काठमाडौं । आजभन्दा ५३ वर्ष पहिला नेपाल विद्यार्थी संगठनको स्थापना भएको थियो । राजा महेन्द्रले कू गरेर पञ्चायती शासन लागू गरेपछि राजनीतिक दलहरु भूमिगत बनेका थिए । २००७ सालको परिवर्तनमा निर्णायक भूमिका निभाएको नेपाली कांग्रेस पार्टी २०२७ साल आइपुग्दासम्म पूर्ण रुपमा भूमिगत बनिसकेको थियो ।त्यही वेला २०२७ साल वैशाख ६ गते निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्न कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना भयो । विपीन कोइरालाको नेतृत्वमा सुरु भएको नेविसंघको पहिलो महाधिवेशनबाट शेरबहादुर देउवा सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित भए ।
२०८० सालसम्म आइपुग्दा ७७ वर्षका देउवा पाँचपटक त नेपालको प्रधानमन्त्री बनिसके । तर, उनले ५३ वर्षअघि नेतृत्व गरेको नेविसंघ भने पार्टी नेतृत्वको छायाँमा साँघुरिँदै गएको छ । हिजो पञ्चायती व्यवस्था ढालेर बहुदल ल्याउन, राजतन्त्र ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण भूमिका निभाएको नेविसंघ पछिल्लो समय कस्तो अवस्थामा छ भनेर बुझ्न यस संगठनमा सक्रिय कार्यकर्ताहरुलाई नियालेमात्रै पुग्छ ।
केही समयअघि स्ववियु चुनावको वेलाको दृश्य हेरे पुग्छ, नेविसंघ भित्रभित्रै कति धुजाधुजा भएको छ । मुख्यगरी संस्थापन र शेखर-गगन गुटमा बाँडिएका नेता कार्यकर्ताहरु नेतृत्वको मनोमानीविरुद्ध खुलेर मिडियामा बोलेका थिए । नेविसंघको वर्तमान अवस्था बुझ्न पाटन संयुक्त क्याम्पसको स्ववियु निर्वाचन एउटा नजिर हुनसक्छ ।
पाटन क्याम्पसमा नेविसंघका सभापति दुजाङ शेर्पाले सुशील विष्टलाई नेविसंघको सभापति उम्मेदवार भन्दै चिठी दिए । तर, मनोनयनको वेला अर्को चिठी काट्दै युवराज थिङलाई सभापतिको आधिकारिक उम्मेदवार बनाए । शेर्पाको निर्णयबाट विष्ट र उनका समर्थकहरु रुष्ट बने । विष्टले बागी उम्मेदवारी दर्ता गराए र निर्वाचित पनि भए ।विष्ट भन्छन्, ‘सभापतिको अपरिपक्व राजनीतिको शिकार हुनुपर्यो म । तर, विद्यार्थी साथीहरुले क्याम्पसमा मैले गरेको त्याग र योगदानको कदर गर्नुभएको छ ।’विष्टका अनुसार यसपटकको स्ववियु निर्वाचनमा सभापति शेर्पाले जे जस्ता निर्णय लिए, भोलिका दिनमा ती निर्णयले शेर्पाको राजनीतिक करियरमा अप्ठ्यारो पर्नेछ ।
विष्टले शेर्पाको राजनीतिक करियर अप्ठ्यारोमा पर्ने संकेत गर्नुको कारण हो, भोलिको दिनमा पार्टी राजनीतिमा पनि यसको बाछिटा अवश्य देखिनेछ । नेविसंघको इतिहास हेर्दा पनि विष्टको तर्कलाई नजरअन्दाज गर्न सकिँदैन । अहिले मूल पार्टी हाँकिरहेका अधिकांश नेताले राजनीतिक करियरको सुरुवात नेविसंघबाटै गरेका थिए ।चाहे शेरबहादुर देउवा हुन् या गगन थापा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुन् वा विमलेन्द्र निधि । अहिले तनहुँ १ बाट निर्वाचन लडिरहेका गोविन्द्र भट्टराई हुन् या धनराज गुरुङ । सबै नेताहरुको राजनीतिक यात्राको पहिलो उडान नेविसंघबाटै भएको थियो ।
२०२८ सालमा २८ वर्षकै उमेरमा देउवा नेविसंघको सभापति बनेपछि लामो समय संगठनको महाधिवेशन हुन सकेन । पञ्चायतविरोधी गतिविधि गरेको आरोपमा देउवा जेलमा थिए । तर, २०३६ सालमा पनि नेविसंघले नयाँ नेतृत्व पायो, निधि । २०३९ सालमा एक वर्षका लागि ज्ञानेन्द्रबहादुर कार्की नेविसंघको सभापति बने । २०४० सालमा बलबहादुर केसी, २०४४ सालमा बालकृष्ण खाँण, २०४८ सालमा एनपी साउद, २०५२ मा धनराज गुरुङ, २०५३ मा गोविन्द भट्टराई, २०५७ मा विश्वप्रकाश शर्मा, २०५९ मा किशोरसिंह राठौर र २०५९ मै गुरुराज घिमिरे सभापति बने ।त्यस्तै २०६० मा केशव सिंह, २०६२ मा महेन्द्र शर्मा, २०६४ मा प्रदीप पौडेल, २०६४ मै कल्याण गुरुङ, २०६८ मा रञ्जित कर्ण, २०७३ मा नैनसिंह महर र २०७५ मा राजीव ढुंगाना सभापति बने । अहिले भने दुजाङ शेर्पा नेविसंघको सभापति छन् ।
नेविसंघमा सभापति बनेकाहरु मात्रै होइन, केन्द्रीय नेतृत्वमा पुगेका अन्य पदाधिकारीहरु पनि अहिले मूल पार्टीका शीर्ष नेतृत्व हुन् । अहिलेको पार्टीको महामन्त्री गगन थापा स्वयं नेविसंघको महामन्त्री बनेका थिए २०५७ सालमा ।
नेविसंघ हाँकेका तत्कालीन विद्यार्थी नेताहरु मूल पार्टीको शीर्ष नेतृत्वमा मात्रै पुगेनन् । कांग्रेस सरकारमा जाँदा सत्ता र कुर्सीमा पनि उनीहरुकै हालिमुहाली रह्यो । निधि सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र गृहमन्त्री बनिसकेका छन् । अर्का सभापति कार्की, केसी, खाँणलगायत पटकपटक मन्त्री भइसकेका छन् ।
कोइरालापछि २०४८ सालमा पहिलोपटक निर्वाचित सभापति साउद अहलिे परराष्ट्रमन्त्री छन् । २०५२ सालका सभापति धनराज गुरुङ अहिले पार्टी उपसभापति छन् । शर्मा र थापा अहिले पार्टीका महामन्त्री छन् ।
अहिले मूल पार्टीका नेताहरुको विगत केलाउँदा जस्तो चित्र बन्छ, भविष्यमा अहिले नेविसंघमा सक्रिय रहेका नेता कार्यकर्ताहरुको हातमा पार्टीको नेतृत्व पुग्नसक्ने पाटोलाई नकार्न सकिँदैन । त्यसैले त नेविसंघका नेता कार्यकर्ता नेतृत्व अकर्मण्य बन्दै गएको भन्दै खुलेआम विरोधमा उत्रिएका देखिन्छन् ।
प्रतिक्रिया