कुनै पनि वस्तु, व्यक्ति, विचार वा घटनाको जन्म, विकास र मरण वा विनास तीभित्र अन्तर्निहित जीवनशील र मरणशील, सकारात्मक र नकारात्मक, अग्रगामी र पश्चगामीजस्ता विभिन्न दुई विपरीत पक्ष र तत्वहरुबीच चल्ने अन्तरसंघर्ष वा द्वन्द्वमा भर पर्दछ । यही नियम वामपन्थी क्रान्तिकारी र माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका सन्दर्भमा पनि सत्य हो । कुनै कम्युनिष्ट पार्टी भित्र मूलतः दुईथरी शक्ति, प्रवृत्ति, पक्ष वा तत्व रहेका हुन्छन् । ती हुन् क्रान्तिकारी र अवसरवादी, वामपन्थी र दक्षिणपन्थी वा सच्चा मार्क्सवादी र नक्कली र संशोधनवादी र सुधारवादीजस्ता गैरमार्क्सवादी आदि । यस्ता दुई विपरीत व्यक्ति, शक्ति र प्रवृत्ति, पक्ष वा तत्वहरुबीच चल्ने स्वस्थ वा अस्वस्थ, रचनात्मक वा विध्वंसात्मक र मैत्रीपूर्ण वा दुश्मनीपूर्ण अर्थात् सही वा गलत अन्तर्संघर्ष वा द्वन्द्वले गर्दा नै पार्टीको विकास वा विनास, प्रगति वा दुर्गति सबल वा दुर्बल हुने हुन्छ । त्यो अन्तरसंघर्षमा आन्तरिक र बाह्य दुई प्रकारका कारणले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । ती दुइथरी कारणमध्ये पनि मुख्य भूमिका आन्तरिक कारणको नै हुन्छ भने बाह्य कारणको भूमिका महत्वपूर्ण त हुनसक्छ तर त्यसको भूमिका सहायक नै हुन्छ, मुख्य र निर्णायक हुन सक्तैन र हुँदैन पनि । यो मार्क्सवाद-लेनिनवाद-माओवाद वा विचारधारा मान्ने कम्युनिस्ट क्रान्तिकारीहरुको द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता नै हो ।
कुनै क्रान्तिकारी पार्टीभित्र स्वाभाविक रुपले क्रान्तिकारीहरु बहुसंख्यक, सुदृढ र निर्णायक अवस्था र शक्तिमा भए पनि त्यहाँ सानो, कमजोर र अदृश्य शक्तिको रुपमा गैरक्रान्तिकारीहरु रहेकै हुन्छन् वा भनौं क्रान्तिकारीहरुभित्रै पनि व्यक्ताव्यक्त, दृश्यादृश्य र जानअन्जान रुपमा उग्रवामपन्थी, मध्यपन्थी वा दक्षिणपन्थीजस्ता गैरक्रान्तिकारी प्रवृत्ति विद्यमान हुन्छन् । यी क्रान्तिकारी र गैरक्रान्तिकारी शक्ति र प्रवृत्तिहरुबिच निरन्तर संघर्ष चल्दछ । यो संघर्ष विचार-राजनीती केन्दृत, देस र जनताको मुक्ती-स्वतन्त्रता लक्षित, रचनात्मक, सत्यान्वेषी, तथ्यसंगत र इमान्दारीपूर्ण भयो भने त्यस्तो संघर्ष रअन्तसंघर्षले पार्टीलाई गतिशील, विकसित, सुदृढ, सबल र सक्षम बनाउँछ । त्यसैले त अन्तसंघर्ष वा पार्टीभित्र चल्ने दुई लाइनसंघर्षलाई चालक शक्ति, जीवनशक्ती वा प्राणशक्ति भनी मानिएको हो । यो संघर्षमा क्रान्तिकारी पक्षका तर्फबाट हुने सबल वा दुर्बल, सही वा गलत, क्रान्तिकारी वा गैरक्रान्तिकारी, वस्तुवादी वा अवस्तुवादी, उदार वा अनुदार विचार र व्यवहार नै