क्रान्तिकारी निर्णय “विश्वास” वा “अविश्वास”

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ९ १३:१२ बजे
लक्ष्मण उप्रेती नेता नेकपा

निर्वाचन, सम्बन्धि नेकपाको निर्णय कम्युनिस्ट आन्दोलन र पार्टी निर्माणको वैचारिक आधार हो।नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास सत्ता र पद प्राप्तिको संघर्ष मात्र थिएन र होइन।यो विचार, व्यवहार र वर्गसंघर्षको निरन्तर परीक्षण हो। यो आन्दोलन बारम्बार एउटै प्रश्नसँग ठोक्किने गरेको छ, हामी कसलाई विश्वास गर्छौं ? र केलाई अविश्वास गर्छौं ? यो प्रश्न भावनात्मक मात्र होइन यो गम्भीर रूपमा वैचारिक, संगठनात्मक र राजनीतिक प्रश्न हो।

लेनिनले “विश्वास” र “अविश्वास” लाई कुनै व्यक्तिगत रुचि, मनोदशा वा आवेगको विषय मानेनन्। उनका लागि विश्वास भनेको कार्यक्रम, नीति र विधिद्वारा औपचारिक रूपमा निर्धारित राजनीतिक निष्ठा हो। र अविश्वास भनेको त्यही औपचारिक मापदण्डबाट विचलित हुने प्रवृत्तिप्रतिको वैज्ञानिक अस्वीकार हो। यही दृष्टिकोण आजको नेपाली कम्युनिस्ट आन्दोलनका लागि निर्णायक बन्दै गएको छ।

 भावनात्मक विश्वास होइन, वैचारिक विश्वास :नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर हुनुको एक प्रमुख कारण, “विश्वास” लाई भावनाको विषय बनाइनु हो। व्यक्ति, अनुहार, भाषण र तात्कालिक लोकप्रियतामाथि आधारित विश्वासले आन्दोलनलाई बारम्बार भ्रममा पारेको छ।लेनिन भन्नू हुन्छ- जब विश्वास अनौपचारिक हुन्छ, तब गुटबन्दी, मनपरीतन्त्र र स्वेच्छाचार जन्मिन्छ।आज नेपालमा देखिएको संसदीय कम्युनिस्ट राजनीति यही रोगको परिणाम हो। निर्वाचनलाई नै अन्तिम सत्य ठान्ने, संसदलाई नै संघर्षको केन्द्र बनाउने र राज्यको वर्गीय चरित्रबारे मौन बस्ने प्रवृत्ति वैचारिक विचलन हो।

फागुन २१को निर्वाचनप्रतिको प्रश्न :नेपाल कम्युनिस्ट पार्टीद्वारा गरिएको निर्वाचन अस्वीकारको निर्णय कुनै आवेग, हठ वा निराशाबाट आएको होइन। यो निर्णय राज्यको वर्गीय विश्लेषण, निर्वाचन प्रणालीको संरचना र साम्राज्यवादी हस्तक्षेपको वस्तुगत अध्ययनबाट निष्कर्षित भएको हो। फागुन २१को निर्वाचन जनताको सार्वभौम निर्णयको माध्यम होइन, वर्गसंघर्षलाई निष्क्रिय बनाउने औजार हो, र शासक वर्गको आन्तरिक व्यवस्थापनको प्रक्रिया हो,साम्राज्यवादी परियोजना हो। यस्तो निर्वाचनप्रति “विश्वास” देखाउनु भनेको वास्तवमा जनताप्रति अविश्वास गर्नु हो। लेनिनको भाषामा, यो “अनुशासनको परिधि बाहिर निस्किएको बुद्धिजीवी दृष्टिकोण” हो, जसलाई उनले नोकरशाही तरिका भनेका छन्।

पार्टी निर्णय र औपचारिक विश्वास:कम्युनिस्ट पार्टीमा विश्वास व्यक्तिमा होइन, निर्णयमा हुनुपर्छ। निर्णय कार्यक्रम, नीति र विधि विधानको औपचारिक प्रक्रियाबाट जन्मिन्छ।नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन अस्वीकार गर्ने निर्णय यही औपचारिक आधारमा उभिएको छ। त्यसैले यो निर्णय मान्नु भनेको क्रान्तिकारी अनुशासन स्वीकार गर्नु, व्यक्तिगत विवेकलाई सामूहिक विवेकमा विलय गर्नु, र दीर्घकालीन संघर्षको कार्यदिशा र रणनीतिमा प्रतिबद्ध हुनु हो।जो यसलाई “कट्टरता”, “अवास्तविकता” वा “जनताबाट टाढा जाने कदम” भन्छन्, उनीहरू वास्तवमा भावनात्मक विश्वासको राजनीति गर्न खोजिरहेका छन्। लेनिनले यस्ता प्रवृत्तिलाई स्पष्ट शब्दमा अराजकतावादी र सञ्ज्ञानात्मक विचलन भनेका छन्।

अविश्वास : अविश्वास नकारात्मक मात्र होइन, क्रान्तिकारी गुण पनि हो। अविश्वासलाई नकारात्मक रूपमा मात्र बुझ्ने प्रवृत्ति बुर्जुवा चेतनाको प्रभाव हो। कम्युनिस्ट आन्दोलनमा अविश्वास अवसरवादप्रति,सुधारवादप्रति,र साम्राज्यवादी प्रपञ्चप्रति हुनु एक क्रान्तिकारी गुण हो।नेपाल कम्युनिस्ट पार्टीले वर्तमान निर्वाचन प्रणालीप्रति अविश्वास व्यक्त गर्नु भनेको लोकतन्त्र अस्वीकार गर्नु होइन यो झुटो लोकतन्त्रको पर्दाफास हो।

अन्त्यमा, विश्वास क्रान्तिमा, अविश्वास भ्रममास:आजको ऐतिहासिक परिस्थितिमा नेपाल कम्युनिस्ट आन्दोलनलाई भावनात्मक एकता मात्र होइन, वैचारिक स्पष्टता चाहिएको छ। विश्वास व्यक्ति, चुनाव र सत्तामा होइन, क्रान्तिकारी कार्यक्रम,  व्यबहारिक कार्यनीति, वैज्ञानिक रणनीति र जनताको दीर्घकालीन मुक्ति संघर्षमा हुनुपर्छ।नेपाल कम्युनिस्ट पार्टीको निर्वाचनसम्बन्धी निर्णय यही आधारमा उभिएको छ। यो निर्णय मान्नु भनेको क्रान्तिको पक्ष लिनु हो।र यसप्रति अविश्वास गर्नु भनेको अझै भ्रमपूर्ण घेराभित्र बसिरहनु हो।तसर्थ ,भ्रमपूर्ण घेरावाट बाहिर निस्कौ। व्यबहारिक कार्यनीति अपनाऔ। बैज्ञानिक रणनीतिमा बिश्वास गरौ। क्रान्तिको सहि बाटोमा अधिबढौ।


२०८२ फागुन ९ १३:१२ बजे

प्रतिक्रिया