काठमाडौं । तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुँदै छ र सबै दलहरू अहिले आफ्नो सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गरेका छन् । उपनिर्वाचन सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको त्रिपक्षीय हुने छ।
तनहुँ र चितवनमा नेपाली कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुँदै छ भने बारामा जनता समाजवादी पार्टी, एमाले, रास्वपा र जनमत पार्टीबीच चुनावी लडाइँ हुने देखिन्छ । तनहुँ र चितवनमा कांग्रेस तथा बारामा जसपाका उम्मदेवारलाई सत्ता गठबन्धनको साथ छ। ३ वटा निर्वाचन क्षेत्रमध्ये चितवन–२ यतिबेला बढी चर्चामा छ।
मंसिरमा भएको निर्वाचनमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशसँगै पदविहीन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। चितवन– २ को उपचुनावका लागि १२ स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दिएका छन्।
चितवनको उपनिर्वाचन यस अर्थमा पनि चर्चाको विषय बनेको छ कि नेपालको चुनावी इतिहासमा पहिलो पटक जसका कारण उपनिर्वाचन हुँदै छ, त्यो उपनिर्वाचनमा त्यही व्यक्ति उम्मेदवारको रूपमा उभिएको छ। रास्वपाका रवि लामिछानेसँगै यहाँ कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीलगायत चुनावी मैदानमा रहेका छन् ।
लामिछानेका प्रतिष्पर्धीद्वय कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पहिलो पटक संघीय निर्वाचन क्षेत्रमा निर्वाचन लड्दै छन् । श्रेष्ठ कांग्रेसका पूर्व जिल्ला सभापति हुन् भने न्यौपाने एमालेका जिल्ला अध्यक्ष छन्। यस क्षेत्रमा २०७० र २०७४ सालमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। तर, गत निर्वाचनमा भने पोखरेल तेस्रो भए
अहिले पनि पहिलेकै परिणाम दोहो¥याउने दाउमा लामिछाने छन् भने चितवन– २ मा आफ्नो पार्टीको साख फर्काउने कोसिसमा एमाले र कांग्रेस छन्। तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका लामिछाने चितवन कांग्रेसका विद्रोही नेताका रूपमा चिनिएका जगन्नाथ पौडेलको समर्थन पाएसँगै थप हौसिएका छन्।
प्रतिक्रिया