पार्टीलाई सफल वा असफल, सबल वा दुर्बल, विजयी वा पराजयी र क्रान्तिकारी वा प्रतिक्रान्तिकारी बनाउनमा निर्णायक भूमिका खेल्दछन् । यसरी स्पष्ट छ कि नेपालका क्रान्तिकारी भनिएका जनयुद्धकारी माओवादी लगायतका सबै कम्युनिस्ट पार्टी र आन्दोलनको उत्थान र पतन, सफलता र असफलता, विकास र विनास अर्थात् क्रान्ति र प्रतिक्रान्तिका मुख्य कारक पनि पार्टी भित्रका क्रान्तिकारीपक्ष र तीभित्र अन्तर्निहित वैचारिक, राजनीतिक, सांगठनिक, आर्थिक, सामाजिक, साँस्कृतिक र व्यावहरिक संस्थागत वा व्यक्तिगत जस्ता कतिपय कमीकमजोरीजन्य कारण नै हुन्छन् । भन्न खोजिएको यो हो कि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको गठन वा विघटन, गतिशीलता वा गतिहीनता, विस्तार वा संकुचन अथवा विजय वा पराजय हुनुमा मुख्य जिम्मेवार पार्टीभित्रका क्रान्तिकारी पक्ष नै हुन्छन् भने अवसरवादी त तुलनात्मक रुपले सहायक हुन्छन् वा कम जिम्मेवार मानिन्छन् । यसरी नै पार्टीबाहिरका देसी-विदेसी संसदवादी वा प्रतिक्रियावादीहरु आदि कुनै पनि शक्ति, व्यक्ति वा प्रवृत्ति र तिनका आक्रामक कामकार्वाही र भूमिकाहरु एउटा कम्युनिस्ट क्रान्तिकारी पार्टीलाई बिगार्नमा निर्णायक कारण हुन सक्तैनन्, यद्यपि तिनको भूमिका महत्वपूर्ण हुन सक्छ तर प्रधान र निर्णायक हुन सक्तैन ।
कुनै कम्युनिस्ट क्रान्तिकारी पार्टीभित्र दुई पक्ष हुन्छन् । सही पक्ष र गलत पक्ष वा क्रान्तिकारी पक्ष र अवसरवादी पक्ष । यो हुनु भनेको एक दुईमा विभाजन हुन्छ भन्ने दृष्टिकोण हो अर्थात् क्रान्तिकारीका वा जो कसैका पनि सकारात्मक र नकारात्मक अर्थात् गुण र दोष हुन्छन् भनी मान्ने द्वन्द्ववादी दृष्टिकोण हो । एउटा कम्युनिस्ट क्रान्तिकारी पार्टीभित्र मुख्यतः दुई धार वा प्रवृत्ति हुन्छन् । हुन त बीचमा अर्को मध्यपन्थी धार वा प्रवृत्ति पनि हुन्छ तर क्रान्तिकारी र अवसरवादी धार, शक्ति, व्यक्ती वा प्रवृत्तिको बिचको लडाइमा त्यो मध्यपन्थी धार, शक्ति, व्यक्ति वा प्रवृत्ति सुरुमा ढुलमुल गर्छ तर निर्णायक लडाइको बेलामा त्यो मध्यपन्थी प्रवृत्तिको मूल नेतृत्व र शक्ति अन्ततः दक्षिणपन्थी अवसरवादी सुधारवादी संशोधनवादी र प्रतिक्रान्तिकारी धारलाई नै सघाउन पुग्छ । त्यसैले त्यसको त्यति गणना वा मान्यता हुन्न । यसरी नै पार्टीभित्र अन्य कतिपय चिन्तन-प्रवृत्तिहरु देखिइए पनि सारमा ती सबै यिनै क्रान्तिकारी र गैरक्रान्तिकारी दुई लाइनअन्तर्गत नै पर्दछन् । त्यसैले त कम्युनिस्ट क्रान्तिकारी भनिएका पार्टीहरु भित्रको संघर्षलाई गणना गर्दा मध्यमार्गी धारालाई आधा मात्र मानेर कतिपय मार्क्सवादी द्वन्द्ववादीहरुले दुई लाइनको संघर्षलाई अढाइ लाइनको