पार्टी कार्यकर्ताहरू आलोचना र आत्मालोचनाबाट खारिनुपर्छ

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १७ ०९:०६ बजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्टहरू मरेपछि स्वर्ग जाने इच्छा पाल्दैनन् बरु देश र समाजलाई नै ‘स्वर्ग’ बनाउने अभियानमा लाग्छन् भन्नुभयो ।

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबिच शनिबार सम्पन्न पारिवारिक भेटघाट तथा मार्गनिर्देशन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थभन्दा टाढा बसेर जनताको हितमा इमानदारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिहरू पार्टी कार्यकर्ता भएकाले पार्टीको सिद्धान्त र विचार बुझ्न पार्टी प्रकाशनहरूको नियमित अध्ययन गरी जनतालाई सचेत पार्न निर्देशन दिँदै आलोचना र आत्मालोचनाबाट खारिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक विषयमा पार्टीमा छलफल गर्ने र काम गरेपछि समीक्षा गर्ने बानी बसाल्नुपर्छ, आलोचना गर्नेभन्दा तारिफ गर्नेहरूबाट सचेत बन्नुपर्छ ।”

पार्टीका अग्रज नेता कार्यकर्ताहरूले गरेका सङ्घर्ष र योगदान खेर नगएको उल्लेख गर्दै उहाँले परिवारका सदस्य र नयाँ पुस्तालाई क्रान्तिकारी र देशभक्त बनाउन जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष बिजुक्छेँले जनभावनाबमोजिम कार्य गर्दा कसैलाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभयो । “सबैलाई खुसी पार्नुपर्छ भनी गलत काम भने कदापि गर्नुहुन्न”, उहाँले भन्नुभयो ।

भनपाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरू जनताको मालिक नभई सेवक भएको उल्लेख गर्दै जनताको आदर्श व्यक्ति बन्न त्याग, समर्पण र लगन आवश्यक भएको बताउनुभयो । उहाँले भक्तपुरको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा अग्रज पार्टी कार्यकर्ताहरूको दुःख कष्ट रहेको स्मरण गर्दै पार्टीको नीति र निर्देशनलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

साम्राज्यवादविरोधी कोरियाली युद्धका बेला क्रान्तिकारी नेतृ किम जङ सुकले गरेको सङ्घर्षबारे चर्चा गर्दै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूको हरेक सफलतामा परिवारका सदस्यहरूको साथ रहने बताउनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलका नेता कार्यकर्ताहरूले मन्त्री र सांसद बनेर व्यक्तिगत स्वार्थ पूरा गर्न नै आप्mनो अन्तिम उद्देश्य बनाउने उल्लेख गर्दै भ्रष्टाचार र अपराधले गाँजिएको समाजलाई स्वच्छ बनाउन जनप्रतिनिधिहरूले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडामा रहेका विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूमाझ जनप्रतिनिधिहरू पुग्न सुझाव दिँदै नयाँ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउन लाग्नुपर्ने बताउनुभयो ।

वाग्मती प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले राजनैतिक कार्यकर्ताको जीवन तरबारको धारमा हिँड्नुजस्तै चुनौतीपूर्ण हुने बताउनुभयो । उहाँले २०४५ सालको भक्तपुर काण्डको विरोधमा अग्रज किसान र महिलाहरूले गरेको सङ्घर्षको चर्चा गर्दै जनताको पक्षमा काम गर्नेहरूलाई राज्य पक्ष र विरोधी शक्तिले षड्यन्त्रमा फसाउन सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय राजनैतिक परिस्थितिबारे जानकारी दिँदै उहाँले संरा अमेरिकाले केही दिनअघि युक्रेन, इजरायल र ताइवानलाई ९४ अर्ब अमेरिकी डलरको सैन्य सहयोगको घोषणा गरेर रुसलाई युद्धमा फसाउने, प्यालेस्टिनलाई संसारको नक्साबाट समाप्त पार्ने र ताइवानमार्फत चीनलाई घेर्ने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले पार्टीको चुनावी घोषणापत्र र का. रोहितद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक जनप्रतिनिधिहरूको लागि मार्गचित्र भएको बताउनुभयो । वडाध्यक्ष उकेश कवां र कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले पार्टीले हरेक कार्यकर्ताको मूल्याङ्कन गर्ने उल्लेख गर्दै एउटा पुस्ताको लागि मात्र नभई पुस्ताँ पुस्ताको सेवा गर्न राजनीति गरिने बताउनुभयो ।


२०८१ वैशाख १७ ०९:०६ बजे

प्रतिक्रिया