भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप तथा राष्ट्रपति निकोलस मादुरोको अपहरणको ६किसान सँगठनले गरे भत्सना ,रिहाइको माग

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २२ १०:५२ बजे

काठमाण्डौ। भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादले गरेको सैन्य हस्तक्षेप तथा राष्ट्रपति निकोलस मादुरोको  अपहरणका विरुद्ध नेपालका कम्युनिष्ट पार्टीहरू निकट ६ किसान संगठनहरूद्वारा निन्दा र भत्सना गरेका छन।

 हिजो जारी गरेको  वक्तव्यमा भनिएको छ-  हामी नेपालका छ कम्युनिस्ट पार्टीहरूसँग आबद्ध किसान संगठनहरू भेनेजुएलाको सार्वभौमसत्ता विरुद्ध अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भएको नाङ्गो आक्रमण तथा संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर निन्दा तथा भर्त्सना गर्दछौँ। यो जघन्य आक्रमण एउटा स्वतन्त्र राष्ट्र र सार्वभौम जनताको विरूद्ध गरिएको अन्तर्राष्ट्रिय कानुनहरू, संयुक्त राष्ट्रसंघको बडापत्र तथा राष्ट्रिय सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन हो । यो अमेरिकी साम्राज्यवादले स्वतन्त्र राष्ट्रहरूलाई साम्राज्यवादी प्रभुत्वमा झुकाउन, प्राकृतिक स्रोतहरूको लुट गर्न र समाजवादी क्रान्तिलाई ध्वस्त गर्न चलाइरहेको दीर्घकालीन षड्यन्त्रको निरन्तरता हो ।

किसान, मजदुर, आदिवासी तथा उत्पीडित जनसमुदायका आकांक्षामा आधारित बोलिभारियाली क्रान्ति विश्वका शोषित, पीडित तथा श्रमजीवी जनताका लागि आशा र प्रतिरोधको दियो बनेको छ। अनेकौँ षड्यन्त्र र हथ्कण्डाको बाबजुद पनि आवधिक निर्वाचन र लोकतान्त्रिक माध्यमबाट पराजित गर्न असफल भएपछि पश्चिमा साम्राज्यवादीहरूले भेनेजुएलाको विरुद्ध आर्थिक नाकाबन्दी, राजनीतिक हिंसा र भाडाका सैनिकहरूको प्रयोग गर्दै आएका थिए । ती सबै षड्यन्त्रलाई साहसी तथा क्रान्तिकारी भेनेजुएली जनताले धुलिसात पारेपछि यतिबेला गैरकानुनी हस्तक्षेप र अपहरणजस्ता उपनिवेशवादी प्रभुत्व र फासिवादी आतंकका ज्यादतिहरू अपनाएको छ भनि उल्लेख गरेका छन।

वक्तव्यमा राष्ट्रपति निकोलस मादुरो मोरोसलाई तुरुन्त र बिना शर्त रिहाइ गरियोस,भेनेजुएलाको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै भेनेजुएलाविरुद्धका सम्पूर्ण सैन्य, राजनीतिक र आर्थिक आक्रमणको अन्त्य गरियोस,भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध र नाकाबन्दी खारेज गरियोस्। यस अपराधका योजनाकार र अपराधीहरूलाई अन्तर्राष्ट्रिय मञ्च तथा विश्व जनमतको अदालतमा जवाफदेही बनाइयोस भन्ने माग गरीएको छ।

वक्तव्यमा चित्रबहादुर श्रेष्ठ , अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र),बलदेव चौधरी, संयोजक, अखिल नेपाल किसान महासंघ

भैरवराज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (अप्फा),सीताराम तामाङ, अध्यक्ष, क्रान्तिकारी किसान महासंघ नेपाल रामदुलार महतो, अध्यक्ष, अखिल नेपाल किसान यूनियन दुर्गाप्रसाद जैसी, अध्यक्ष, अखिल नेपाल प्रगतिशील किसान संघलेका प्रतिनिधिहरुले हस्ताक्षर  गरेका छन।



२०८२ पुष २२ १०:५२ बजे

प्रतिक्रिया