संघर्ष पनि बताउने गरेको पाइन्छ । जे होस्, क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको प्रगति वा दुर्गती, विजय वा पराजय अथवा क्रान्ति वा प्रतिक्रान्ति हुनुमा मुख्यतः क्रान्तिकारी पार्टी भित्रका पनि दुई पक्ष क्रान्तिकारी र अवसरवादीमध्ये क्रान्तिकारीहरुकै आन्तरिक विचार, राजनीति, सोंच, संगठन, संघर्ष, शैली, संस्कृति र काम-व्यवहार नै क्रान्ति वा प्रतिक्रान्तिका लागि निर्णायक कारण हुन्छन् । पार्टीभित्रका पनि अवसरवादी र क्रान्तिकारीमध्ये क्रान्तिकारीकै र बाह्य र आन्तरिक कारणहरुमध्ये आन्तरिक कारणकै प्रमुख भूमिका हुन्छ भने अन्य अवसरवादीहरु वा बाह्य पक्षको भूमिका त गौण नै हुन्छन्, यद्यपि ती कारणहरु महत्वपूर्ण हुन् तापनि ती सहायक नै हुन्छन् । यो कुरा विभिन्न कम्युनिस्ट पार्टी र आन्दोलनहरुमा बारम्बार प्रमाणित भएको सत्य हो ।
क्रान्तिकारीपक्ष र अझ त्यसमा पनि त्यसको मूल नेतृत्व सिद्धान्तनिष्ठ, व्यवहारकौशल, एकताप्रेमी, सबल र सक्षम हुने अनि देस, जनता र क्रान्तिप्रति साँच्चिकै इमानदार, जिम्मेवार, गम्भीर, सकृय र साहसी हुने हो भने क्रान्तिकारी आन्दोलन सफलता र विजयमा पुग्न सक्छ । त्यसरी नै नेतृत्व आग्रही, पूर्वाग्रही नहुने हो भने निहित व्यक्तिगत, पारिवारिक, गुटगत, जातिगत, क्षेत्रगत वा लिङ्गगत आदिजस्ता गैरसर्वहारा चिन्तन, प्रवृत्ति र स्वार्थमा नलाग्ने हो भनेस आफैमा सिमित, संकुचित वा यान्तृक अथवा उदार, अराजक वा निरंकुश नहुने हो भने तमाम जटिलता र चुनौतीहरुलाई सामना गरेर क्रान्तिकारी पार्टी र आन्दोलन अघि बढ्न सक्छ तर त्यसो गर्न नसकेमा किमार्थ अघि बढ्न सक्तैन र मूलतः यथास्थितिमै रहिरहन्छ वा क्रमशः मतभेद र अन्तरद्वन्द्व हुने मात्र होइन गुट निर्माण र टुटफुट हुँदै विघटन र विसर्जनको दिशामा गएर पतन पनि हुन जान्छ ।
माओवादी पार्टी, क्रान्तिकारीपक्षको नेतृत्व र समग्र पार्टी र आन्दोलनको समीक्षा पनि उपरोक्त द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका कसीमा घोटेर गर्नु नै वस्तुवादी र बैज्ञानिक हुन्छ । यस्तो जानकारी हुँदाहुँदै पनि जुन नेताको नेतृत्वमा क्रान्तिको लागि भीषण जनयुद्धको थालनी गर्ने साहसिक निर्णय गर्दै जनयुद्धको सुरुवात, विस्तार र विकास हुन्छ, उही नेताकै नेतृत्वमा प्रतिक्रान्तिको बीजारोपण, संरक्षण र सम्बर्द्धन भई सम्पूर्णरुपले संसदवादमा पतन हुन्छ भन्ने सोंच्न सकिएन । यस्तो होला कि भनी अनुमान र आशंका नगर्नु अनि सावधानी र सचेतता पनि अवलम्बन नगरिनु अथवा त्यसका विरुद्ध गरिएको संघर्ष कमजोर र प्रभावहीन हुनुसमेत क्रान्तिकारीकै कमजोरी हो । नेपालमा माओवादी पार्टी, जनयुद्ध र आन्दोलनका