काठमाण्डौ।क्रान्तिकारी कम्यनिष्ट पार्टीका महासचिव गौरवले आज एक प्रेस–वक्तव्य जारी गर्दै-आजभन्दा ठीक तीस वर्ष पहिला थालनी गरिएको जनयुद्ध आज २०८२ फागुन १ गते एकतीसौं वर्षमा प्रवेश गरेको छ । यस उपलक्षमा हामी देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छौं । यो ऐतिहासिक दिनमा हाम्रो पार्टी नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछ र नेपाली जनताले प्रस्तुत गरेका अपूर्व त्याग, वीरता र बलिदानको संस्मरण गर्दछ । साथै, सहिद तथा बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक एवम् शुभेच्छुकहरु, आदरणीय जनसमुदाय र भाइचारा पार्टी तथा अन्तर्राष्ट्रिय सर्वहारा वर्गमा हार्दिक शुभकामना सहित लाल सलाम गर्दछौ वक्तव्यमा उल्लेख गरेका छन।
वक्तव्यमा अगाडी भनिएको- आन्तरिक रुपमा सामन्तवाद एवम् दलाल तथा नोकरशाही पुँजीवाद र वाह्य रुपमा साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशामा अघि बढ्ने अठोटका साथ उद्घोष गरिएको महान् जनयुद्धले नेपालमात्र होइन विश्वभर क्रान्ति र परिवर्तनको नयाँ सन्देश प्रवाहित गरेको थियो । विश्व साम्राज्यवादका नाइकेहरु र तिनका कठपुतली नेपाली प्रतिक्रियावादी वर्ग यस महान् जनयुद्धबाट आतङ्कित भएका थिए । तर विडम्बना, पार्टीको मूल नेतृत्वबाट क्रान्तिप्रति भएको गम्भीर विश्वासघात र गद्दारीका कारण नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । हिजो विश्व साम्राज्यवादलाई चुनौती दिन सक्षम जनयुद्ध आज इतिहासको विषय बनेको छ, त्यसका प्रमुख नेता प्रचण्ड साम्राज्यवादको मतियार बनेका छन् । यो आजको तीतो यथार्थ हो ।
ऐतिहासिक जनयुद्धको जग र जनआन्दोलनको बलमा नेपाली जनताले प्राप्त गरेका सीमित लोकतान्त्रिक अधिकारहरु खोसिँदै गएका छन् । देशमा व्यापार घाटाले आकाश छोएको छ र आर्थिक सङ्कट गम्भीर छ । देशको अर्थतन्त्र विप्रेषणबाट धानिएको छ । आम बेरोजगारी र अनियन्त्रित महङ्गीका कारण श्रमजीवी मजदुर, किसान, न्यूनवैतनिक कर्मचारी हातमुख जोड्ने समस्याले पीडित छन् भने सत्ताको आडमा देशको दोहन गर्ने एउटा सानो गिरोह अकुत सम्पत्तिको मालिक बनेको छ । भ्रष्टाचार, कालो बजारी, मिटरब्याजी शोषण, सहकारी ठगी व्याप्त छ । उत्पादक किसानहरुका लागि लगानी उठाउन गाह्रो भइरहेको छ भने बिचौलियाहरु मालामाल भएका छन् । यी यावत् समस्याका जगमा तत्कालीन ओली नेतृत्वको गठबन्धन सरकारले गरेको डिजिटल मिडियामाथिको प्रतिबन्धका कारण विष्फोट भएको जेनजी विद्रोहलाई अमेरिकी साम्राज्यवादका दलालहरुद्वारा अपहरण र सुशीला कार्की नेतृत्वको कठपुतली सरकारको गठन गरिए पछि आगामी फागुन २१को कथित संसदीय निर्वाचनको घोषणा भएको छ ।
यो संसदीय निर्वाचन संसदवादी पार्टीका परीक्षित पुराना दलालहरु र जेनजी विद्रोहको प्रक्रियाबाट पैदा गरिएका नयाँ दलालहरुलाई वैधानिक ढङ्गबाट सत्तारोहण गराउने अमेरिकी साम्राज्यवादको पछिल्लो कडी हो । यो निर्वाचन आफ्ना भरपर्दा दलालहरु मार्फत् नेपालको सम्पूर्ण राज्यसत्ता नियन्त्रणमा लिने, नेपाललाई एसपीपी लगायतका सैन्य गठबन्धनमा समावेश गराउने र नेपाली भूमिमा सैन्य अखडा निर्माणगरी चीनलाई घेराबन्दी गर्ने अमेरिकी साम्राज्यवादको दीर्घकालीन रणनीतिमा आधारित छ । यो कठपुतली सरकार पञ्चशीलको सिद्धान्त र देशले आजसम्म मान्दै आएको असंलग्न परराष्ट्र नीतिका विरुद्ध अमेरिकी रणनीतिलाई कार्यान्वयन गराउन तयार पारिएको छ ।
राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण गरी अग्रगमनको मार्ग प्रसस्त गर्नु आजको एकमात्र विकल्प हो । यो स्थितिमा आगामी कथित संसदीय निर्वाचन सशक्त रुपमा बहिष्कार गर्न र स्वाधीन संयुक्त सरकार गठनका लागि आधार निर्माण गर्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त शक्तिहरुमा हार्दिक आह्वान गर्दछ भनि वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया