वास्तविकता यही हो कि आजको नेपालमा बुद्धिजीवी भनिने वर्गले प्रायः आफ्नो ऐतिहासिक भूमिका गुमाइसकेको छ। मार्क्सवादका अनुसार बुद्धिजीवी वर्ग स्वतन्त्र, निरपेक्ष र वर्गभन्दा माथिको हुँदैन ऊ सधैँ कुनै न कुनै वर्गको सेवा गर्छ। आज नेपालमा देखिएको तथाकथित “बुद्धिजीवी” वर्ग शोषित जनताको पक्षमा उभिनुको साटो सत्ताधारी शोषक वर्गको वैचारिक परजीवी बनेको छ। त्यसैले उनीहरू विचार निर्माण गर्ने होइन, शासक वर्गका अपराधलाई वैध ठहर गर्ने काममा व्यस्त छन्।
आजको गम्भीर परिस्थितिले देशमा वास्तविक पत्रकारहरु नभएको चित्र देखाइरहेको छ।मार्क्सले भनेझैँ “शासक वर्गका विचार नै प्रत्येक युगका शासक विचार हुन्छन्।” आजका अधिकांश पत्रकारहरू जनताको आवाज बन्नुको साटो पूँजी, दलाल र साम्राज्यवादी स्वार्थका प्रचारक बनेका छन्। उनीहरूको कलम सत्य उजागर गर्न होइन, भ्रम सिर्जना गर्न चल्छ। यस अर्थमा उनीहरू पत्रकार होइनन्, सत्ताका खेताला हुन्।
पार्टीका नेताहरु दलाल र बिचौलिया भएका छ्न। नेतृत्व भनेको ऐतिहासिक आवश्यकताबाट जन्मिएको वर्गचेतनाको संगठित अभिव्यक्ति हो। तर आज नेपालमा “नेता” भनिनेहरू उत्पादन सम्बन्ध परिवर्तन गर्न होइन, त्यसलाई जोगाइराख्न जन्मिएका दलाल, बिचौलिया र कमिसनखोर मात्र छन्। उनीहरूको राजनीति जनताको मुक्ति होइन, विदेशी शक्ति र आन्तरिक प्रतिक्रियावादी वर्गसँगको साँठगाँठ हो।यी यो देशका न नेता हुन्, न जनता।मार्क्सवादी दृष्टिकोणले जनता भन्नाले उत्पादनमा संलग्न श्रमजीवी वर्ग लाई बुझाउँछ। देशका वास्तविक जनता भनेका किसान र मजदुर, वैदेशिक रोजगारमा पसिना बगाइरहेका श्रमजीवी नेपालीहरू,जनजाति, दलित, महिला, उत्पीडित वर्ग र समुदाय यिनै वर्गहरू हुन् जसले देशको अर्थतन्त्र धानेका छन्, जसलाई देशको सार्वभौम स्वतन्त्रता आवश्यक र प्रिय छ। दलाल वर्गलाई देश चाहिँदैन, किनकि उनीहरूको नाफा सीमापारि सुरक्षित हुन्छ।
देशको यसप्रकारको कठिन परिस्थितिमा जागरण र विद्रोह इतिहासको अनिवार्य नियम वन्न पुग्छ।मार्क्सवादले स्पष्ट भन्छ-“शोषणको चरम बिन्दुमा पुगेपछि मात्र विद्रोह सम्भव हुन्छ।”आज श्रमजीवी वर्गको जीवन असह्य बनेको छ। यही वस्तुगत परिस्थितिले जागरण र विद्रोहलाई अपरिहार्य बनाएको छ। देश र जनताको वास्तविक सुरक्षा परजीवी दलालहरुको बन्दुक, कागज वा संसदबाट होइन, सचेत र संगठित उत्पीडित जनताबाट मात्र सम्भव हुन्छ। यतिवेला देश र उत्पीडित जनताको मुक्तिको एक मात्र सहि बाटो संयुक्त जनआन्दोलन र आवश्यक बलप्रयोगको तरिकावाट जन्मिने सशक्त संयुक्त जनबिद्रोह नै हो।
जुन नयाँजनवादी क्रान्तिका कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद नै श्रमजीवीको ऐतिहासिक विकल्प हो। नयाँ जनवाद कुनै कल्पनावादी कार्यक्रम होइन,यो कमरेड लेनिनले भने झै ठोस परिस्थितिको ठोस विश्लेषण हो,जुन अर्ध–सामन्ती,नवऔपनिवेशिक समाजको वैज्ञानिक समाधान हो। समाजवाद त अझै श्रमजीवी वर्गको दीर्घकालीन ऐतिहासिक लक्ष्य हो। तर आज प्रतिक्रियावादी, साम्राज्यवादी र देशद्रोही शक्तिहरूको गठबन्धनले नयाँ जनवाद र समाजवादलाई बदनाम गर्ने संगठित अभियान चलाइरहेको छ। यो वर्गसंघर्षको स्वाभाविक रूप हो। यो वर्गसंघर्षको भीषण परिस्थिति पनि हो।यसवेला आज हाम्रो कर्तव्य र दायित्व सामान्य छैन यो कयौँ गुणा बढेको छ। यो कुनै भावनात्मक बिषय मात्र होइन, इतिहासले सुम्पिएको जिम्मेवारी हो।वैचारिक भ्रम तोड्ने,जनतालाई संगठित गर्ने,वर्गचेतना निर्माण गर्ने,क्रान्तिकारी विकल्प प्रस्तुत गर्ने,यी सबै कार्य पूरा नगरी इतिहास अघि बढ्दैन।
निष्कर्ष-आज नेपालमा देखिएको संकट व्यक्तिको होइन, व्यवस्थाको संकट हो। व्यवस्था परिवर्तन गर्ने शक्ति श्रमजीवी जनतासँग मात्र छ। नयाँ जनवाद र समाजवाद कुनै विकल्पमध्ये एक होइन, इतिहासको अनिवार्य दिशा हो,नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवाद।(लेखक नेकपाका नेता हुनुहुन्छ)
प्रतिक्रिया