सन्दर्भमा पनि यही दुखद विडम्बना भएको छ । यसलाई गहिरोसँग, गंभीरता र निर्ममतापूर्वक आत्मबोध र आत्मसमीक्षा नगरी क्रान्तिकारी रुपान्तरण हुन सक्तैन र यस्तो रुपान्तरण अर्थात् पूर्णरुपले शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण नगरी नेपालमा माओवादी आन्दोलन पुनर्जागृत भै उठ्न सक्तैन । यति मात्र होइन, यसको मर्म र महत्व बोध नगरी नेपालमा कुनै पनि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अघि बढ्न-बढाउन समेत असम्भवप्रायस् छ ।
दुःखद् विडम्बना त अझ के भयो भने जनयुद्धद्वारा क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने निर्णय, पहल र साहस गरेको नेतृत्वले त्यसलाई विचलन, विघटन र विसर्जनमा पुराउँने लक्षण र संकेत बुझ्न नसक्ने र जो बुझेको पनि त्यस्तो नेतृत्वको यथोचित र प्रभावकारी विरोध गर्नुको साटो उल्टै उस्लाई पूर्ण विश्वासका साथ अन्धसमर्थन र सहयोग गर्नमा कहिले दक्षिणपन्थी अवसरवादीहरुसँग प्रतिस्पर्धा गर्ने त कहिले तिनै दक्षिणीपन्थी अवसरवादीहरुसँग साँठगाँठ गरेर प्रतिशोध साँध्नेगरी अन्धविरोध र अन्धअसहयोग गर्नुजस्ता कमजोरीसमेत भए ।
स्मरणीय छ, पूर्ण समर्थनका नाममा अन्धसमर्थन गर्ने दौरानमा नेतृत्वको पक्षपोषण र केन्द्रीकरणमा प्रतिस्पर्धा नै गरी प्राधिकार बनाउन र देवत्वकरण गर्नसमेत क्रान्तिकारी पक्षको नेतृत्वबाटै अहं भूमिका निभाउनु त झन् क्रान्तिकारीहरुको तर्फबाट ब्लन्डर नै भएको हो । कसैले यहाँनेर यो कमजोरी भयो भनेर तर्क र तथ्य पेस गरेमा त्यसलाई विभिन्न तर्कवितर्क र कुतर्क गरेर क्रान्तिकारीपक्षकै नेतृत्वबाट त्यस्ता गल्ती-कमजोरी ढाकछोप गर्ने प्रयास समेत हुनु झन् दुखद हो । यस्तो प्रवृत्ति नेपाली जनयुद्धकालीन माओवादी कम्युनिस्ट क्रान्तिकारी पार्टी र आन्दोलनमा मात्र होइन अन्य नेपाली कम्युनिस्ट क्रान्तिकारी भनिने पार्टी र आन्दोलनमा पनि प्रसस्तै हुने गरेको छ ।
जे होस्, क्रान्तिकारी पार्टी र नेतृत्वका नीति, विधि र प्रवृत्तिमा भैरहेका यसप्रकारका गलत कामकार्वाहीहरुका प्रकृयामा जब विचारगत र आचारगत, राजनीतिक र सांस्कृतिक, संगठनात्मक र कार्यक्रमिक आदि विविध पक्षहरुमा चौतर्फी विचलन, विघटन र विसर्जनका संकेतहरु बारम्बार देखिन थाले तब ती विषयमा सूचना र सन्देशका अतिरिक्त सुझाव र दवाव स्वरुप आन्तरिक र बाह्य रुपमा अनि गुप्त र खुला रुपमा समेत चेतावनी र चुनौती दिइएपनि तिनको अर्थ र औचित्य हुने स्तरमा दिन नसकिएकैले त्यसप्रकारका क्रान्तिविरोधी चिन्तन-प्रवृत्तिहरु नेतृत्वपंक्तिदेखि क्रमशः तलतिर देखिंदै, दोहोरिंदै र बढ्दै-बढ्दै जान थाले । अन्ततः चौतर्फीरुपमा विचलित बन्दै गएको मुख्य