नयाँ पुस्तालाई वैज्ञानिक समाजवादबारे शिक्षा दिनु जरुरी- रोहित

bimbonline बिम्ब अनलाइन
२०८२ माघ २२ १७:३१ बजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी मजदुर सङ्घको आयोजनामा मजदुर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले नेपाल मजदुर किसान पार्टी स्थापनाको पृष्ठभूमि छ: यो पृष्ठभूमि घरको जगजस्तै हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी सङ्गठन विस्तार भए निर्वाचनमा मत प्राप्त हुनेछ । सरकारमा गएका पार्टीहरूले २०१५ सालको चुनावदेखि नै पैसा र सामान बाँडेर, भोज खुवाएर निर्वाचन जितेको पुष्टि भइरहेको छ ।”

“दस बीस वर्ष अघिदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले राजनीतिमा नयाँ पुस्ताको चर्चा चलाएका थिए । वास्तवमा उमेरसँगै नयाँ विचार वैज्ञानिक समाजवादबारे शिक्षा जरुरी हुन्छ । पुँजीवादी विचार भएका नयाँ पुस्ताबाट समाजमा तात्विक परिवर्तन आउने छैन ।” उहाँले भन्नुभयो ।

उहाँले नेपालमा उपद्रव गराउन साम्राज्यवादीहरूले पैसा पठाएको सार्वजनिक भइरहेको छ भन्नुभयो ।

अध्यक्ष रोहितले भन्नुभयो, “नेमकिपाका कार्यकर्ताहरूले बेलायत, फ्रान्स, अमेरिकाको पुँजीवादी आन्दोलन र रुस, चीन, क्युवा, भियतनाम, प्रजग कोरियाको समाजवादी क्रान्तिहरूबारे अध्ययन गर्नु जरुरी छ ।”

भेलामा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेपाली जनताले राणा शासन र पञ्चायती शासनको विरोधमा सङ्घर्ष गरे तर बहुदल र गणतन्त्रको ३५ वर्षयता सरकारमा गएका दलहरूले देश र जनताको निःस्वार्थ सेवा गरेनन् । शासक दलहरूले खर्बौँ खर्ब ऋण ल्याएर अलिकति सडक र पुल बनाउने कामलाई नै विकास गरेको दाबी गरे तर देश ऋणमा डुबेको उच्चारण गर्दैनन् ।

उहाँले भन्नुभयो, “नेमकिपाले चुनाव र अरु बेला पनि जनतालाई देश र संसारलाई बुझाउने काम गर्दै छ । राजनीतिक रूपले जनता सचेत र सङ्गठित नभएसम्म आदर्श समाज निर्माण हुनेछैन ।”भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका उपेन्द्र सुवाल, विष्णुराम दुमरु र विक्रम ढुकुछुले पनि बोल्नुभएको थियो ।



२०८२ माघ २२ १७:३१ बजे

प्रतिक्रिया