोही असन्तोषलाई क्रान्तिमा बदल्न खोज्छन्, कोही अराजकतामा, कोही सत्ता पुनर्संरचनामा।

यस सन्दर्भमा समाधान भावनात्मक प्रतिक्रिया होइनस वैज्ञानिक, पारदर्शी र बहुपक्षीय छानबिन हो। स्वतन्त्र न्यायिक आयोग, सार्वजनिक प्रतिवेदन र खुला प्रक्रियागत बहस अपरिहार्य छन्। यदि घुसपैठ प्रमाणित हुन्छ भने दोषी जोसुकै भए पनि सार्वजनिक हुनुपर्छ। यदि राज्यको हस्तक्षेप वा अतिक्रमण प्रमाणित हुन्छ भने जिम्मेवार पक्ष कानुनी कठघरामा उभिनुपर्छ। जनताको आन्दोलनलाई बदनाम गर्ने र जनताको आक्रोशलाई दमन गर्ने दुवै प्रवृत्ति अन्ततः प्रतिक्रियावादी हुन्छन्।

अन्त्यमा, जेन–जी आन्दोलन न पूर्ण रूपमा अराजक थियो, न पूर्ण रूपमा निष्कलंक। त्यो समय, संरचना र स्वार्थहरूको द्वन्द्वबाट जन्मिएको जटिल प्रक्रिया थियो। सत्य एकतर्फी छानबिनबाट मात्र भेटिँदैनस सत्य र तथ्य्हरु अन्तर्विरोधको गर्भमा लुकेको हुन्छ। त्यसैले आवश्यक पर्छ, घटनाक्रम र परिणामलाई भावनाभन्दा ठोस,सत्य र तथ्यका आधारमा बुझ्ने साहस, वाहिरी प्रचार र सतहमा देखिएको हल्लाभन्दा प्रमाणलाई प्राथमिकता दिने वैज्ञानिक चेतना, र पूर्वाग्रहभन्दा तथ्यलाई आधार बनाउने विवेक। यही बाटोले मात्र हामीलाई यथार्थ सत्यको नजिक पुर्‍याउन सक्छ।


२०८२ फागुन १६ १२:४२ बजे

प्रतिक्रिया