नेतृत्वमाथि निर्णायक दवाव र प्रभाव पर्ने र पार्ने हदसम्म क्रान्तिकारी भनिने पक्षबाट हस्तक्षेप र विजय प्राप्त गर्न नसक्नु पनि क्रान्तिकारी पक्ष र प्रवृत्तिकै कमजोरी भयो । यो कमजोरी सामान्यतया सबजसो क्रान्तिकारी पार्टी, धार र प्रवृत्तिमा पनि हुँदै आएको छ । जनयुद्धजस्तो भीषण र भयावह उथलपुथल कारी माओवादी पार्टी र आन्दोलनका क्रममा समेत झन् गम्भीर र विशेष रुपले हुनाले नै अहिले क्रान्तिकारी भनिएका माओवादी लगायतका सबैजसो कम्युनिस्ट पार्टीहरु विघटन र विसर्जन उन्मुख छन।
कहाँसम्म विडम्बना भयो भने जनयुद्धका सुपृमोसमेतका मुख्य नेतृत्वका वरिपरिदेखि क्रमशः तलसम्मबाट समेत त्यसप्रकारका नीतिगत र कृतिगत कमजोरीहरुको पनि अधिमूल्यन र आदर्शीकरण गर्दै अवलम्बन र कार्यान्वयन गर्न थालियो । नेतृत्वका देस, जनता र क्रान्तिविरोधी हर्कतहरुको संसदवादी जोडकोणबाट विभिन्न तर्क, वितर्क र कुतर्कहरुद्वारा पूर्णरुपले पक्षपोषण र महिमामण्डन गरेर तिनै गलत, विकृत र विसङ्गत विचार-व्यवहार, सोंच-शैली र संस्कार-संस्कृतिको उदात्तीकरणसहित व्यापक विस्तार गरी कार्यान्वयन नै गर्न-गराउन अभिप्रेरित गरियो ।
जनयुद्धमा ज्यानको बाजि लगाएर त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम गरी आएको माओवादी पार्टी र आन्दोलनमा यस्तो अति हुँदै गएपछि मात्र क्रान्तिकारी पंक्तिद्वारा सामूहिक र संगठित विरोध गर्न त थालियो तर नेतृत्वलाई सुनाउने र मनाउने हदसम्म त्यो संघर्ष चर्काउन पनि नसकिएकै सत्य हो । यसो गर्न नसक्नुमा पनि एकातिर क्रान्तिकारीपक्षका नेतृत्वदायी पंक्तिका कतिपय नेताहरुका महत्वाकांक्षा, अभिमान, यान्तृकता, संकीर्णता, आग्रह, पूर्वाग्रह र प्रतिशोधपूर्ण चिन्तन र चरित्रजन्य गल्तीकमजोरीहरुले काम गरेका थिए । उल्लेख्य छ कि कदाचित विचलित नेतृत्वले क्रान्तिकारीहरुका केही सुझाव-दवाव र असहमती-विरोधहरुलाई सुन्न, मान्न र संबोधन गर्न तयार भएको भएपनि त्यो लागू हुन गाह्रो हुने अवस्था नै विकसित भैसकेको थियो किनकी माथिदेखी तलसम्म राज्यसत्ता र पार्टीशक्तिमा रहेको एउटा ठूलो पंक्तिमा संसदवाद अर्थात् सुखसुविधा, मोजमजा र भोगविलासमा रम्ने चरम उपभोक्तावादी विकृत संस्कृति हावी भैसकेको थियो । त्यो संसदवादी भास र दलाल व्यवस्थाको आस रुपी दलदलबाट उम्कन निकैनै गाह्रो पर्दथ्यो । क्रमश
नोट - लेखक नेकपा (माओवादी) का संस्थापक एवं जनयुद्ध थालनीकर्तामध्येका एक केन्द्रीय नेता हुनुहुन्छ । विगतमा भिन्नै शीर्षक र सन्दर्भमा लेखिएको यो लेख हाल उहाँद्वारा नै
परिमार्जित र अद्यावधिक गरी सान्दर्भिक समेत तुल्याएर पठाइएकोले हामीले प्रकाशन गरेका छौ। - संपादक ।
प्रतिक्रिया